सोनु थापा मगर ,
बुटवल । आदिवासी जनजातिहरुको नाममा भईरहेका आन्दोलन माफियाकरण हुन थालेको छ । जस्ले गर्दा आन्दोलन हाँकिरहेका स्वयं नेता तथा कार्यकर्ताहरु किमकर्तब्यविमुड अबस्थामा पुगेका छन् । केही दिन अगाडी आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रमुख नेता मध्येका एक आङ्काजी शेर्पालगायतले रुपन्देहीमा आएर प्रचारप्रसारको नाममा अपारदर्शी ढङ्गले रकम बाँडेपछि यस कुराको पुष्टि भएको हो । भोली पौष १९ गते रुपन्देहीमा बृहत जनजाति भेला गर्नको लागि भन्दै विचार नपु¥याएर केही ब्यक्तिहरुलाई रकम बाँडेको एक स्थानिय जनजाति नेताले बताए । उनले नाम नखुलाउने सर्तमा भने– ‘ राम्रै कामको लागि रकम खर्च गर्नु राम्रो हो तर विगतदेखी जनजातिहरुको विरोध गर्नेहरुलाई जनजातिको कार्यक्रमका लागि भन्दै रकम दिनु दुरुपयोग हो । जनजातिको विरोध गर्नेले कसरी जनजातिको कार्यक्रका लागि भन्दै रकम लिए ? अब जनजातिले बुझ्नु पर्ने समय आएको छ । ’
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाललाई जनजातिको अधिकार स्थापितका लागि भन्दै देशविदेशबाट जनजातिहरुले दिएको सहयोग यसरी वालुवामा पानी खन्याए सरी भएको जनगुनासो ब्यापकरुपमा बढ्न थालेको छ भने नेताहरुले आन्दोलनको नाममा जनताहरुलाई धोका दिएको भन्दै जनताहरुले आक्रोस ब्यक्त गर्न थालेका छन् ।
यसरी अनाबश्यक रकम खर्च गरेर कार्यक्रम र भेला गरेर हिँडेपनि नेताहरुमा भने विचलन देखिन थालेको छ । आदिवासी जनजाति महासंघले जनजातिको मुद्दा नउठाएको भन्दै मानवाधिकारकर्मी पद्यरत्न तुलाधरको नेतृत्वमा बनेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका तिनै नेताहरुले महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई पौष १९ गतेको भेलामा उपस्थित हुने मध्येका प्रमुख वक्ताको नाम सुचिमा राखेर प्रचार–प्रसार गरेको छ । जस्लाई राष्ट्रिय आन्दोलनका यिनै जनजाति नेताहरुले कालो सुचिमा समेत राखेको छ तर उसैलाई वक्ताहरुको सुचिमा राखेर ब्यापक पर्चा बाँडिएको छ । नागेन्द्रसंगै जनजाति विरोधी भन्ने गरिएका राजकुमार लेखी समेतको नाम वक्ताको रुपमा राखेर प्रचार–प्रसार गरिएको छ । यतीमात्र होईन नयाँ शक्ति अभियान भन्दै हिँडेका वावुराम भट्टराई र उनका समर्थकले रुपन्देहीमा जनताको साथ नपाईरहेको अबस्था र फोरम नपाईरहेको सन्दर्भमा प्रमुख वक्ताको रुपमा राखेर हाते पर्चाहरु बाँडिएको छ । जुनकी भट्टराई स्वयं अहिले आदिवासी जनजाति, मधेशी , मुस्लिम लगायतले विरोध गर्दागर्दै पनि जारी भएको संबिधानको एक हस्ताक्षरकर्ता हुन् । यदी उनले चाहेको भए जनजातिको पक्षमा संविधान लेख्न सक्थे वा रोक्न समेत हैसियत राख्थे तर अहिले गोहीको आँशु झार्दै हिँडेका बावुरामलाई राष्ट्रिय आन्दोलनका नेताहरुले रुपन्देहीमा पुजा गर्ने सुर कसेको छ । जनजातिविरोधी संविधान बनाउने मध्येका एक भट्टराईलाई नै फेरी तातेताते गरेर जनजातिको भावनामा खेल्न र जनजातिप्रेमी नेता देखाउने कसरतमा जनजाति नेताहरु उद्धत देखिएका छन् । यसले स्वयं जनजाति नेताहरु सक्षम नभएको जनतालाई आभाष दिलाएका छन् ।
