लाहुरेलाई देश बोक्नुको पिडा किन ?

Read Time:10 Minute, 43 Second

बिजय हितान  

-बिश्वास दीप तिगेला प्रवासमा साहित्यको सेवा गर्दै आएका एक स्रष्टा हुन । उनले सेवामै रहँदा विश्वका थुप्रै मुलुक तालिम, अभ्यास र लडाईंको क्रममा भ्रमण गरेका छन ।

 

अरु लाहुरेहरु आफुसँग पोचेस, बर्गन र राइफल मात्र बोकेर जान्छन । तर तिगेला कलम पनि बोकेर गएको पाइन्छ । गाउँघर छोडेर बिदेसिनासाथ आफ्नो देशको माया कती आउँछ भनी लाहुरेलाई सोध्दा हुन्छ । होइन भने खाडी मुलुक र सुदुर पुर्बी देशमा श्रमिक बनेर गएका नेपालीलाई सोधेपनि हुन्छ । देशसँगको बिछोडको पिडा मायालुसँग छुटिदाको भन्दा कम हुँदैन । धेरैले यस्ता पीडा भोग्छन अनी बिर्सिन्छन । तर तिगेलाले आफुले अनुभूत गरेको पीडा नेपालीमाझ बाँड्ने काम गरेका छन् । लाहुरे साहै उदार हुन्छन् । रगत र पसिना खर्चेर कमाएको दुईचार डलरले किनेको उपहार छुट्टीमा जाँदा गाउँघर भरिकालाई बाँड्दछन । तिगेलाले भने सम्पूर्ण नेपालीलाई आफ्नो पीडाबोधको सँगालो ‘देश बोक्नुको पीडा’ उपहार बाँडेका छन ।

पुस्तकमा बेलायत, कोसभो, ब्रुनाई, मलेसिया, केन्या, बेलिज इत्यादी देशमा घुम्दा आफुले भोगेका अनुभवहरु ९ वटा लेख मार्फत सरल र सान्दर्भिक पारामा अभिब्यक्त गरेका छन् । म स्वयं पनि लेखक जस्तै लाहुरे भएको नाताले केही मुलुकका अनुभव बटुलेको छु । उनले जस्तै नियात्रा प्रकाशन गर्न नसके पनि यो समिक्षा लेख्न पाउँदा आफ्नै पीडा पाठकमाझ पस्केजस्तो भान भईरहेको छ । त्यसैले के भन्न मन लाग्यो भने नेपालमा बस्ने नेपालीलाई एक गुणा देशको माया हुन्छ भने प्रवासी नेपालीलाई दुई गुणा लागिरहेको हुन्छ । तर एक लाहुरेलाई भने देशको माया चौगुणा हुन्छ ।

समाजसेवी साहित्यकार लाहुरे स्रष्टा तिगेलाद्वारा लिखित यस नियात्रा  पढेपछी स्वदेसमै बस्ने एक नेपालीलाई पिडाबोध त गराउँछ नै ।  प्रबासी नेपालीलाई अझै यसले सम्बेदनशिल तुल्याउँछ । नेपाल आँफैमा यती सुन्दर शान्त बिशाल हुँदाहुँदै पनि संसारका अन्य देशहरु जस्तै किन विकसित हुन नसकेको होला भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा लेखकले पोखेको दुखेसो नै यस पुस्तकको सार हो ।

नेपालका आदिवासीहरुको लेखन बिद्यामा संलग्नता अझै नगन्य छ । भरखरै मात्र औंलामा गन्न सकिने लेखकहरु उदाउन थालेका छन । लाहुरे वर्गमा कलम चलाउनेको संख्या त झन थोरै छ । त्यसैले होला लाहुरेका सृजनाहरु प्रायजसो पातला आकारका हुन्छन् । नेपाली मुलधारे कृतिहरु भने हातैमा नअट्नेगरी रामायणजस्ता मोटा हुन्छन । यस पुस्तक पनि समग्रमा जम्मा ८३ पृष्ठको छ । त्यस हिसाबले यो पुस्तक हलुग्ङो छ तर मलाई लाग्छ यसले गरुङ्गा बिचार बोकेका छन् ।

मैले अरुका केही नियात्राहरु पनि पढेको छु । कुनै नियात्रा एउटा रेल चढेर देशको एक छेउबाट अर्को छेउमा आइपुग्दा सिद्दिन्छ । कुनै घर छोडेर हावाइ यात्रा गरेर घर फर्किदा सम्मलाई समेटिइएको हुन्छ । कुनै भने एउटा विन्दुबाट सुरुभई गन्तब्य स्थानमा आइपुग्दा सिद्धिन्छ । तर यस नियात्रा भित्रका कथाहरु जिरेखुर्सानी जस्ता छोटा र चट्के छन । प्रसस्तै विविधता बोकेका छन । पढदै गर्दा कहिले ब्रुनाईको चारकोशे जङ्गल त कहिले मलेसियाको भिमकाय गुफामा पुगिन्छ । कहिले कोसभोको जातिय द्वन्दग्रस्त क्षेत्रमा त कहिले बेलायतको ग्रिष्मकालिन पहेँलपुर फाँटहरुमा पुगिन्छ । पढन सुरु गरेपछी एकै स्वासमा भ्याउन हतार लाग्छ । त्यसरी नै यस पुस्तकले पाठकलाई कहिले मेक्सिको र बेलिजको सिमारेखामा उभ्याउँछ त कहिले केन्याको भूमध्य रेखामा जिराफै जिराफ माझ उभ्याउँछ । भनौं न क्षणिक समयावधिमा एसिया, युरोप, दक्षिण अमेरिका र अफ्रिका जस्ता चार महादिपको अनुभव पाईन्छ । पढ्ने क्रममा लाग्छ पाठक स्वयं विश्व यात्रामा निस्केका छन ।

तर यस पुस्तकको मुल बिशेषता पृष्ठपृष्ठमा पाठकलाई नेपाल झक्झकाउनु हो । तिगेला जहाँजहाँं पुग्छन ‘मेरो देस पनि त्यस्तै भई दिएको भए!’ भन्ने एक किसिमको पीडाले उनलाई सताएको हुन्छ । लेखक चाहे रेलगाडीमा गुडेका हुन या हावाइजहाजमा उडेका, चाहे डुंगामा चढेका हुन या ल्याडरोभरमा, जहिले पनि नेपालको सडक र गोरेटोमा सवार गरेको याद गर्छन । रिसोर्टको न्यानो ओछ्यानमा या त्रिपाल मुनीको क्याम्पबेडमा सुतेका किन नहुन, प्रत्येक क्षण लेखक गुन्द्रो र भुल्लामा सुतेको सम्झेका हुन्छन । पाँचतारे होटेलका अम्लेट, पाउरोटी र कफीसितको खाजा या कम्फु रासनको पोकोको चिया बिस्कुट सितको खाजा खाँदा होस हरेकपल भुटेको मकै र कोदोको रोटी गोरससँग खाएको कहिल्लै भुल्दैनन । आफूले यि विलासिताका सामग्री उपभोग गर्दैगर्दा किन नेपाली यस्ता कुराबाट बंचित भैरहेछन, यसको समाधानको बाटो के र कैले भन्दै लेखक बेलाबखत निरुत्साहित पनि बनि रहेको पाइन्छ ।

तिगेलाको अर्को उल्लेखनिय कार्य भनेको पल्टनघरमा बन्दुकमात्रै समातिने हातमा कलम चलाऊन प्रोत्साहन गरेको पाइन्छ । जुन कार्यलाई उनले यस पुस्तकमा समेटेका छन । पर्बते मासिक पत्रिकामा गोर्खा सैनिक र तिनका परिवारका बेदनाहरु बेलाबेलामा प्रकाशित हुदै आएको भएतापनि संस्थागत रुपमा साहित्यिक विकासको शुरुवात भने भएको थिएन । साहित्यिक गतिबिधिलाई प्रोत्साहन नगरिने प्रथाको हरियो पर्खाललाई भत्काउँदै सन् १९९८ बाट ‘प्रवासी बेदनाका आवाजहरु’ साहित्यिक पत्रिका तिगेलाकै नेतृत्वमा शुरुवात भएको जान्न सकिन्छ । पत्रिका प्रकाशन संगै साहित्यको बारेमा सामुहिक छलफल गर्ने बढाउदै लगे र सन् २००१ मा समुहगत सक्रियतामा ‘प्रबासी नेपाली साहित्य समाज’ स्थापना भएको स्पष्ट जानकारी पाइन्छ । यस कार्यप्रति उपल्लो दर्जाका अधिकृतहरुलाई रिझाएर सहयोग जुटाउने तिगेलाको कार्य पनि सह्रानिय पाइन्छ ।

सन् २००७ मा प्रकाशित ‘देश बोक्नुको पीडा’ त्यो बेला जती सान्दर्भिक थियो, अहिले पनि त्यति नै समयसापेक्ष भएको मैले पाएँ । किनकी हाम्रो देश उतिबेला पिलपिल आसुँ मात्र झार्दै थियो । अहिले त देश झनै डाँको हालीहाली रोइरहेको छ । एक नागरिकले देश त्यतिबेला काँधमा बोकेर हिंडेको हुन्छ जबजब देश रोइरहेको हुन्छ । एक प्रवासीले त हरपल छातीमा, शिरमा उचालेर बाँचेको हुन्छ देश । जबसम्म रुढिबादी, कुरिति, भ्रष्टचार, चाप्लुसी, नातावाद र कृपाबादको जालोलाई पन्छाएर नेपाल आधुनिक बिकासमा प्रवेश गर्दैन तबसम्म यो पुस्तक सान्दर्भिक रहनेछ । त्यसो त नेपालमा अहिले आर्थिक समृद्धि भित्रिहाल्ने सङ्केत देखिन्दैन तथापी यो पुस्तकको महत्व भबिश्य सम्म रहिरहने छ ।

भविश्यमा गोर्खा भर्ती निरन्तर होला नहोला । त्यतिबेला ईतिहास खोतलिएला । त्यो बेला कसैले यो पुस्तक भेट्यो भने भन्नेछन् गोर्खाली नेपालीले संसारै खाएका थिएछन । हाम्रा पुर्खाहरु विश्वयुद्दका बेला बर्मा, मध्यपूर्ब, उत्तर अफ्रिका र युरोपमा गएर लडे तर कसैले आफ्नै कलमले युद्दगाथा लेखेन्न र अहिले पनि इतिहासको ठूलो पाटो बाँकी रहे झै यो पुस्तकले हुनदिने छैन । त्यसैले यो पुस्तक भबिश्यका हाम्रा सन्ततिलाई अतिनै मूल्यवान हुनेछ भन्नेमा विश्वस्त छु । त्यसैले यो पुस्तक पठनीय र संग्रहणिय निर्विवाद छ ।

हिटान बेलायतमा कार्यरत बौद्दिक लेखक हुन 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %