काठमाडौँ, १६ फागुन
संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उप समितिको संयोजकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएकाछन ।उप समितिको आज बसेको बैठकले उनलाई संयोजकमा सर्वसम्मतले चयन गर्ने निर्णय गरेको थियो ।
बैठकले आमन्त्रित सहयोगीका रुपमा सभासद्हरु देवप्रसाद गुरुङ, सुरेन्द्र पाण्डे, विमलेन्द्र निधि, उपेन्द्र यादव, डा प्रकाशचन्द्र लोहनी, अग्निप्रसाद खरेल, राधेश्याम अधिकारी, खिमलाल देवकोटा र सपना प्रधान मल्ललाई आवश्यकताअनुसार बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
बैठकले उप समितिको कार्यविधिसमेत तोकेको छ । बैठकमा संयोजकको अनुपस्थिति रहने अवस्थामा संयोजकले तोकेको उप समितिका सदस्यले बैठकको संयोजन गर्ने तथा आवश्यकताअनुसार प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, उपाध्यक्ष, संवैधानिक समितिका सभापति र उप समितिले आमन्त्रण गरेका सदस्यहरु बैठकमा संलग्न रहन सक्नेछन् ।
बैठक लगातार दुई घण्टा बस्ने र आवश्यक परे एकैदिन अर्को बैठक बस्न सक्ने गरी कार्यविधि तय गरेको छ । उप समितिमा सहमति भएका विषयहरु सम्बन्धित प्रतिवेदन समितिमा पेस नगरी सहमति सार्वजनिक नगर्ने र बैठकको छलफल प्रेस र मिडियाका लागि खुला नगर्ने समेत कार्यविधि तय भएको सो उप समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकसम्बन्धी समाचार समितिको सचिवालयले पे्रस विज्ञप्तिमार्फत जारी गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेस संसदीय दलका नेता एवम् उप समितिका सदस्य रामचन्द्र पौडेलले उच्चस्तरीय कार्यदलकै ढाँचामा उप समितिले काम गर्ने र दैनिक बैठक बसेर सहमतिका आधारमा फटाफट निर्णय गर्दै जाने जानकारी दिए ।
उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र राज्य पुनःसंरचनासम्बन्धी आयोग बनाउन एनेकपा (माओवादी) तयार भए जेठ १४ भित्रै संविधान जारी गर्न सकिने दाबी गरे । अर्का सदस्य कल्पना राणाले उप समितिले जुन बुँदा टुङ्ग्याउँदा संविधान लेखनका क्रममा देखिएका विवादित विषयहरु धेरै सुल्झन्छन्, त्यस्ता बुँदालाई पहिले छलफल गरी टुङ्ग्याउन प्रयास गरिने बताए ।
उनले दलहरुबीच सहमति भए तोकिएको समयमा संविधान जारी हुनसक्छ भन्दै एनेकपा (माओवादी) कसरी प्रस्तुत हुन्छ त्यसमा सम्पूर्ण कुरा निर्भर रहन्छ भने । संविधान लेखनका क्रममा दलहरुबीच मतक्यैता हुन नसकेका ७५ वटा बुँदा सुल्झाउन संवैधानिक समितिको बैठकले उप समिति गठन गर्ने निर्णय गरेको थियो ।संवैधानिक समितिका सभापति निलाम्बर आचार्यको सहजीकरणमा आजको बैठक बसेको थियो ।उप समितिको अर्को बैठक भोलि ८:३० बजे बस्ने जनाइएको छ ।