आमा समूहले सुधारेको गाउँ

Read Time:5 Minute, 41 Second

मनोज घर्तीमगर,
पश्चिम क्षेत्रमा आमा समूह गठन गर्ने होडबाजी जस्तै छ । गाउँगाउँमा त हुने नै भए, टोलटोलमा आमा समूह छन् । कुनै नाम मात्रका आमा समूह छन् । कुनै दुई चार पैसो जम्मा गर्ने समूह छन् । कुनै भने गजबका आमा समूह छन्, जसले समाज सुधारमा महत्वपूर्ण योगदान दिएका छन् । त्यस्तै आमा समूह हुन्, म्याग्दीको दोवा गाविसका । दोवा यस्तो अनौठो गाउँ हो, जुन गाउँमा ९ वटै वडा छन् । यो एउटै गाविस अनि एउटै गाउँ पनि हो ।

आमा समूह गठन नहुँदासम्म दोवा गाविसका प्रत्येक वडामा जाँड रक्सी खाएर होल्ला गर्नेको जमातले हैरान बनाउँथ्यो । मगर गाउँ भएकाले प्रायःसबै घरमा जाँड रक्सी पाईन्थ्यो । युवाहरु त रक्सीले मातेर धाँधली गर्ने नै भए, त्यो भन्दा अझ डरलाग्दो प्राय घरमा पती–पत्नीबिच दैनिक किचलो हुन्थ्यो । एउटै गाउँमा बस्ने युवाहरु आपसमा कुटाकुट गरेर बोली बारबारको अवस्थामा हुन्थे । यस्तै घटनाले दिक्क भएका दोवाका महिलाहरुको बुद्धि फि¥यो । दोवा गाविसका ९ वटै वडामा विभिन्न आमा समूह गठन गरेर उनीहरु जाँड रक्सी बन्द गर्ने अभियानमा लागे ।

केही वर्षअघिदेखी जाँड रक्सी बन्देज लगाएका आमाहरुकै अगुवाईमा अहिले गाउँ पूरै परिवर्तन भएको छ । पहिलेजस्तो जाँडरक्सी खाएर बाटोघाटोमा झैझगडा गर्नेहरु सुध्रिएका छन् । जाँड रक्सी खाँदाको फजुल समय उनीहरुले घरव्यवहारमा लगाउने गरेका छन् । पारिवारिक कलह भईरहने घरमा सौहार्दपूर्ण वातवरण बनेको छ । ‘पहिले त यहाँ दिनकै झगडा हुन्थ्यो, जाड रक्सी खाएर हल्ला गर्ने युवाहरु हुलका हुल हुन्थे’ मिलीजुली आमा समूहकी सदस्य देवकुमारी पुन भन्छिन्–‘आमा समूहले जाड रक्सी बन्द गराएपछि आनन्द भएको छ ।’

आमा समूह नबन्दै दोवाका प्राय घरहरुमा जाड रक्सी पाईने भए पनि अहिले पाउन मुस्किल हुने र दोवाका पसलहरुमा पनि रक्सी नपाइने देवकुमारीले सुनाईन् । ९० प्रतिशतभन्दा बढी मगरको बसोबास रहेको दोवा म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरपूर्वमा रहेको छ । जहाँ होमस्टे पनि संचालनमा आएको छ । मगरका अलावा थोरै संख्यामा क्षेत्री, ब्राह्मण, कामी र दमाईको बसोबास रहेको दोवामा झण्डै साढे तीन सय घरधुरी छन् ।

जाडरक्सी बन्द गरेर यो गाउँ (गाविस) परिवर्तन भएकोमा यहाँका आमाहरु दंग छन् । ‘हामीले यति धेरै सुध्रिन्छ भन्ने त सोच्या थेनौ, तर गाउँका मानिस धेरै सुध्रिएका छन्’ दोवा–४ मा रहेको हातेमालो आमा समूहकी कोषाध्यक्ष धनकुमारी पूर्जा भन्छिन्–‘सबैभन्दा फाईदा युवालाई भएको छ, उनीहरुले अहिले झगडा कहिल्यै गर्दैनन् । रक्सी खाएर मात्तिनेहरु अरु काममा लागेका छन् ।’ कोषाध्यक्ष पूर्जाले रक्सी खाने र बेच्नेलाई तीन हजार जरिवाना गर्ने निर्णय गरेपछि कसैले पनि यस्तो काम नगरेको सुनाउँदै भन्छिन्–‘कहिलेकाही बाहिरको मान्छे आएर रक्सी खान खोज्छ, हामीले गरेको कामको जानकारी दिएपछि उनीहरुले राम्रो काम गरेको रैछ भन्दा झन् खुसी लाग्छ ।’

दोवा– ५ की टौमाया पुनले पनि आमा समूह गठन भएपछि आफ्नो गाउँमा जाडरक्सी पूर्ण रुपमा बन्द भएको सुनाईन् । ‘मगर सँस्कृतिमा रक्सी नभई हुन्न, त्यही भएर चाडपर्व र मेला मौकामा छुट छ’उनी भन्छिन्,‘रक्सी बन्द भएपछि श्रीमान–श्रीमतीबिच हुने झगडा बन्द भएको छ, सबैभन्दा खुसी यसैमा लाग्छ ।’ उनीहरुले २०६७ माघ १५ गते आमा समूहलाई विधिवत रुपमा म्याग्दी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका थिए । आमा सूहले जाड रक्सी बन्द गर्नुका साथ साथै गाउँ घरमा सरसफाई अभियान पनि ल्याएको छ । त्यस्तै घर–घरमा सुधारिएको चुह्लोको प्रयोग समेत भएको छ ।

आमा समूहको कामलाई स्थानीय मनिबराही युवा क्लबले पनि सहयोग गर्दै आएको छ । ‘आमा समूहले गरेको राम्रो कामलाई हामीले पूर्ण रुपमा सहयोग र समर्थन गरेका छौं’ क्लबका अध्यक्ष कमल पुन भन्छन्–‘आमाहरुले गर्दा अहिले गाउँमा धेरै परिवर्तन भएको छ, युवाहरु पनि सुध्रिएका छन् भने बाबा पार्टीले जाड रक्सी खान कन्ट्रोल गरेका छन् ।’

फोटो क्याप्सन – म्याग्दीको दोवा गाउँ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %