काठमाडौं २२ फागुन
भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको असामयिक निधन भएकामा भारतीय जनता पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । उक्त पार्टीका प्रवक्ता तथा विधायक तरुण विजयले आज एक शोक सन्देश जारी गरी पार्टी नेताहरू अटलबिहारी बाजपेयी र लालकृष्ण आडवाणीका तर्फबाट पनि दिवङ्गत नेता भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गरेको जनाइएको छ ।
विधायक विजयले जारी गरेको शोक सन्देशमा नेपाली काँग्रेसका संस्थापक नेता भट्टराईलाई अहिंसावादी नेता भन्दै उहाँँको सवल नेतृत्वमा नेपालको प्रजातान्त्रिक आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको उल्लेख छ ।
जनताको शक्तिमा विश्वास गर्ने नेता भट्टराईबाट भारत र नेपालका सम्पूर्ण युवावर्ग अभिप्रेरित भएको उल्लेख गर्दै सन्देशमा उहाँले भारत र नेपालबीचको शताब्दीऔँ पुरानो सम्बन्धलाई नयाँ अध्याय दिएको जनाइएको छ ।