प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १० कात्तिक । भारतको अघोषित नाकावन्दीको कारण पोखरा लगायत देशभर यतिबेला इन्धनको अभाव भइरहेको छ । सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत गएर फर्किए पछि पनि भारतबाट इन्धन आपुर्तिमा सहजताको वातावरण नबनेपछि सरकार यतिबेला चिन तर्फ फर्किएको छ ।
यस्तै चिन सरकारले पनि नेपाललाई चाहिने अत्यावश्यक इन्धन आपुर्ति गर्ने प्रतिवद्धता जनाएको छ । सरकारका आपुर्तिमन्त्री गणेशमान पुनले तिहारमा इन्धन आपुर्ति सहज गराउने प्रतिबद्धता र चिनको आश्वासनले नेपालीमा आसाको त्यान्द्रो बाँकी रहेको छ ।
पोखरामा इन्धन आउने सम्भावना कम
इन्धन अभावमा समस्या झेलीरहेका नेपालीको दैनिकी दिन प्रतिदिन कष्ठकर बन्दै गएको छ । पोखरामा इन्धन अभावका कारण पेशा व्यवसाय गर्ने देखि लिएर सबै क्षेत्रका सर्वसाधारणलाई प्रभाव पारेको छ यति हुदाहुदै पनि पोखरामा इन्धनको सहज आपुर्ति हुने सम्भावना अझै कम रहेको छ ।
गण्डकी र धौलागिरीमा तेल ल्याउने नाका विरगञ्ज हो । अन्य नाकाबाट केही इन्धनका ट्यांकर नेपाल भित्रिए पनि विरगञ्ज नाका अझै ठप्प जस्तै छ । भारतबाट रि–रुट गर्न केन्द्र स्तरको निर्णय हुनुपर्ने भएकाले अन्य नाकाबाट इन्धन आउने सम्भावना कम छ भने नेपाल भित्रीएपछि पनि रि–रुट गर्न व्यवसायीहरुको सहमति र आयल निगमको निणर्य हुनुपर्ने भएकाले सम्भावना कम भएको जिल्ला प्रशासन कार्यलय कास्कीका प्रमूख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताउनुभयो ।
यद्यपी सोमबार बेलहिया नाकाबाट नेपाल भित्रिएका २१ वटा इन्धनका ट्यांकर मध्ये ६ ट्यांकर पोखरा ल्याउने पहल भइरहेको राउतले बताउनुभयो ।
कालोबजारी र गुण्डागर्दी मौलायो
पोखरामा मंगलबार सम्म तेल नबाँढेको ९ दिन भयो । इन्धन अभाव भइरहेको बताइएपनि पोखराको सडकमा आजकल सवारी चाप लगभग पहिलाको जस्तै देख्न सकिन्छ । यसले पनि के प्रष्ठ हुन्छ भने पोखरामा इन्धनको अतिनै कालोबजारी भइरहेको छ । अत्यावश्यक एम्बुलेन्सलाई पनि पोखरामा तेल दिइएको छैन भने अब निजि गाडी र मोटरसाइकललाई पनि वितरण नगर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताउनु भयो । यता प्रशासनले तेल नभएर बाढ्न नसकेको बताइरहेको छ, उता सार्वजनीक सवारी साधनमा ब्ल्याकमा तेल किनेर गाडी चलाएको भन्दै चर्को भाडा असुलेका छन् । चाडबाडको कारण सर्वसाधारण जति भन्यो त्यति नै तिरेर यात्रा गर्न बाध्य छन् । कालोबजारी मौलाएको छ भन्ने जानाजान पनि कास्कीको प्रशासन मुक दर्शक बनिरहेको छ । कास्कीका प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर राउत आफ्नो संयन्त्रले कालोबजारी रोक्न नसकेको बताउदै नागरीक समाजलाई कालोबजारी गर्नेहरुलाई प्रशासन समक्ष ल्याउन भनिरहदा कास्कीको प्रशासन के गरीरहेको छ भन्ने प्रष्ठ हुन्छ ।
रातीमा तेल बाँढ्दा गुण्डागर्दी मौलायो
सडकमा यात्रा गर्दा करीब २ किलोमिटर टाढाबाट अब पेट्रोल पम्प यतै नजिक छ भन्ने ठम्याउन गाह्रो पर्दैन किनकी लाइनमा राखेका सवारी साधन इन्धनको लागि नै राखिएका हुन्छन् । पोखरामा इन्धन आएको थाहा पाउने बित्तीकै सावरी साधन लाइनमा राखिन्छ तर तेल लगभग राती भएपछि मात्रै बाढीन्छ । किन तेल सँधै रातीमा बाढीन्छ ?
इन्धनको माग भएपछि निगममा रकम डिपोजीट गर्नुपर्छ । इन्धन आएर वितरण गर्ने समयसम्म कालोबजारी गर्नेहरु क्रियाशिल हुन्छन् । इन्धन वितरण गर्न बिहानै निर्णय भएपनि विभिन्न बाहानामा तेल वितरण गर्ने बेला अन्तीममा रात नै पर्छ । इन्धन अभावको यस्तो अवस्थामा रातीनै इन्धन वितरण गरीनुले एकातिर जसको शक्ति उसैको भक्ति भइरहेको छ भने अर्कोतिर मानवअधिकार उल्लंघन भइरहेको छ । इन्धनको लागि रातमा लाइनमा बसेका महिला र युवतिहरु आफुहरु असुरक्षीत भएको गुनासो गर्ने गर्दछन् ।
रातीमा लाइन मिच्ने, महिलाहरुलाई अनाबश्यक रुपमा जिस्क्याउने र निहु खोज्ने काम हुने गरेको जील्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी हरी बहादुर पालले पनि स्वीकार्नुभयो । उहाँले दिउसोमा इन्धन वितरण गर्ने विषयमा छलफल गर्ने बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी राउतले पनि रातीमा इन्धन वितरण गर्दा जोखिम बढेको भन्दै दिउसो इन्धन वितरण गर्न पहल गर्ने आश्वासन दिनुभयो ।
