प्रतिगामी संविधान खारेज गर्नुपर्छ ः सुरेश आलेमगर
रूद्र श्रीसमगर
पोखरा, २३ माघ
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवं पार्टीनिकट अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुरेश आलेमगरले वर्तमान संविधान प्रतिगामी रहेको भन्दै खारेज गर्न माग गर्नुभएको छ ।
महासंघले भारतीय हस्तक्षेप तथा नाकाबन्दी र कालोबजारीविरुद्ध शनिबार पोखराको लखनचोकमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै माओवादी नेता आलेमगरले सत्तारुढ दलहरू नै देशमा विद्यमान समस्याको मूल कारण भएको जिकिर गर्नुभयो । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका पक्षमा देशका विभिन्न भागमा विरोध सभा गर्ने महासंघको अभियान अन्तर्गत पोखरामा कार्यक्रम गरिएको जनाउँदै पूर्व सभासद् समेत रहनुभएका आलेमगरले विद्यमान संकट हल गर्नका लागि संघर्ष नै एक मात्र विकल्प भएको दाबी गर्नुभयो ।
देशमा विद्यमान समस्या हल गर्नका लागि वर्तमान सरकार पूर्णत असफल भएको जिकिर गर्दै नेता आलेमगरले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गर्नुभयो । जनताका अधिकार कुण्ठित गरिएको संधिवान अग्रगामी र प्रगतिशील हुन नसक्ने नेता आलेमगरको भनाइ थियो ।
‘राष्ट्रिय स्वाधीनता र प्रतिगामी संविधान, संगठन विस्तार एवं सुदृढीकरण तथा आदिवासी÷जनजाति जागरण अभियान अन्तर्गत आयोजित विरोध सभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य सह–संयोजक हरिबहादुर चुमान ‘अजित’, अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राई, अखिल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक लोकबहादुर थापामगरलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।
