सोनु थापा मगर
बुटवल ,कार्तिक २५ – संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका केन्द्रिय महासचिव केशव सूर्यवंशीले आफ्नो पार्टी दाङलाई केन्द्रीय राजधानी बनाउने अवधारणा सहित अगाडि बढेको बताएका छन।
पार्टीको थरुहट लुम्विनी स्वायत्त परिषद्ले गत शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव सूर्यवंशीले यस्तो बताएका हुन । सबै आधारबाट दाङ केन्द्रीय राजधानी बन्न लायक रहेको उनको भनाइ छ । उनले अहिलेको राजनीतिक समस्याको समाधान ताजा जनादेशमार्फत् हुनुपर्ने बताए । देश आत्मनिर्भर बन्न नसक्दा अभावको सृजना भइरहेको भन्दै परनिर्भरको अन्त्यका लागि देशकै स्रोत साधनलाई प्रयोगमा ल्याउनुपर्ने बिचार सूर्यबंशीले व्यक्त गरे ।
पार्टीका उपाध्यक्ष रबिन्द्र उच्च नेपालीको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न गरेको थियो । यसैबीच संघीय गणतान्त्रिक जनमुक्ति पार्टी थरुहट– लुम्बिनी राज्य परिषदको आयोजनामा “अगुवा कार्यकर्ता भेला“ कार्तिक २० गते दाङको घोराहीमा सम्पन्न भयो । उक्त भेलामा पार्टीका महासचिव केशव सुर्यबंशीले बर्तमान राजनीतिक परिबेशमा पार्टीले लिएको धारणा र कार्यनीति स्पष्ट पारेका थिए ।
भेलामा लुम्बिनी – थरुहट र खप्तड–सैपाल राज्य अन्तर्गतका जिल्ला पदाधिकारीहरु,भातृ संगठनका जिल्ला अध्यक्षहरु,क्षेत्रीय अध्यक्षहरु र नगरका अध्यक्षहरुको सहभागिता रहेको थियो । पार्टी उपाध्यक्ष रबिन्द्र उच्च नेपालीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा केन्द्रीय प्रशिक्षण बिभाग प्रमुख रत्न राना,उपमहासचिव टोप अस्लामी र संघीय परिषद सदस्यहरु हरिदेव थापा,सुर्य कुमार सारु,कमला थापा,मोहन सारु लगायतले आफ्ना धारणाहरु राखेका थिए ।
कार्यक्रमको संचालन तिल बहादुर झेडीले गरेका थिए । त्यस्तै सोमबार राष्ट्रिय युवा मोर्चा केन्द्रीय समितिको आयोजनामा नेवाः प्रदेशमा सचेतना तथा भण्डाफोर कार्यक्रम सम्पन्न भएको मोर्चाका अध्यक्ष बोम दर्लामी मगरले जानकारी दिए ।
