खोमा तरामु मगर
बैशाख ७, बुटवल
नेपाल मगर संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती मगरले मगर जातिको इतिहास, अस्तित्व र अधिकारका लागि मगरहरुको एकीकृत र केन्द्रीकृत आन्दोलनको आवश्यक रहेको बताएका छन । बुटवलमा आयोजित मगरघाट विकास तथा व्यवस्थापन परिषद् रुपन्देहीको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उपाध्यक्ष घर्ती मगरले आन्दोलन कमजोर हुनुमा नेतृत्वमा अल्छीहरुको भीडतन्त्र भएको कारण बताए ।
घर्ती मगरले भने, ‘आन्दोलन कमजोर हुनु नेतृत्व गाउँ–गाउँमा जानुको सत्ता शहरकेन्द्रीत, सुविधामुखी हुनु र केन्द्रमा अल्छीहरुको मात्रै भीडतन्त्र हुनुको परिणाम हो ।’ नेपाल मगर संघको एघारौं महाधिवेशनमा अध्यक्षको प्रत्यासी समेत रहेका उपाध्यक्ष घर्ती मगरले फरक प्रसंगमा बोल्दै मगर जातिको अस्तित्व समाप्त गर्ने उद्धेश्यले हाम्रो भाषामाथि पहिलो आक्रमण गरिएको भन्दै तीन टुक्रा पारिएको मगरातभूमिको रक्षाका लागि आन्दोलनको विकल्प नभएको बताए ।
सभामा मगर अगुवाहरु तेजमान थापा मगर, गम बहादुर थापा (गाहा) मगर, खामे पुन मगर र हितमान पुन मगरले समेत बोलेका थिए । परिषद्का उपाध्यक्ष ज्ञान बहादुर थापा मगरको स्वागत, सचिब तोजमान थापा मगरको सञ्चालन र अध्यक्ष पद्म प्रकाश राना मगरको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।
