गोविन्द घर्ती
देवदह बैषाख ३ । नवलपरासी सूचना तथा सञ्चार सहकारी संथाद्धारा संचालित त्रिवेणी टेलिभिजनले रुपन्देहीको देवदह–५, केरवानीमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
टेलिभिजनले दोश्रो बर्ष पुरा गरी तेश्रो बर्षमा प्रवेश गरेको अवसरमा उक्त शैक्षिक सामाग्री वितरण गरेको हो ।
टेलिभिजनको बार्षिक कार्यक्रम अनुसार देवदह–५, सोईया टोल, केरवानी निवासी विपन्न तथा गरिव मुहसर समुदायका वालवालिकालाई उक्त शैक्षिक सामाग्री प्रदान गरेको हो । सो अवसरमा बोल्ने वक्ताहरुले देवदह क्षेत्रको विकासमा टेलिभिजनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उनीहरुले विकास निर्माणमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेकोले देवदह क्षेत्रमा लुकेर रहेका पिडित तथा विपन्न बर्गको समस्याहरु आमनागरिक समक्ष ल्याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण स्थल रहेपनि राज्य र लुम्विनी विकास कोषले वेवास्ता गरेको हुदा अव यसको पर्यटन प्रवद्र्धनको लागि त्रिवेणी टेलिभिजनले उर्जागर गर्नुपर्नेमा जोड दिएका थिए । टेलिभिजनका अध्यक्ष भोजराज ढकालको अध्यक्षता र देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनीको प्रमुख आतिथ्यतामा उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नमराज पुरी, नेपाली काग्रेसका गुणखर भूर्तेल, नेकपा एमालेका पदम थापा, एकिकृत माओवादीका भरत तिवारी, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, संघीय जनमुक्ति पार्टीका हरी प्रसाद सारु, रेडियो देवदहका भिम प्रसाद गुरुङ्ग, देवदह व्यापार संघका कोष बहादुर गुरुङ्ग, उद्योग व्यापार संगठनका गोविन्द ठड्राई, वडा नागरिक मञ्चका निर्मला चौधरी लगायतले बोल्दै त्रिवेणी टेलिभिजनले आफनो प्रसारण लाईन अझ विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा टेलिभिजनका स्टेशन म्यानेजर कृष्ण ढकालले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । टेलिभिजनका उपाध्यक्ष बोल्गा नेपालको स्वागत र कार्यकारी निर्देशक रवि पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा देवदह–५, सोईया टोल र केरवानीका गरी करिव ४२ जना विपन्न मुसहर तथा दलित वालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
