देब पचभैया
पाल्पा, कार्तिक ७
पाल्पामा प्रहरी हवल्दार दिल बहादुर पाण्डेले आत्महत्या गरेका छन् । जिल्ला कारागारमा कार्यरत पाण्डेले सुरक्षा पोष्टनिरै आफु संग रहेको थ्रीनट थ्री राईफलले हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिए । शनिबार बिहान साढे सात बजे सुरक्षा पोष्टमा खटिएका प्रहरी जवानलाई ट्वाईलेट जान पालो दिने क्रममा पाण्डेले आत्महत्या गरेको प्रहरीको भनाई छ । घाटीमा गोली हानेर आत्महत्या गरेको जिल्ला अस्पताल पाल्पाका डाक्टर झपेन्द्र ढकालले जानकारी दिए ।
दंगा प्रहरी कार्यालय बुटवलमा दरबन्दी भई १५ महिनाको लागी काजमा पाल्पा खटिएका पाण्डेले १४ बर्ष ८ महिना जागिर गरेका थिए । पेन्सन हुनको लागी १७ महिना मात्रै बाकी थियो । अर्घाखाचीको किमडाडा ९ आंपखोला घर भएका पाण्डे १५ दिन अघि मात्रै घर बिदामा गएका थिए ।
दशैमा टिका नभएकाले घर नगएको उनका साथीहरुले जानकारी दिएका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
