रूद्र श्रीसमगर
पोखरा, १५ कात्तिक – संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका सहअध्यक्ष परशुराम तामाङले आदिवासी जनजातिलगायतका उत्पीडित समुदायको पहिचान नमाने अहिलेको संविधान पनि नमान्ने चेतावनी दिएका छन ।
पार्टीको तमुवान र मगरात राज्य परिषद्ले संयुक्त रूपमा आज पोखरामा आयोजना गरेको प्रादेशिक भण्डाफोर कार्यक्रममा बोल्दै सहअध्यक्ष तामाङले नयाँ संविधान आदिवासी जनजातिलगायतका उत्पीडित समुदायको पक्षमा नभएको जिकिर गरे ।
आदिवासी जनजाति समुदायलाई स्वायत्त प्रदेश र स्वायत्त क्षेत्रको व्यवस्था नगरी हचुवाका भरमा सिमाङ्कन गरिएको भन्दै तामाङले उत्पीडित जनताको पक्षमा नभएको संविधान मान्नु जरुरी नभएको बताए । सडक संघर्षबाटै आदिवासी जनजाति, मधेशी, दलितलगायतका उत्पीडित समुदायको अधिकार स्थापित गर्ने दाबी गर्दै तामाङले आदिवासी मगर र थारू समुदायलाई प्रादेशिक रूपमा विभाजन गरिएकोप्रति आपत्ति प्रकट गरे ।
पोखराको मानवअधिकारचोकमा भएको सभामा पार्टीको संघीय परिषद्का उपाध्यक्ष अमरध्वज लामा, उपाध्यक्ष एवं मगरात राज्य परिषद्का इञ्चार्ज हस्तबहादुर थापा, उपाध्यक्ष एवं तमुवान राज्य परिषद्का इञ्चार्ज मानध्वज गुरुङ, तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष बम दर्लामी, नेपाल मगर संघ तनहुँका अध्यक्ष झकबहादुर सारू, संघीय परिषद् सदस्य पुरनध्वज गुरुङ, पार्टीका तनहुँ जिल्ला अध्यक्ष मन्धरी आले, कास्की जिल्ला अध्यक्ष ओमबहादुर श्रीस, तमुवानका अगुवा देवबहादुर गुरुङलगायतले बोलेका थिए।
मगरात राज्य परिषद्का अध्यक्ष इन्द्रबहादुर मास्कीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव टकबहादुर वीरकट्टाले सञ्चालन र उपाध्यक्ष नरबहादुर ठाडाले स्वागत गरेका थिए।
