रूद्र श्रीसमगर
पोखरा, २७ फागुन – आवश्यक चिकित्सा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिले आफ्नो आठौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । कलेजले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको हो । कलेजले ३०० शैयाबाट सुरु गरेको अस्पतालमा हाल ५४७ शैया पुगेको कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले जानकारी दिनुभयो ।
कलेजले अस्पतालमा सेवा बिस्तारका क्रममा २० शैयाको आईसीयू, पाँच शैयाको एसआईसीयू, १० शैयाको पोष्ट अप, छ शैयाको पीआईसीयू, २१ शैयाको एनआईसीयू तथा ४४ शैयाको विशिष्ट क्याबिन समेत सञ्चालन गरिरहेको खनालले जानकारी दिनुभयो । खनालका अनुसार हाल सो अस्पतालबाट दैनिक ७०० देखि ८०० सेवाग्राहीहरूले बहिरंग र दैनिक २२५ देखि २७५ बिरामीले अन्तरंग सेवाबाट सेवा लिइरहेका छन् ।
गण्डकी मेडिकल कलेजमा सन् २०१० देखि प्रत्येक वर्ष ७५ जना विद्यार्थी एमबीबीएसमा पढ्दै आएकामध्ये यस वर्ष पहिलो ब्याचका विद्यार्थीहरूमध्ये ५७ जना विद्यार्थी अन्तिम वर्षको परीक्षामा उत्तीर्ण भइ पहिलो एमबीबीएस ब्याच निस्किएको समेत खनालले पत्रकार सम्मेलनका अवसरमा जानकारी गराउनुभयो । कलेजमा एमबीबीएसबाहेक बीएस्सी नर्सिङ, बीपीएच, बीएस्सी एमएलटी तथा बीएस्सी एमआईटीलगायतका शैक्षिक कार्यक्रम समेत पठनपाठन सुरु भएको खनालले जानकारी दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा कलेजले मैत्रीपूर्ण फुटबल, कलेज सरसफाइ, एक हप्तासम्म ओपीडी रजिष्ट्रेशन शुल्क तथा जनरल बेड शुल्क निःशुल्कलगायत सञ्चालन गरिरहेको छ भने शुक्रबार लेखनाथस्थित मेडिकल कलेजमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम हुनेछन् । त्यस्तै, सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका निमित्त डिन प्रा.डा. विमलकुमार सिन्हाको उपस्थिति रहने कलेजले जनाएको छ ।
