मेजन पुन मगर
पोखरा/कुरा योरुना भन्ने नेहा पुनको हो । योरुना सम्भवतः सामुहिक बलात्कारको शिकार भएकी छिन् होइन भने कृतन खत्रीले बलात्कार पश्चात हत्या गरेको कुरा घटना स्थल र फोटोहरुले पनि बताउँछ ।
र, महिला सुरक्षा भएन भनेर अहिले महिला आवाजहरु पनि उठिरहेको अवस्था हो । किनकि पोखरा क्षेत्र वरिपरि योरुना भन्दा २ दिन अगाडि र योरुनाको घटना भए पश्चात २ हप्ता जस्तोमा वेगनासतालमा खिममाया पुनको पनि हत्या भएको छ । छोरी मान्छे भएकै कारण किन उनीहरु असुरक्षित भईरहेका छन् प्रश्न प्रहरी प्रशासन र हाम्रो समाजतिर पनि गर्न चाहन्छु ।
नारी दिवसको पुर्व संन्ध्यामा एउटी आमाले आफ्नो १९ बसन्तमा लागेको छोरीलाई सधैंको लागि विदा गर्दा कसको मन भक्कानिदैन ? एउटा दिदी आफ्नो बहिनीको सुविधाको लागि भनेर भर्खरै किनिदिएको स्कुटर राम्रोसँग चलाउन नपाउँदै हामै्र समाजमा बस्ने धर्म दाई साईनो लगाएर यसप्रकारको घृणित घटना घटाउँछ भने विश्वास कसलाई गर्ने त्यो दिदी र यो समाजले ? के धर्म दाईको साईनो लगाएको व्यक्तिले यौन सम्पर्क गर्न आग्रह गर्ने जस्तो घृणित क्रियाकलाप गरौं भन्न सक्छ ? यस्तो प्रस्ताव राख्ने कस्तो धर्म दाई ? दाई साइनो लगाएकी योरुना यस्तो प्रस्ताव सहन सकेनन् यसर्थ आज यस दुनियामा रहेनन् । कस्तो विडम्बना । केटी मान्छे भएर रक्शी खाने हैछ भन्ने कुरा गरेको सुनिन्छ । के रक्शी खानु र धर्म दाई बनाएको केटासँग यौन सम्पर्कमा साथ दिनु एउटै कुरा हो र ? योरुनाले त्यो प्रस्ताव स्वीकार गरिनन् यसर्थ उनको हत्या भएको छ ।
नारी दिवस भनेर दिवस मात्र मनाई रहने कि सुरक्षाको कुरामा पनि ध्यान दिने सरकारले । विदेशमा रात्री १२-१ बजे सम्म पनि महिलाहरु सुरक्षित हिंड्छन् । हाम्रा नेताहरु विदेश यात्रा त गर्दछन् । तर खोई यस्तो कुरा सिकेको ? कृतनकै भनाई अनुसार यो घटना ९ बजे भएको हो भने पनि कहाँ गए हाम्रो सुरक्षामा खटिएका प्रहरी प्रशासन ?
रात परेपछि लोक दोहोरी भएको ठाउँतिर नजर लगाउनु हुन्छ भने प्रहरीहरुको भ्यान राखिएको पाईन्छ । के दोहोरी साँझमा डियुटी लगाउन राखिएको हो प्रहरी ? कुनै पनि ठाउँ चाहे त्यो दोहोरी साँझमा घटना हुन्छ भने त्यहाँ पुग्नु प्रहरीको डियुटीभित्र आउँछ । तर दोहोरी साँझ अगाडि प्रहरीको भ्याननै राखिएको हुन्छ । किन ? प्रश्न मथिङगलमा खोतल्दा— हामी पाउँछौं हरेक दोहोरी साँझबाट साँझ प्रहरीले पिउने पदार्थ पाउँछ । ग्राहकसँगै बसेर खान्छन् घटना नहोस् भन्दै सुरक्षा दिए वापत । हामी हाम्रो वरिपरि यस्तो घटनाहरु देखेका छौं । सुरक्षा दिने प्रहरीहरु रक्शी खाएर डिउटी गर्ने क्रममा सुत्छन् अनि घटना घट्दैन ? प्रहरीको जिम्मा घटना हुन दिनै हुँदैन । यसको लागि सम्भव भएसम्मका प्रयास गरिनु पर्दछ ।
अलि बढी क्राईम हुने ठाउँमा गस्ती गर्ने वा भ्यान राखेर अवलोकन गर्ने गर्नु पर्दछ । तर दोहोरी साँझमा डिउटी लगाए पछि अपराधीले प्रश्रय पाएका छन् । घटना हुन दिनु हुन्न र घटना भए पछि त झन अपराधीलाई उम्कनै दिनु हुन्न । तर हाम्रो प्रहरी प्रशासन बदनाम छ । अपराधीसँग चलखेल गरि यही मौका हो भनेर पैसाको लेनदेन गर्दछन् । प्राप्त प्रमाणहरुमा अझ खोज कार्य गर्ला भन्दा लुकाउने काम गर्दछन् । अनि अपराधीले सजाय कम पाउँछ या भनौ अपराधी उम्कन सफल हुन्छ । यसर्थ प्रहरी माथि शंका गर्ने ठाउँ पटक पटक रहन्छ । पोखरा लगायत अन्य ठाउँमा एसएसपी सर्वेन्द्र खनाल जस्ता प्रहरीको आवश्यकता देखिएको छ । तर खोई उनी जस्तो कोही देखिएनन् ।
नारी दिवसको पुर्व सन्ध्यामा अन्यायमा परेकी योरुनाको दाह संस्कार गरियो अब बेगनासको घटनामा परेकी खिममाया पुन पनि यस्तै प्रकारको घटनामा परेकी छिन् उनको पनि न्याय होस् । उनको पनि दाह संस्कार हुन बाँकी छ— उनको घटना पनि के कसो भएको हो साँचो र सत्य तरिकाले खोज होस् । घटनाको चित्त बुझ्दो जवाफ पाउनु हामी नागरिकको दायित्व भित्र पर्छ यसर्थ उनको परिवारजनले पनि छिट्टै दाह संस्कार गर्न सफल हुन् । अन्य अन्यायमा परेका नारीहरुले पनि न्याय प्राप्त होस् अनि बल्ल नारी दिवस— नारी दिवस झैं बन्ने छ । धन्यवाद ।