रूद्र श्रीस मगर
पोखरा, ५ वैशाख – अनुपम म्यूजिक पोखरा र हिमाली बालकल्याण संरक्षण मञ्च, पोखराको संयुक्त आयोजनामा सञ्चालन भएको १५ दिने उद्घोषण तथा भाषणकला तालिम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले बोल्ने कला जीवनको सबैभन्दा महत्वपूर्ण कला भएकोले उद्घोषण तथा भाषणकला तालिम सबैको लागि अपरिहार्य भएको कुरा बताउनुभयो । उहाँले अनुपमले निरन्तर रूपमा यस्तो खालको तालिम सञ्चालन गरेर समाज र बालबालिकाहरूको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तीर्थहरि स्मृति प्रतिष्ठान, पोखराका अध्यक्ष वीरेन्द्र पालिखेले अनुपम म्यूजिक पोखराले राम्रा खालका कार्यक्रमहरूलाई अगाडि बढाएको हुँदा आफूले सहकार्य गरिरहेको कुरा बताउनुभयो । कार्यक्रमका प्रमुख प्रशिक्षक तथा अनुपम म्यूजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीले बालबालिकाहरूले आफूले सिकेको कुरा व्यवहारमा उतारिरहेको हुँदा आफ्नो प्रशिक्षणका कार्यक्रमहरू सफल भएको कुरा व्यक्त गर्दै आगामी दिनमा पनि हिमाली बाल कल्याण संरक्षण मञ्चसँग विभिन्न खालका कार्यक्रमहरूमा सहकार्य गरिरहने बताउनुभयो ।
हिमाली बाल कल्याण संरक्षण मञ्चका शाखा प्रमुख टंकप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एफएनएच जर्मनीका संस्थापक अध्यक्ष एलेक्स जेण्डर स्मिथ, मञ्चका प्रशासकीय प्रमुख कमल जिसी, तालिम संयोजक ऋषिराम ढुंगानालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गायक रामभक्त जोजिजू र बलराम गिरीले आपनो गीत प्रस्तुत गर्नुभएको थियो भने प्रशिक्षार्थीहरू सरोज गुरुङ, मंगला बुढा, निर्मला आचार्य, पवित्रा विक, प्रदीप शर्मा, नारायण विक, अल्का आले, युनिक रावललगायतले पनि तालिम सम्बन्धी अनुभव व्यक्त गर्नुभएको थियो । तालिममा ३५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
