बलदीप प्रभाश्वर चामलिङ
एक पक्ष मानिसहरू भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको हो भनेर विरोधमा कस्सिएका छन् । तर, न भारतले नेपालमाथि नाकाबन्दी लगाएको भनेर औपचारिक रूपमा घोषणा गरेको छ न त नेपाल सरकारले नै आधिकारिक रूपमा त्यसको पुष्टि नै गरेका छन् । वर्तमान परिस्थितिलाई दुवै देशको सरकारले नाकाबन्दी भन्न नसकेता पनि वास्तवमा नाकाबन्दी हुदा जुन असर जनताले भाग्नुपर्ने हुन्छ त्यो कुरा नेपालीले भोगिराखेका छन् ।
सरल रेखामा बुझ्न नहुने नाकाबन्दी
यो नाकाबन्दीलाई सरल रेखामा बुझ्ने कोशिस गरियो भने हाम्रो निष्कर्ष एकपक्षीय हुनजान्छ । यसमा विभिन्न स्वार्थ र वास्तविकता एकआपसमा झेलिएका छन् । नेपालका एक अमुक जातीय समुदायबाट सधै सत्ता चलाउनेहरूको संकीर्ण जातीय प्रवृति नै नेपालको प्रधान समस्या हो । त्यसमा अरू कारणहरू चाहिँ सहायक मात्र हो ।
हिजो ४६ सालमा भारतले नेपालमा नाकाबन्दी गर्दा त्यसको समर्थन गर्नेहरू अहिले सत्तामा छन् । कांग्रेस–कम्युनिष्ट नेताहरूले त्यो बेलाका नाकाबन्दीलाई स्वागत गरेका थिए किनभने भारतको नाकाबन्दीको कारण पञ्चायती राजतन्त्र ढल्न सक्छ र आफूहरू सत्तासीन हुन सकिन्छ भन्ने मानसिकता उनीहरूमा थियो । त्यो बेला चाहिँ उनीहरूले राष्ट्रियताको ख्याल गर्नु नपर्ने, तर अहिले मधेस आन्दोलनको कारण नाकाबन्दीको परिस्थिति उत्पन्न हुदाँ मधेसीहरूलाई राष्ट्रियता विरोधी देख्ने सोचाईमा पनि सिंहावलोकन गर्नुपर्ने नै हुन्छ ।
यति मात्र होइन, तत्कालिन राजा विरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस भन्ने प्रस्तावलाई भारतले अस्विकार गर्दा पनि कांग्रेस–कम्युनिष्ट पार्टीका नेतृत्वले भारतको सो कदमलाई मौन समर्थन गरेका थिए किनभने उनीहरूलाई भारतले एउटा कुराको चुक्ली लगाएका थिए । त्यो कुरा भनेको के हो भने, यदि नेपाल शान्ति क्षेत्र भएको घोषणा गर्ने हो भने पञ्चायत विरुद्ध कुनै पनि किसिमको आन्दोलन हुनसक्दैन र पञ्चायत शासन ढाल्न सशस्त्र क्रान्तिको पनि आवश्यकता पर्न जाने हुदा नेपाल शान्तिक्षेत्र भइसकेपछि त्यो गर्न असहज परिस्थिति आउन सक्छ भनेर भारतले पञ्चायत विरोधी कांग्रेस –कम्युनिष्टलाई फकाएका थिए र त्यसमा उनीहरू फकिएका पनि थिए ।
तर नेपाललाई शान्ति क्षेत्र घोषणा नगर्नुको भारतको स्वार्थ भने अर्कै थियो । यसरी हेर्दा सबैको स्वार्थ आ–आफ्नै देखिन आउछ । आफूले कुनै काम गर्दा सही हुने तर त्यही काम अर्कोले गरे बेठीक हुने भन्ने कुरा आफैमा विरोधाभाषपूर्ण छ । सबैले आफ्नो स्वर्थ अनुकूल परिस्थितिको व्याख्या र विश्लेषण गर्ने परिपाटीले नेपाली समाजमा विभाजन ल्याएको छ । अहिलेका सत्ताधारी कांग्रेस–कम्युनिष्टको राष्ट्रवाद हावादारी कुरा हो । यो मुलुकलाई यो अवस्थामा ल्याउने यिनै पार्टीहरू नै हुन् । गल्ली साफ नगर्ने तर झिंगा मार्न मात्र कष्ट गरिरहने सत्ताका बेवकुफहरूले समस्यालाई झन जटिलतातर्फ धकेली रहेका छन् । आफूले गरेको विभेद नदेख्ने तर समस्या मधेसीलाई देख्ने ओलीहरूका गैरजिम्मेवार अभिव्यक्ति र कर्मले यो देश बन्धक भएको छ ।
के मधेसी अराष्ट्रिय तत्व नै हुन् ?
कहिले काहिँ परिस्थिति यस्तो आउछ, जुन बेला आफ्नो अस्तित्व प्रधान रहन जान्छ । पहिले जीवनको अस्तित्व रहेपछि मात्र जीवनाको अर्थ पछि आउछ । कुनै समुदायको अस्तित्व नै पहिचान हो । त्यस्तो नभएपछि त्यो समुदायको के अर्थ, अभिजातहरूको भोट बैंक बनिदिनु बाहेक । हो, हिजो जसरी कांग्रेस–कम्युनिष्टका बदमासहरूले आफ्नो स्वार्थको लागि भारतको सल्लाह, सुझाव र आदेश माने, तर त्यो तरिकाले मधेसीहरूले आफ्नो हर्कत देखाएका छैनन् । उनीहरूले आन्दोलनको नियममा नै रहेर सरकारसंग वार्ता गर्न चाहेका थिए । सरकारले उनीहरूको माग सुन्नको साटो दर्जनौ मधेसीहरूको हत्या गरे । यो भए पछि उनीहरू भारतबाट भित्रनै नाकाहरूमा गएर बसिदिए । यहाँभन्दा अरू उनीहरूले के नै पो गर्नसक्थे । नेपाल भित्रने भारतीय नाका भनेको उनीहरूको करेसा र आगन हो । त्यहाँ नगएर कहाँ जाने ? के मधेसीहरू चाइनाको बोडरमा गएर सुतिदिएका छन् र ?
जे गर्नुपर्ने थियो त्यो मधेसीहरूले गरिदिए । तर यो परिस्थितिलाई भारतले “क्यास डाउन” गर्न खोजे । भारत मधेसीहरूको आन्दोलनमार्फत खेल्न खोजे । भारतले मधेसीहरूको माग बोलिदिए । आफू प्रताडित भइरहदा आफ्नो माग भारतले पनि बोलिदिदा स्वभाविक रूपमा उनीहरूमा राहत हुने नै भो । बाँच्नको लागि अन्तिम अवस्थामा कुनै दुस्मनले हात दिन्छ भने त्यो नस्वीकार्ने ? भएकै यति हो । मधेसीको कारण नेपालमा नाकाबन्दी भो भन्ने हो भने के नाका नेपालको भारतसंग मात्र हो र ? अर्को छिमेकी चीनसंग पनि त हाम्रो नाकाहरू छन् । चीनको नाकामा गएर त मधेसीहरूले छेकबार गरेका छैनन् नि । हिम्मत भए उत्तरको नाकाहरू खुल्ला छन् । त्यहीबाट भित्र न सक्छ आवस्यक सरदामहरू, नेपालीको लागि । विकल्प हुदाहुदै पनि उही भारतको नाका नै कुरी बस्नु भनेको मधेसीको भन्दा पनि अहिलेको सत्ताधारीहरूको नै भारत परस्त झुकाव भएको देखिन्छ । अराष्ट्रिय तत्व त यो देशका सत्ताधारी नै हो जो “दौरासुरुवाल” लगाएर भारतसंग राष्ट्रघाती सम्झौता गर्दछन् । तर मधेसीहरू उही “धोतीकुर्ता” लगाएरै भए पनि आफूलाई नेपाली नै भनिरहेका छन् ।
भारतीय आयात र हिन्दुसंस्कृति
भारतीय सभ्यता र संस्कृतिसंग आफ्नो सामिप्यता जोड्ने यो देशका सत्ताधारीहरूको लघुमनोविज्ञानको परिणाम अहिले नेपालीहरूले भोगिरहेका छन् । नेपालमा त्यस्तो मिथ्या बौद्धिक जमात छन् जो भारतीय नाकामा नै अश्रीत हुुनुपर्ने कुरामा जोड दिन्छ । र त्यो सल्लाह ओली र दाहालहरूलाई दिन्छन् । उनीहरूले पनि त्यो सल्लाह नमान्ने कुरै भएन । भारतीय आयात मै निर्भर रहनुपर्ने उनीहरूको जिकीरको कारण नै यतिका दिनसम्म नेपालीले इन्धन पाउन सकेका छैनन् । अन्य ठाउँबाट होइन, भारतबाट नै बस्तु ल्याउनुपर्ने उनीको स्वार्थ उनीहरूको हिन्दुजातीयतासंग जोडिएको छ ।
हुन पनि केपी ओली धोती र कुर्ता लगाइ विहार प्रवेश गरेर आफू अटल बिहारी वाजपेयीको वंश हुँ भनेर दाबी गरे त्यहाँको जनताले पत्याउछन् । उनी नेपाली नै हुन भनेर भारतीय जनताले छुट्याउन सक्दैन । दार्ही जुङ्गा पालेर प्रचण्ड र सुशीलहरू जोगीको भेषमा गुजरात पुगे उनीहरू नरेन्द्र मोदीकै दाजुभाइ कहलिन सक्छन् । यो हुदा उनीहरूलार्ई हरकुरामा सजिलो हुने नै भो । सन्धिसम्झौताहरू उही भारतीय भूमिमा नै भएका छन् ।
उनीहरू चीन होइन भारतमाथि नै निर्भर हुन चाहन्छन् । यदि भारतमा निर्भर नहुने हो भने हिन्दुसंस्कृति माथि नै आँच आउने उनीहरूको ठम्याई छ । हिन्दुसंस्कृतिमा चाहिने सिन्दुर, चुरा, पोते, सारी, चोला र कुर्ता सुरुवाल भारतबाटै आउने हो । डोरो, जनै र कात्रो पनि भारतबाट नै आउने हो । ओली र दाहालका श्रीमतिहरूले हेर्ने हिन्दुसंस्कृतिमा आधारित हिन्दी सिरियलहरू पनि उही भारतबाट भित्रने हुन् । पशुपतिको पुजारी पनि भारतकै नाकाबाट आउने हो । त्यो चिनबाट आउने होइन । आयात निर्यातमा वस्तुमात्र होइन, सभ्यता र संस्कृति पनि आदनप्रदान हुन्छ । चिनबाट भित्रने वस्तुले हिन्दुसंस्कृतिमाथि प्रहार गर्नसक्छ भन्ने मानसिकता यो देशका सत्ताधारीसंग छ । चिनसंग हिमचिम बढाउदा त्यहाँका नागरिकहरूको नेपालमा आवतजावत बढ्छन् र त्यस्तै मुखडा भएका यो देशका मान्छेहरूको सम्बन्ध भए अरू थप समस्या आउनसक्छन् भन्ने त्रास उनीहरूमा छ । चिनीया प्रधानमन्त्री चाउ एनलाई नेपाल आउदा अधिकांश आदिवासी जनजातिहरूको मुखाकृति हेरेर “नेपाल र चीनको जनता एउटै रगतका हुन्” भनेर भनेका थिए । तर त्यो बेलाका नेपालका शासकहरूले तत्काल चाउ एनलाईको भनाइलाई दिल्लीमा विरोध गर्न लागाएका थिए ।
अन्तमा
भारतलाई नेपाल सरकारको आन्द्राभुडि सबै थाहा छ । नेपाललाई लामै समयसम्म नाकाबन्दी लगाइरहने हो भने पनि नेपालले त्यस विरुद्धको विकल्प रोज्न सक्दैन भन्ने विश्वास भारतमा छ । उनले खुलेर नाकाबन्दी लगाएको कुरा नेपालको डरले होइन । यो त आफू अन्तर्राष्ट्रिय जगतमा नाङ्गिनुपर्ने भएकाले मात्र हो । तर नेपाल सरकारले खुलेर भारतले नाकाबन्दी लगाएको भन्न नसक्नुको कारण भारत चिढिएर अरू नोक्सानी होला भन्ने त्रास हो । सत्तामा जुन प्रवृति बोकाहरूलाई हामीले पठाएका छौ त्यही नै हाम्रो दुर्दशा हो । नेपाल सरकार एक सरकार जस्तो छैन । एक सरकारमा के गुण हुनुपर्ने हो त्यो गुण नेपाल सरकारमा छैन । एक सार्वभौम सरकारको अधिकार र कर्तव्य के हो भन्ने कुराको हेक्का नेपाल सरकारसंग छैन । असली सरकार निर्माण हुन त बाँकी नै छ । यो एक “नेपाल सरकार” नभएर भारतपरस्त “बाहुन कार्पोरेसन” हो ।