श्रद्धाञ्जलि दिन भट्टराई आश्रममा उच्च नेताहरुको भीड

Read Time:2 Minute, 45 Second

ललितपुर २१ फागुन

पूर्वप्रधानमन्त्री एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गर्न आउने विभिन्न दलका नेता, कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारणको अहिले यहाँस्थित भट्टराई आश्रममा भीड बढेको छ ।

उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रजातन्त्र, राजनीतिक मूल्य र मान्यताप्रति कहिल्यै विचलित नहुनुभएका सन्तनेता कृष्णप्रसाद भट्टराई लोकतन्त्रप्रतिको निरन्तर निष्ठा र प्रतिबद्धताको प्रतिमूर्ति हो भने ।

व्यक्तिभन्दा पार्टी र पार्टीभन्दा देश र जनता ठूलो हो, यसका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ भन्ने किसुनजीको त्याग र गुण आजका नेताहरूले अनुकरण गर्नुपर्नेमा  जोड दिए ।

उनले पूर्वप्रधानमन्त्री एवम् नेता भट्टराई २०४६ सालपछिको सङ्क्रमणकालमा सरकारको नेतृत्व गरी कुशल व्यवस्थापन गर्न सफल हुनुभएको स्मरण गरे  । पूर्व प्रधानमन्त्री एवम् सन्तनेताप्रति प्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेता केपी शर्मा ओली, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जवरालगायतका नेताले श्रद्धाञ्जलि अर्पण गरे । यसैगरी पूर्वराजा ज्ञानेन्द्रका तर्फबाट उहाँका सचिव पशुपतिभक्त महर्जनले एक शोक सन्देश लिएर पुगेका थिए  ।

आजै बिहान पार्टी सभापति सुशील कोइरालाको अध्यक्षतामा नेपाली काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बसी संस्थापक नेता भट्टराईप्रति गहिरो शोक व्यक्त गर्दै उहाँको निधनमा १३ दिन पार्टीले शोक मनाउने, औपचारिक कार्यक्रम नगर्ने, पार्टीको झन्डा आधा झुकाउने र आगामी चैत २ गते देशभर श्रद्धाञ्जलिसभा गर्ने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %