रूद्र श्रीस मगर
पोखरा, २० माघ
मगर चलचित्रकी नायिका समेत रहेकी पोखरा–१५, नयाँगाउँ, ऋषिमार्ग निवासी १९ वर्षीया योरुना पुन ‘नेहा’ मंगलबार आफ्नै घर नजिकै हत्या गरी फालिएको अवस्थामा फेला परेपछि सो हत्याको चौतर्फी विरोध हुन थालेको छ ।
बलात्कार प्रयास पछि हत्या गरी फालिएको अवस्थामा नेहाको शव फेला परेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल नेहाका हत्यारालाई कारबाहीको माग गर्दै अपलोड गरिएका उनको तस्वीरले भरिएका छन् ।
यसै बीच, नेपाल मगर संघ कास्कीले एक विज्ञप्ति प्रकाशित गरी नायिका नेहा पुनको हत्याको विरोध गरेको छ । अध्यक्ष पूर्ण बहादुर राना मगरले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै नेहाका हत्याराको तत्काल खोजी र सार्वजनिक गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन ।
विज्ञप्तिमा भनिएको छ, ‘मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहा पुन मगरको हत्या गरिएको घटनाले हामी सम्पूर्ण कस्केली मगर समुदाय स्तब्ध बनेका छौं, हत्यारा जोसुकै भएपनि प्रशासन समक्ष कडा कारबाहीको लागि जोडदार माग गर्दछौं ।’ हत्याको यस घटनाले सम्पूर्ण कास्केली नागरिकले असुरक्षित महसुस गरेको छोै भन्दै विज्ञप्तिमा हत्यारालाई तत्काल पक्राउ गरी आम नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन शान्ति, सुरक्षाको वातावरण मजबुत बनाउन माग समेत गरिएको छ ।
त्यस्तै, बागलुङ–पोखरा मगर समाजका अध्यक्ष मेख बहादुर छन्त्याल मगरले पनि बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरी नेहाका हत्यारालाई तत्काल सार्वजनिक गरी कडा कारबाही गर्न माग गरेका छन । नेहाको हत्याको घटनाले आम नागरिकमा त्रास निम्त्याएको भन्दै विज्ञप्तिमा शान्ति, सुरक्षाको प्रत्याभूमि दिलाउन प्रशासन समक्ष जोडदार माग गरिएको छ ।
