देब पचभैया, पाल्पा, ८ फागुन, भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले भूकम्प प्रतिरोधात्मक घर बनाउने अभियान थाल्ने भएका छन् । उनीहरुले आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने नारालाई साकार पार्न यस्तो अभियान थाल्ने जनाएका हुन् । बैशाख १२ र २९ को भूकम्पपछिको अवस्थाले गर्दा भवन तथा बाटो निर्माणकर्मी संघको जिम्मेवारीलाई पूर्णता दिन यस्तो अभियान सुरु गरेको संघका अध्यक्ष सुरेश कर्माचार्यले बताउनुभयो । शनिबार सम्पन्न भवन तथा बाटो निर्माणकर्मी संघको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भूकम्प प्रतिरोधात्मक घर बनाऔं, आफू पनि बचौ अरुलाई पनि बचाऔं भन्ने नारालाई साकार पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मोटो पिलर र सिमेन्ट धेरै राखेर घर बलियो बन्छ भन्ने सोंच हटाउनुपर्ने बताउँदै भूकम्प प्रतिरोधी घर बनाउन डेमो विभिन्न स्थानमा राख्न आग्रह गर्नुभयो । उहाँले तानसेनमा एक तलाको नक्सा पास गर्ने र पाँच तलासम्म उठाउने प्रचलन रोक्नुपर्ने बताउँदै सस्तो भवन बनाउने भन्दा पनि केही रकम महंगो भएपनि बलियो घर बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष प्रेम बुढामगरले २४ लाख ७० हजार बराबरको आयव्यय विवरण पेश गर्नुभएका थियो । तानसेनमा मुख्य कार्यालय रहेको भवन तथा बाटो निर्माणकर्मी सघंले आफ्ना कामदार सदस्यलाई सुत्केरी, उपचार खर्च र राहत रकम बितरण गरेको जनाएको छ । उसले आफ्नो पाँचौ साधारणसभा तथा तेश्रो अधिवेशनमा ११ जना सुत्केरीलाई पोषणा भत्ता दिएको बताउनुभयो । सोही कार्यक्रममा एसएलसीमा उत्कृष्ट अंक ल्याउने रोल्पा घरभई तानसेन बस्ने निरुता बिक र सुदिप्ता पराजुलीलाई नगद ५ हजार प्रोत्साहन रकम दिइएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
