रूद्र श्रीसमगर
पोखरा, १८ पुस
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको सहयोगमा मगर भाषा प्रतिष्ठान, कास्की शाखाको आयोजनामा आदिवासी जनजातिका निम्ति निःशुल्क लोक सेवा आयोग ना.सु. तयारी कक्षाको उद्घाटन गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रका लागि पोखरामा सुरु गरिएको सो कक्षाको शनिबार उद्घाटन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका वरिष्ठ अनुगमन अधिकृत प्रदीप बज्राचार्यले राम्रो नतिजाका लागि अथक मेहनतको जरुरत पर्ने बताउनुभयो । निरन्तरको प्रयास र मेहनतले मात्र लोक सेवा आयोगको परीक्षामा सफल हुन सकिने बताउँदै बज्राचार्यले नेपालको निजामति सेवामा आदिवासी जनजातिको पहुँच र सहभागिता बढाउन प्रतिष्ठानले देशका विभिन्न जिल्लामा तयारी कक्षा सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्तीले आदिवासी जनजातिहरूलाई राज्य संयन्त्रमा प्रतिनिधित्व गराउने माध्यम लोक सेवा आयोग भएको भन्दै गम्भीर भएर आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । आदिवासी जनजातिका लागि राज्यले उपलब्ध गराएको आरक्षण अपर्याप्त भएपनि निरन्तर अभ्यास र प्रयत्न गरे खुल्ला प्रतिस्पर्धा समेत गर्न सकिने बताउँदै अध्यक्ष घर्तीले राज्यको लगानीको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले ना.सु. तयारी कक्षाले आदिवासी जनजातिहरूमा निजामति सेवामा प्रवेशका लागि प्रोत्साहित गर्ने उल्लेख गर्दै विदेशको सपना त्यागेर स्वदेशमै सेवा गर्ने सोंच राख्नुपर्नेमा जोड दिनुभयो । महासंघका जिल्ला सचिव पूर्ण ह्योल्मोले आदिवासी जनजाति युवाहरूलाई लाहुरे हुने र विदेश जाने संस्कारले नराम्रो छाप परेको बताउँदै नयाँ युग अनुसार अरूलाई गाली गर्न छोडेर आफ्नो क्षमता अभिवृद्धिका लागि मेहनत गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका अध्यक्ष राजकुमारी भुजेलले आदिवासी जनजातिहरूको राज्यप्रतिको नकारात्मक भावना हटाउन यस्ता तयारी कक्षाले निजामति सेवाप्रति आकर्षण बढाउने बताउँदै राज्यले लोक सेवा आयोगप्रति सकारात्मक भावना जगाउन लगानी गर्नु सकारात्मक भएको विचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले कर्मचारीतन्त्रमा आदिवासी जनजातिको सहभागिता बढाउन तयारी कक्षा सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताउँदै यस्ता कक्षालाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष सुजनकुमार तामाङले आदिवासी जनजाति युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न लोक सेवा आयोग तयारी कक्षाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत गर्नुभएको थियो ।
आगामी चैत्र ४ गतेसम्म ७५ दिन सञ्चालन हुने सो तयारी कक्षामा लोक सेवा आयोग ना.सु.का ७१ जना आदिवासी जनजाति उम्मेदवार छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाले गत वर्ष पनि सो कक्षा सञ्चालन गरेको थियो ।
