पर्यटक डाक्दै भाचोके चेली

मनोज घर्ति मगर
कास्कीको भाचोक गाउँ विकास समिति स्थित भाचोक गाउँका बासिन्दाले पोखराको लेकसाइडमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्यटकलाई गाउँ भ्रमणको निम्तो दिएका छन् । तमु जातिको महान पर्व ल्होसारको अवसरमा लेकसाइडमा कार्यक्रम गरी स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँ घुम्न निम्तो मात्र दिएनन् एक आपसमा शुभकामना आदानप्रदान पनि गरे ।

गुरुङ पोशाकमा सजिएका युवती र महिलाहरुले गुरुङ गीत, गुरुङ संस्कृति र गुरुङ पहिचानको प्रस्तुती कार्यक्रममा देखाए । नाचगान र खानपानसँगै गाउँ विकास र आफ्नो गाउँले संस्कृतिको संरक्षणमा जहाँ रहे पनि कटिबद्ध भएर लाग्ने प्रण उनीहरुले गरे । भाचोक गाउँका चेलीहरु पवित्रा गुरुङ, एनी गुरुङ, प्रमिला गुरुङ र टिका गुरुङले स्थानीय ओजन लाउन्ज बारमा यो व्यवस्था मिलाएका थिए । राजकुमार गुरुङ र रविन घलेले उनीहरुलाई सघाए । कास्कीको उत्तर पूर्वी भाचोकका बासिन्दा बसाईँ सरी पोखरामा समेत बसोबास गर्ने भएकाले सबै मिली पर्यटक डाक्ने र शुभकामना बाँड्ने काम गरिएको उनीहरुले बताए ।

पोखराबाट ३३ किलोमिटर टाढाको भाचोक गाउँमा गाउँलेले आफ्नै खल्तीको पैसा हालेर हालै कच्ची सडक समेत ५० लाख रुपैयाँको लागतमा पुर्याएका छन् । पोखरामा आयोजित सांस्कृतिक कार्यक्रममा पुस १४ र १५ गते भाचोक गाउँमा गत वर्ष झै ल्होसार मेला आयोजना गर्ने निर्णय समेत लम्तरी युथ क्लव भाचोकले गरेको छ । ‘मेलामा सहभागी भई गाउँ पर्यटनको विकासमा सहभागी भई भुकम्प पछिको पर्यटनलाई पुनर्जागरण प्रदान गर्न सहयोग गर्नुस्’ भाचोककी पवित्रा गुरुङले आग्रह गरिन् ।

भाचोकमा ७५ भन्दा बढी घरधुरी छन् । यो गाउँ गुरुङ जातिको बाहुल्य रहेको गाउँ हो । गाउँका ११ घरमा होमस्टेको सुविधा रहेको एनी गुरुङले जानकारी दिइन् । समुन्द्र सतहबाट दुई हजार दुई सय मिटरको उचाईमा रहेको यो गाउँ गुरुङ संस्कृति र पुराना घरका हिसावले आकर्षक रहेको उनले सुनाइन् । भाचोकबाट पदयात्रा गरी पवित्र तिर्थस्थल दूधपोखरी समेत पुग्न सकिन्छ ।