देब पचभैया
पाल्पा, मङ्सिर २२ गते
अबैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेकी एक सुत्केरी आमालाई प्रहरीले पक्राउ गरेको छ ।
पुर्बी पाल्पाको सिलुवा–६, श्रीडाँडाकी १९ वर्षकी श्रीकला श्रेष्ठलाई शिशुलाई जन्म दिएर मारेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
अबैध सम्बन्धबाट जन्मिएको शिशु (स्त्री) लाई मारेर घर नजिकै झ्याङ्मा फालेको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक सुमन कुमार तिमिल्सनाले जानकारी दिए । सुत्केरीले शिशुलाई शनिबार साँझ ८ बजे जन्म दिएर घरदेखि २ सय मिटर परको झ्याङ्मा फालेपछि रातभरमा शिशुको समेत मृत्यु भएको जानकारी दिए ।
श्रीमान् बिदेशमा भएको बेला परपुरुषसँग सम्बन्धले उनी गर्भवती भएको स्रोतले जनाएको छ । उनीसँग सम्बन्ध राखेका पुरुष समेत बिदेशमा रहेको अनुसन्धानबाट खुलेको प्रहरी नायव निरीक्षक मोती खड्काले जानकारी दिए । ती महिलाले जन्म दिएको शिशु स्वस्थ रहेको अनुसन्धानका क्रममा खुलेको छ । यस्तै प्रहरीले सुत्केरीको स्याहार गर्न तीन जना महिला प्रहरी खटाएको छ । सुत्केरी भएको तीन दिन भएकाले उनको स्वास्थ्यको हेरचाह गर्न महिला प्रहरी खटाएको तिमिल्सिनाले जानकारी दिए ।
