रूद्र श्रीसमगर
पोखरा, १३ कात्तिक अज्ञात रोगबाट थलिएकी सञ्चारकर्मी प्रवीणा गोले ‘नमुना’को उपचारका लागि तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य एवं हङकङ अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को पहलमा संकलित ४२ हजार ५१ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
मिलन फाउण्डेशन नेपालका संरक्षक एवं बाजुङ–भौगोलिक तथा सांस्कृतिक वृत्तचित्रका कार्यकारी निर्माता हाल हङकङ निवासी समाजसेवी गुरुङले आफ्नो व्यक्तिगत ५ हजार र बाँकी मोर्चाका सदस्यहरूसँग संकलन गरेका थिए । गुरुङले पठाएको सहयोग रकम उनकी सुपुत्री दिपिका थापा ‘मिलन’ले प्रवीणा गोले ‘नमुना’ उपचार सहयोग अभियानका संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका सचिव रोशनी गुरुङ र उपाध्यक्ष रूद्रबहादुर श्रीसमगरलाई हस्तान्तरण गरेका थिए ।
सञ्चारकर्मी नमुनाका लागि रकम सहयोग गर्नेहरूमा मोर्चा अध्यक्ष गुरुङसहित मनप्रसाद गुरुङ, पदम गुरुङ, बाबु लाल, तुलजङ्ग गुरुङ, ललित सुब्बा, बेलबहादुर गुरुङ, युवराज गुरुङ, अर्जुनकुमार राना, जजिन चाम्लिङ, रविन लिङ्देन र जेबी रहेका छन ।
हङकङबाट प्राप्त रकम नमुनाको नबिल बैंकमा रहेको खातामा जम्मा गरिएको संयोजक गुरुङले जानकारी दिए । हाल काठमाण्डौमा रहेकी नमुनाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै आएको र पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न अझै केही समय लाग्ने बताइएको छ ।
नमूनाको उचारमा सहयोग गर्नका लागि पोखराबाट सुरु भएको अभियानले फोनिज कास्की तथा केन्द्रीय समिति एवं तामाङ सञ्चार समूहलगायत विभिन्न संघ संस्था र व्यक्तिगत रूपमा देश विदेशमा तीव्रता पाएपछि अभियानबाट नमुनालाई ९ लाख भन्दा बढी सहयोग रकम प्राप्त भइसकेको छ ।
