रूद्र श्रीसमगर
पोखरा, १५ पुस
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति, कास्कीले पुस पन्ध्र अर्थात् रो–इन पर्वमा मौलिक परम्परालाई निरन्तरता दिँदै ओहोरा (भोज) खाएका छन् ।
बुधबार आयोजित पुस पन्ध्र विशेष वनभोज तथा पुनर्मिलन कार्यक्रममा बोल्दै संघका केन्द्रीय महासचिव गोमबहादुर रानामगरले मगर विद्यार्थीहरू जुझारु हुनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान संविधानले अझै पनि मगर जातिको अधिकार सुनिश्चित गर्न नसकेको भन्दै महासचिव रानामगरले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि विद्रोह गर्नुपर्ने र त्यसको नेतृत्व मगर युवा विद्यार्थीले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका पूर्व महासचिव एवं आदिवासी जनजाति अधिकारकर्मी अधिवक्ता सुरेन्द्र थापामगरले पुस पन्ध्रमा अझै पनि मगर गाउँघरमा ओहोरा खाने चलन रहेको भन्दै मगर विद्यार्थीको कार्यक्रमले सोही झल्को दिएको उल्लेख गर्नुभयो । आफ्नो क्षमता विकास र प्रतिभा प्रस्फुटनका लागि मगर विद्यार्थीहरू चनाखो हुनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगरले मगर विद्यार्थी संघ पनि मगर संघको भ्रातृसंस्था भएकाले सहकार्य गरेर मगर जातिको हक, अधिकारका लागि संघर्ष गर्नुपर्ने भन्दै शैक्षिक जागरणको नेतृत्व गर्न मगर विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
हङकङनेपाली डट कमका सम्पादक तुलसीराज रानामगरले मगर जातिको परम्परा र संस्कृतिलाई मगर विद्यार्थीहरूले संरक्षण गर्ने प्रयास गरेकोमा सराहना गर्दै मगर विद्यार्थीले गर्ने हरेक कार्यमा आफूले सक्दो सहयोग गर्ने वचन दिनुभयो ।
नेपाल मगर महिला संघ कास्की एवं मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष फूलकुमारी थापामगरले मगर विद्यार्थीहरूलाई सक्रिय भएर मगर जातिको शैक्षिक उन्नतिका लागि लाग्न सुझाव दिँदै सक्दो सहयोग र सहकार्यका लागि सदैव तयार रहेको जनाउनुभयो । कार्यक्रममा नेपाल सरकारको खरिदार पदबाट निजामति सेवामा प्रवेश गर्न सफल नेपाल मगर विद्यार्थी संघ कास्कीका सचिव रामबहादुर थापामगरलाई सम्मान पनि गरिएको थियो भने हङकङनेपाली डट कमका सम्पादक तुलसीराज रानामगरले नेपाल मगर विद्यार्थी संघ कास्कीलाई १० हजार रुपैयाँ सहयोग हस्तान्तरण समेत गर्नुभएको थियो ।
अध्यक्ष नेत्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव दिनेश रोकामगरले गर्नुभएको थियो भने जिल्ला सदस्य एवं पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष निशा घर्तीमगरले स्वागत गर्नुभएको थियो ।
रो–इन (पुस पन्ध्र)मा मगर विद्यार्थीले ओहोरा खाए
Read Time:3 Minute, 46 Second
