सिमा गुरुङ
नवलपरासी, देवर्षि काठमाडौं, २५ चैत्र । नवलपरासी जिल्लाको सुनवलमा छुट कित्ताको २०–२५ बिगाहा जग्गा केही व्यक्तिहरूले आफ्नो नाममा नापी गराई सोजग्गामा भूमाफियाकरण गरिरहेको स्थानीय सर्वसाधारणबाट खुल्न आएको छ ।
सो जग्गा नापीमा छुट् हुन गएको डा यादव प्रसाद पन्तको जानकारहरू बताउछन् । सुनवल बजारको चोकमा प्रतिहप्ता लाग्दै आएको हाटबजारलाई त्यहाँबाट विभिन्न बहानामा विस्थापित गरी सो जग्गाको आसपासमा लैजान चलखेल हुनथाले पछि सोको बिरुद्ध स्थानीय जनता उत्रेका हुन ।
यसै क्रममा गत आइतवार (२१ गते चैत्र) बिहान सुनवलमा हाटबजार लाग्ने दिन थियो । सो हाटबजारलाई लाग्दै आएको स्थान सुनवल चोकमा लाग्न नदिएर भूमाफियाहरूले आफ्नो नाममा नापी गराएको सो जग्गाको नजिकै लैजान सुनवल नगरपालिका र प्रहरी, प्रशासनको मिलेमतोमा खोजिरहेका थिए । यसै क्रममा हाटबजारका व्यवसायी र सर्वसाधारणहरूबाट बिरोध भयो । इन्सपेक्टर योगेन्द्र तिमिल्सिनाको प्रतिनिधित्त्वमा गएको प्रहरी दस्ताले व्यवसायी तथा सर्वसाधारण तर्फ ब्यापक बल प्रयोग गर्यो । संस्कार पाठशाला अभियानकी अभियन्ता एवं सत–मार्ग अभियान नेपालकी केन्द्रीय सहप्रमुख सहित विभिन्न संघसंस्थामा गरिमामय, जिम्मेवारी पदमा रही समाजसेवा गर्दै आउनु भएकी देवी घिमिरे लगायतका चौतीस जनालाई प्रहरीले अमानवीय तरिकाबाट लाठी प्रहार गरी सख्त घाइते बनायो ।
समाजमा देवी दिदीको नामबाट परिचित देवी घिमिरेको दाँया खुट्टा दुई ठाऊँबाट भाच्चियो । परासी अस्पतालले काठमाडौं रिफर गरेकोले अहिले उहाँको उपचार ललितपुर ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा भइरहको छ । त्यस्तै स्थानीय सिद्धि कुवरकी बुहारीको हात भाँचिएको थियो । एकै परिवारका यम कुमारी चापागाई, रखेम प्रसाद चापागाई, होम कुमारी चापागाई सो घटनामा घाइते भएका थिए ।
सख्त घाइते देवी घिमिरेका अनुसार आफ्नो खुट्टा भाच्ने इन्स्पेक्टर योगेन्द्र तिमिल्सिना नै भएको बताएकी छिन । पहिला यही हो, यही हो, हान हान भने, पछि प्रहरी जवानले कडा प्रहार नगरेपछि जवानको हातबाट लाठी खोसेर उ आफैले मेरो खुट्टामा हान्यो । दुई लाठी हान्दासम्म म ढलेकी थिइन तेस्रो पटकमा म ढले अनि प्रहरीहरू आफैले मलाई प्रहरीको भ्यानमा राखे, देवीले घटना सुनाउँदै न्यूज टिमलाई बताइन ।
मैले चिनेकी छु, म सामाजिक कार्यकर्ता, इलाकाको प्रहरी प्रमुखलाई हामी पनि राम्रोसँग चिन्छौ, र उनीहरूले पनि हामीजस्ता सामाजिक व्यक्तिलाई चिन्छन् । कुनै त्यस्तो राजमार्ग नै अबरोध हुने खालको ठूलो आन्दोलन भएको थिएन । भूमाफियाहरू, नगरपालिकाका अधिकृत र प्रहरी प्रशासनको मिलेमतोमा यो घटना सुनियोजित रूपमा घटाइएको हो । त्यहाको जनमानसलाई सम्बोधन गरिसके पछि साइडमा बसेर हेरिरहेकी म माथिको आक्रमण नियतवश गरिएको हो, घिमिरेको भनाइ थियो ।
स्रोतका अनुसार राजनीतिक पार्टीका प्रतिनिधिहरूको आपसी मिलेमतोमा सो छुट् कित्तालाई उनीहरू तथा उनीहरू कै पारिवारिक व्यक्तिको नाममा नापी भएको छ । सो कार्यलाई सुनवल नगरपालिकाका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले भूमिका निर्वाह गरेको स्थानीय सर्वसाधारणहरूले लख काटेका छन् ।
सुनवल चोकबाट हाटबजारलाई हटाउन खोज्नुको कारण हाटको लागि ठाऊ कम भयो भन्ने नगरपालिकाको भनाइ रहेको छ । हाटबजार जस्तो जनउपयोगी विषयलाई किनारामा लग्नु उपयुक्त हुन्न भन्ने उपभोक्ता वर्ग तथा आम सर्वसाधारणको भनाइ रहेको छ । यसै विषयलाई लिएर उद्योग मन्त्रालय मार्फत देवी घिमिरेले सो हाटबजारलाई सुनवलमा राजमार्गको किनारमै रहेको चिनी कारखानाको जग्गामा स्थानान्तरण गर्न पहल गरी पनि रहेको बताइन्छ । उपभोक्ता तथा जनसर्वसाधारणहरू पनि चिनी कारखानाभित्र हाटलाई स्थानान्तरण गर्न मञ्जुर रहेको देखिन्छ भने मिलले पनि स्वीकार गर्ने मनसाय दिएको बुझिएको छ ।
तर, छुट् कित्तालाई आफ्नो नाममा गरेका भूमाफियाले सो जग्गाको मुल्य बढाउनको लागि भएपनि हाटबजारलाई सो जग्गाको आसपासमा लान नगरपालिका, प्रहरी, प्रशासन लगायत सम्बन्धित निकायलाई रिझाएको र सोही कारणले बिरोधलाई दमन गर्न प्रहरीले क्रुर कदम चालेको हुनसक्ने स्थानीय सर्वसाधारणको बुझाइ रहेकोछ । यदि त्यसो हुन्नथ्यो भने यसै पनि खुट्टाको अपाङ्गता रहेकी समाजसेवी देवी माथि पुरुष प्रहरीबाट खुट्टै भाँचिने गरी लाठी प्रहार हुँदैनथ्यो ।
आइतवार भएको घटनाको बारेमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई सोध्दा व्यवसायीहरूको बिरोधको कारण राजमार्ग अबरोध हुन गएकोले राजमार्ग खुलाउन आफूले प्रहरी प्रशासनलाई निर्देशन दिएको बताएका छन । तर स्थानीय सर्वसाधारण भने उक्त आन्दोलनले राजमार्गलाई अबरोध नगरेको बताउँछन् ।
जिल्ला प्रमुख अधिकारी, प्रहरी, प्रशासन र सुनवल नगरपालिकाको व्यवहार यस मामलामा गैर जिम्मेवार देखिएको सर्वसाधारणको बुझाइ छ । समाजमा संस्कार पाठशाला लगायतका सवालमा एउटा कुशल कार्यकर्ताको रूपमा क्रियाशिल महिला माथि यसरी दुव्र्यवहार हुँदा पनि प्रशासन, राजनीतिक दलका प्रतिनिधिलगायत सम्बन्धित क्षेत्र मौन बसेको प्रति महिलासमाज आक्रोशित रहेको देखिन्छ ।
