माओवादी– एमालेको निर्णायक वार्ताले कुनै निर्णय दिएन , मन्त्रीमण्डल विस्तार अन्यौलमै

Read Time:2 Minute, 57 Second

काठमाडौँ, १६ फागुन

मन्त्रालय बाँडफाँडका विषयमा आज एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)का नेताहरुबीचको वार्तामा आ–आफ्ना पार्टीका अडान र मान्यतालाई प्रस्तुत गरिएको छ । नेकपा (एमाले) को हिजो बसेको स्थायी समितिको बैठकले मन्त्रिमण्डल विस्तारका लागि एमाओवादीसँग टुङ्गो लगाउने गरी निर्णायक वार्ता गर्ने तय गरेको थियो ।

वार्तापछि एमाले नेता केपी शर्मा ओलीले शान्तिप्रक्रियाले पूर्णता नपाएसम्म एमाओवादीलाई सुरक्षासँग सम्बन्धित मन्त्रालय नदिएर आफूहरुले उनहरुलाई बचाउन खोजेको तर्क गर्दै ती मन्त्रालय नपाए पनि सो पार्टी सरकारमा आउने विश्वास व्यक्त गरे ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातबुँदे सहमतिको मर्म र भावनाअनुसार त्यसको कार्यान्वयनको प्रतिबद्धता एमालेबाट खोजिएको जनाउँदै वार्तालाई निर्णायक बनाउन एमालेकै भूमिका हुने उल्लेख गरे  ।

आजको वार्ता दुवै पक्षबाट राखिएका प्रस्ताव र विकल्पका सम्बन्धमा एमाओवादीले आन्तरिकरुपमा छलफल गरी निर्णय दिने एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिए  । दुई पार्टीका नेताहरुको वार्ताअघि आज बिहान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष झलनाथ खनाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भेटवार्ता भएको थियो । सो वार्ताबारे औपचारिकरुपमा कुनै जानकारी दिइएको छैन ।

सिंहदरबारस्थित सभामुखको सभाकक्षमा करिब एकघण्टा भएको दुई दलको वार्तामा एमालेले गृहमन्त्रालय एमाओवादीलाई दिन नसकिने अडान दोहो¥याए पनि मन्त्रिपरिषद् विस्तारका लागि सो पार्टी सकारात्मक नै रहेको वार्तामा सहभागी नेताहरुले बताएका छन् ।

दुई दलको वार्तामा एमाओवादीका तर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा हुनुहुन्थ्यो भने एमालेका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली र महासचिव पोखरेल सहभागी थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %