मनोज घर्तीमगर
तस्वीर : छवि मगर
लाहुरे हुन पहिलेजस्तो सजिलो छैन । न्यून सङ्ख्या लिने भएकाले कडा प्रतिस्पर्धा हुन्छ । लाहुरे देखिने सिजन सुरु भइसकेको छ । सिजनलाई मध्यनजर गर्दै पोखरामा भर्ती देखिने युवाको लाम सुरु भएको छ । केही हप्ता अघि भारतीय सेनाका लागि नेपाली युवाको छनोट प्रक्रिया सकियो । बेलायती सेनाको भर्ना प्रक्रिया सुरु हुनेवाला छ ।
देशका विभिन्न जिल्लाबाट क्याम्प छिर्ने सपना साँचेर पोखरा आउने युवाहरु दिनदिनै बढेका छन् । पूर्व तयारी गर्न उनीहरु पोखरा आएका हुन् । अघिल्लो पटक भर्ती हुन असफल युवा यसपाली लाहुरे हुने ‘लक’ लागिहाल्छ कि भन्दै खरो तयारीमा उत्रिएका छन् । ‘दुई पटक प्रयास गरे पनि असफल भएँ’ लिम्घा गुल्मीका सिजन थापामगर विश्वस्त देखिए,‘यो पटक कसो लक नलाग्ला । अहिले त जसरी पनि भर्ती हुने हो ।’
रोजगारका लागि विदेशीने युवाको कमि छैन । नेपालमै रोजगारी खोज्दै भौतारिनेको जमात कति छ कति । सिरानी मुनि सर्टिफिकेट राखेर जागिरको लागि रोइकराई गर्ने शिक्षित युवाहरु दैनिक बढिरहेका छन् । यही बेरोजगारीलाई चिर्दै लाहुरे बन्न खोज्ने युवाहरुको भिड वर्षेनी बढ्दोछ । देशमा शैक्षिक योग्यता अनुसारको रोजगारी नपाएपछि खाडी मुलुक भासिनुभन्दा वैदेशिक सेनामा भर्ती हुनु कयौं गुणा राम्रो ठान्छन् स्याङ्जाका खुमबहादुर राना । ‘यहाँ भनेजस्तो काम पाइँदैन अरब जानुभन्दा लाहुरे भए राम्रो भनेर धेरै पटक प्रयास गरेँ’ उनी भन्छन्,‘उमेरले साथ दिएसम्म भिड्ने हो, नभए कोरियन भाषा पढ्दैछु उतै जाने हो ।’ पहिले एकै दिनमा हजार सोहर्ने, आज हजारौंबाट सय–सवासय छानिन्छन् । छनोटमा अब्बल सबैले पनि आफूलाई अब्बल ठहर्याउन सक्दैनन् । असफल हुनेहरु भाग्यलाई दोष दिन्छन् र फेरि अर्काेपटक प्रयास गर्छन् । लाहुरे सपनालाई पछ्याउँदै पोखरा छिरेका दाङका १९ वर्षिय निरज घर्तीमगरले पोहोर बेलायती सेना बन्न छाति तन्काए । पहिलो चरण पास गरे पनि नेटमा नाम आएन । ‘सबैमा पास भए पनि अघिल्लो भर्ती हुन सकिन’ बिएस्सी पहिलो वर्षका विद्यार्थी उनी भन्छन्,‘यो असफलतालाई मैले अनुभव ठानेको छु । यो पटक अवश्य लकले साथ दिन्छ ।’
भर्ती भिड्नेमा धेरैजसो आदिवासी/जनजाति समुदायका युवा छन् । उनीहरु पढाइ लथालिङ्ग पारेर लाहुरे बन्न पटकपटक छाति तन्काउँछन् । उनीहरु लाहुरे बन्ने धोको राख्नुका पछाडी अनेकन प्रथाजन्य कारण पनि छन् । त्यही भएर तीन पटक असफल भए पनि पोखरा रामबजारका प्रविण गुरुङ लाहुरे भिड्न छाडेका छैनन् । ‘हरेक वर्ष बाजेले लाहुरे भएस् भनेर दिने आर्शिवाद अहिलेसम्म लागेको छैन’ लाहुरे शैलीको कपाल काटेका प्रविणको विश्वास छ,‘अब उमेर धेरै छैन, यो वर्ष कसो लक नलाग्ला ।’
जनजातिलाई मात्रै प्राथमिकता दिइने विदेशी सेनामा केही वर्षदेखि सबै जातिलाई भर्ती लिन थालेपछि अन्य जातिको पनि लाहुरेतिर आकर्षण बढेको छ । छिमेकी लाहुरेहरुको शानदार जीवन देखेर हौसिएका लमजुङका सन्दिप क्षेत्रीले भारतीय र बेलायती सेनाका लागि तीन पटक भिडि सके । ‘गुरुङ, मगर साथीका बाआमाले विहानै उठेर दौडिन जा,सुतेर कहाँ लाहुरे बन्छस् भन्दै हौसला दिन्छन्’ पोखरा बसेर पूर्व तयारी गरिरहेका सन्दिप भर्ती लाग्न खोज्नुको रहस्य खुलाए, ‘घरमा खाली पढ् भन्छन्, मेरो इच्छा लाहुरे बन्नु हो त्यही भएर नापिँदैछु ।’
वर्षैपिच्छे हजारौँले लाहुरे बन्ने रहर गरे पनि सबैको इच्छा पूरा हुँदैन । यी युवा केही प्रतिनिधी मात्रै हुन्, वर्षेली लाहुरे बन्न मरिहत्ते गर्ने हजारौं युवाहरु छन् । जो पटकपटक असफल भए पनि उमेरले साथ दिएसम्म भर्ती देखिन छाड्दैनन् । आखिर किन ? ‘लाहुरेको शानदार जीवन र पेन्सन आएपछि पाईने सुख विलासीताले धेरैमा लाहुरे मोह पलाएको हो’ भूपू बेलायती सेना हुमबहादुर थापाको अनुभवले भन्छ,‘घरबाट हुने दबाब पनि मुल कारण हो । तर, पहिलेको जस्तो अहिले लाहुरे हुन सजिलो छैन । तैपनि पटकपटक भिड्ने युवा कम छैनन् ।’
बेलायती सेनामा नेपालीहरु सन् १८१५ देखि भर्ती भए । भारतीयमा चाँही सन् १९४७ देखी । यसअघि उनीहरु बेलायत शासित इष्ट इन्डिया कम्पनी सरकारमा भर्ती हुन्थे । यस्तै ९ अप्रिल १९४९ देखी सिंगापुरले पनि त्यहाँको पुलिसमा नेपालीलाई भर्ती लिन थाल्यो । ब्रिटिस आर्मी हुनासाथ उतैको नागरिका पाउने हुँदा धेरै त्यता आकर्षित भएका हुन् । सिंगापुर पुलिस र भारतीय सेनामा भर्ती लाग्ने युवाले पनि राम्रो सेवा सुविधाका साथै जीवन सुरक्षित हुँदा लाहुरे हुन तम्सिन्छन् ।