देब पचभैया
पाल्पा, माघ २२ गते – श्रीनगर एफएम पाल्पाका प्राबिधिक पदमा कार्यरत पत्रकार दिपक भट्टराईको उपचारका लागि बसन्त फिल्मस् कतारले १ लाख १८ हजार २ सय ६५ रुपियाँ हस्तान्तरण गरेको छ ।
शुक्रवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको कार्यकक्षमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरियो । 
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिना, प्रमुख अनुसन्धान अधिकृत सुदिप अधिकारी, बसन्त फिल्मका महासचिव मोहन शाह, सदस्य बिक्रम बुढाथोकी, पत्रकार भगवान भण्डारी, यज्ञमूर्ति तिमिल्सिना, गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सनाले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गर्नुभयो । पत्रकार दिपकको पेटमा समस्या भएपछि दिल्ली स्थित मेदान्त अस्पतालमा उपचार गराइरहनुभएको छ ।
पत्रकारको उपचारमा खर्च अभाव भन्ने समाचार प्रकाशन प्रशारण भएपछि बसन्त फिल्मस्का संस्थापक इश्वर काफ्ले सहित कतारमा रहेका युवाहरुले सहयोग अभियान चलाएका थिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बसन्त फिल्मस्का युवाहरुको यो कार्य सराहनीय भएको बताउनुभयो । उहाँले यस्तै अभियान अरु संस्थाले पनि चलाउने हो भने पत्रकार भट्टराईको उपचारका लागि सहज हुने बताउनुभयो ।
