रूद्र श्रीसमगर
पोखरा, १७ माघ
पूर्व नेकपा–माओवादी तथा नेकपा (एकीकृत)बीच एकता भइ नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरूको एकता महाधिवेशन सम्पन्न भइरहेका छन् ।
पूर्व माओवादी तथा एकीकृतसम्बद्ध तीन वटा जातीय मोर्चाहरूको राष्ट्रिय एकता महाधिवेशन यही माघ २२ गते पोखरामा हुने भएको छ । पूर्व माओवादी तथा पूर्व एकीकृतनिकट क्रमशः मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल मगर स्वशासित संघ (एकीकृत), तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) र नेपाल तमु स्वशासित संघ (एकीकृत) तथा छन्त्याल राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल छन्त्याल स्वशासित संघ (एकीकृत)बीच एकता महाधिवेशन हुने भएको हो ।
एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको र देशभरिबाट महाधिवेशनमा तीन वटै जातीय मोर्चाका केन्द्रीय समितिबाट करिब १ सय ५० जना प्रतिनिधि सहभागी हुने नेकपा (क्रान्तिकारी माओवादी) कास्कीका सह–संयोजक भीमबहादुर श्रीसले जानकारी दिनुभयो ।
