रूद्र श्रीसमगर
पोखरा, २२ माघ
१५ किलो लागू औषध चरेससहित पोखराको सराङकोटबाट पाँच जना पक्राउ परेका छन् । 
विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखराबाट प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटि गएको टोलीले सो परिमाणको चरेससहित पाँच जनालाई पक्राउ गरेको हो । जसमा पोखरा–२६, सराङकोटस्थित हिमालय भ्यू गेष्ट हाउसका सञ्चालकद्वय ४६ वर्षीया सरस्वती पहारी र ४३ वर्षीया देउमाया पहारी नौ किलो पाँच सय ग्राम, लेखानी–६, बागलुङका ६२ वर्षीय हरि पुन र हरिचौर–९, बागलुङ ५५ वर्षीय सुनबहादुर घर्तीमगर एक किलो र दरबाङ–५, म्याग्दीका ५० वर्षीया विष्णुकुमारी पुन पाँच किलो चरेससहित पक्राउ परेका हुन् । 
उनीहरू पोखरामा कारोबार गर्ने उद्देश्यले सराङकोटलाई केन्द्रविन्दु बनाएर लागू औषध चरेस ओसारपसारमा संलग्न रहेको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिनुभयो ।
१५ किलो चरेससहित पाँच जना सराङकोटमा समातिए
Read Time:1 Minute, 26 Second
