रूद्र श्रीसमगर
पोखरा, २२ फागुन – तराना म्यूजिक सेण्टरले हरेक वर्ष आयोजना गर्दै आएको तराना सांगीतिक साँझ–२०७२ सम्पन्न भएको छ ।
शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पोखरेली माग्ने बुढा र धुर्मुससहित तराना म्यूजिकका प्रशिक्षार्थी कलाकारहरूले आ–आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए । यसअघि, कार्यक्रमको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले संगीतको विकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो । कार्यक्रमबाट प्राप्त आम्दानी कलाकारहरूको सहयोगार्थ अक्षयकोषको रकम अभिवृद्धि गर्नमा प्रयोग गरिने तराना म्यूजिकका सञ्चालक एवं संगीतकार श्रीमान थुलुङले जानकारी दिनुभयो ।
सो अवसरमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, संगीतकार नवराज बराल, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, पूर्व अध्यक्ष शिव थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगरलगायतको उपस्थिति रहेको थियो ।
