देब पचभैया
पाल्पा जिल्लाका माध्यमिक तहका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तर सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले आफुहरुले महिनामा २५ दिन नै कक्षा सञ्चालन गर्ने र त्यो भन्दा कम पढाएकालाई पढाएकै नमान्नेसमेत बताएका छन् ।
शिक्षामा गुणस्तर विकासकालागि जीवन र कार्य सम्पादन रुपान्तरण प्रशिक्षणमा सकारात्मक सोँचका अभियान्ता नर बहादुर कार्कीले सहजिकरण गरेको कार्यक्रममा सहभागी भएका प्रधानाध्यापकहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले आगामी दिनमा व्यवहारमै पाल्पा जिल्लाको शिक्षाको गुणस्तर बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक र केही विद्यालय व्यवस्थापन समितिका अध्यक्षकोसमेत सहभागीता रहेको कार्यक्रममा प्रशिक्षक एवं अभियान्ता कार्कीले दुई दिनसम्म प्रशिक्षण दिएका थिए । अहिलेको अवस्थामा परिवर्तन ल्याउन नसक्ने हो भने दुई दिनसम्म गरेको मेहनत खेर जाने बताए ।
जिल्ला शिक्षा कार्यालयको संयोजन र अनौपचारिक शिक्षा समितिको आयोजनाका दुई दिने प्रविधि प्रशिक्षण तालिम तानसेनमा आयोजना गरिएको हो ।
महेन्द्र वोधि उच्च मा वि तानसेनकी प्रधानाध्यापक सुशीला श्रेष्ठले यस्तो तालिमलाई जिवन परिवर्तन गर्ने मौका मिलेको र आफ्नो काममा दत्तचित्त भएर लाग्न प्रेरणा मिल्ने बताइन । दरैठाँटी उच्च मा वि रामपुरका प्रधानाध्यापक सुन्दर देवकोटाले भोलिका दिनमा देखिने शिक्षाको प्रतिफल नै अहिलेको तालिमको उपलब्धि हुने बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक कार्कीले व्यवहारिक जिवनलाई सकारात्म बनाएर कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुलाई प्रशिक्षण दिएका थिए । अहिलेसम्मको उपलब्धि भन्दा पनि भोलिका दिनमा यस जिल्लाले पाउने शिक्षाको क्षेत्रमा देखिने परिवर्तनलाई आत्मसात गर्नुपर्ने बताए ।
जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले शिक्षामा गुणस्तर विकास गर्ने मात्र नभई जिवनलाई उपयोगी सिप सिकाउन यस्तो कार्यक्रमले महतवपूर्ण भूमिका खेल्ने बताए । शुक्रबार र शनिबार चल्ने कार्यक्रममा जिल्लाभरका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । यस्तै, नजिकका विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल, शिक्षाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, सञ्चारकर्मीको समेत सहभागिताले शिक्षाको गुणस्तर सुधार्न सहयोग पुग्ने शाखा अधिकृत मणी खनालले बताए ।
