हेटौंडा, बैशाख १४
मकवानपुरको पूर्वी फापरबारी गाविसमा आदिवासी जनजाति अधिकारबारे एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति फापरबारी गाउ समन्वय परिषद्को आयोजना तथा गाउ विकास समिति फापरबारीको सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपालको संविधानका विशेषता, जनजाति अधिकार, जनजाति परिभाषा, वर्गीकरण, अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ १६९, जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान तथा जनजाति महासंघले गर्दै आएका कार्यहरुका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव अशोक सूजन श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा महासंघ अध्यक्ष थापाले राज्यका हरेक निकायमा आदिवासी जनजातिको पहुंच, पहिचान र प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । अध्यक्ष थापाले जनजाति पहिचानका आधारमा राज्यको पुनर्संरचना हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फापरबारी गाविस वडा नं. २ स्थित देवकी मावि र जनता उच्चमाविबाट विसं. २०७१ सालमा एसएलसी परिक्षामा उत्तिर्ण हुने उत्कृष्ट ६ जनालाई नगद सहित सम्मान गरिएको थियो । देवकी माविबाट एसएलसी दिएका शुशिला आलेमगर प्रथम, बसन्त थोकर द्वितीय, ईश्वरी वाइबालाई तृतीय पुरस्कार सहित सम्मान गरिएको हो । यस्तै जनता उच्चमाविबाट प्रथम सुन्तली स्याङ्तान, द्वितीय रुपा आलेमगर, तृतीय सुनिल राई दनुवार लगायतलाई पनि नगद सहित सम्मान गरिएको छ । प्रथम, द्वितीय र तृतीयलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय सहित सम्मान गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका ज्ञानबहादुर माझी, एमालेका दलबहादुर राई, राप्रपा नेपालका ईन्द्रबहादुर थोकर, नेकपा क्रान्तिकारी माओवादीका कृष्ण बहादुर माझी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा महासंघ उपाध्यक्ष तिलकबहादुर माझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
