वीरगन्ज, १२ फागुन
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा –एमाले र एमाओवादीबीचको गठबन्धनले मात्र शान्ति बहाली र संविधान निर्माण गर्न नसक्ने दाबी गरेकाछन ।
रिपोर्टस् क्लब नेपाल पर्साद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भने ‘ मुलुकका लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति र मधेसवादी शक्तिबीचको सहमति, सहकार्य र एकताबाट मात्र शान्ति र संविधान टुङ्गोमा लाग्न सक्दछ । ’
अध्यक्ष यादवले यी तीनवटै राजनीतिक शक्तिबीचको एकता नै शान्ति र संविधानको प्रमुख आधार हो भन्दै यी तीन शक्तिबीचको सहमति, सहकार्य र एकताबाट नै मुलुकका विद्यमान सम्पूर्ण समस्याहरुको निकास खोज्न सकिन्छ भने ।
अहिलेको अवस्थामा लोकतान्त्रिक शक्ति र वामपन्थी शक्ति दुवैले मधेसवादी शक्तिलाई उपेक्षा गरिरहेका छन्, उहाँले भन्नुभयो– मधेसवादी शक्तिलाई उपेक्षा गरिरहेसम्म शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र संविधान निर्माण गर्न सकिँदैन, त्यसैले शान्ति र संविधानका लागि यी तीनवटै शक्ति मिल्नुको विकल्प छैन ।
अध्यक्ष यादवले दलहरुबीच देखिएको आन्तरिक द्वन्द्व र अविश्वासका कारण मुलुकमा थप राजनीतिक सङ्कट थपिँदै गएको उल्लेख गर्दै दिगो शान्ति र समावेशी तथा सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्न दलभित्रै र दलहरुबीच विश्वास र समझदारीको वातावरण बन्नुपर्नेमा जोड दिए ।
शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष भनेको सैनिक संरचनालाई लोकतान्त्रिक र समावेशीकरण गर्नु पनि हो भन्दै उहाँले भने– ‘राजनीतिक सहमतिका आधारमा यसतर्फ पनि हाम्रा प्रयास केन्द्रित हुनुपर्दछ ।’