सोनु थापा मगर
बुटवल , असोज २६- आदिवासी जनजाति , मधेशी , मुस्लिम , थारु लगायत उत्पीडनमा परेका समुदायहरुले सामुहीक रुपमा आन्दोलन गर्ने भएका छन् ।
छुट्टाछट्टै आन्दोलन गर्दै आईरहेका थारुवान , मगरात , मुस्लिम लगायतले मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउदै संयुक्त आन्दोलन गर्ने बताएका हुन । (आज ) मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएकाहुन् ।
आन्दोलनलाई बलियो बनाउनको लागि आदिवासी जनजाति , मगरात , मधेसी ,मुस्लिम , थारुहट संयुक्त संघर्ष समिति रुपन्देही गठन गरिएको छ । संघर्ष समिति अध्यक्ष मण्डलका संयोजक दलबहादुर विरकट्टा थापा मगरले आदिवासी जनजाति , मधेशी , मुस्लिम लगायत सबैको माग र मुद्दाहरु समान रहेकालेसंयुक्तरुपमा आन्दोलन सुरु गर्न लागिएको बताए । संयोजक विरकट्टाले भने – राज्यले आदिवासी जनजाति , मधेशी लगायत अन्य जातिको नाममा सद्भाव भड्काउने षड्यन्त्र गरिरहेको समयमा यो संयुक्तसंघर्ष समितीले समुदायका बीचमा बढेको दुरी घटाउन पनि भुमिका खेल्ने छ भने घोषित आन्दोलनहरु शसक्त रुपमा अगाडी बढ्ने छन् । उनले हक र अधिकार स्थापितका लागि शान्तिपुर्ण रुपमा आन्दोलन गर्दा सरकारले नसुनेको बताउँदै अब शसक्तरुपमा वारपारको आन्दोलन चर्काउने बताए ।
नेपाल भारत सिमा मुख्य नाकामा केन्द्रित गर्ने गरी आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने संघर्ष समितिले जनाएको छ । जारी संविधानमा आदिवासी , जनजाति मधेशी लगायत सबैको माग सम्बोधन नभएको र सिमाङ्कनमा पनि जनजातिहरुको कलस्टरलाई टुक्रा–टुक्रा पारिएको , धर्मनिरपेक्षतालाई गलत ब्याख्या गरेर राखेको ,पहिचानलाई वेवास्ता गरेको , जनजातिसंग भएका आन्तरिक तथा अन्तराष्ट्रिय सन्धी सम्झौताहरु कार्यान्वयन नगरेको , नागरिकता र समानुपातिक समावेशी जस्ता विषयहरु संविधानमा प्रत्याभुत नगरेकाले पनि यो संविधान विभेदकारी भएको बताउँदै आफ्ना मुद्दाहरुको लागि अब सामुहिकरुपमा एकैठाउँमा मोर्चा बनाएर अन्तिम लडाँई गर्न लागिएको जानकारी दिए ।
भन्सार नाकामा धर्ना र कब्जा , मुख्य राजमार्ग बन्द , शान्ति र्याली , जनजागरणमुलक चोक–चोकमा कोण सभा गर्ने लगायतका कार्यक्रमहरु मोर्चाले तय गरेका छन् । दुई तिहाई जनसंख्याको असहमती र उनीहरुलाई पाखा लगायर ल्याएको संविधान कार्यन्वयन गर्न अप्ठेरो परिसकेको बताउदै अन्य नेताहरुले सरकारले अझै भूल सच्याँउनु पर्ने बताएका थिए ।
पत्रकार सम्मेलनमा अशोक वर्मा , कमल नारायण चौधरी ,गिता सारु , दिपक गुरुङ्ग , सरस्वती थारु , ज्ञानेन्द्र भुजेल ,सुर्जेलाल गुरुङ्ग लगायतका नेताहरुको सहभागिता रहेको थियो भने सञ्चालन दुर्गा थापाले गरेका थिए । यसअघी संयुक्तरुपमा मोर्चा बनाएर आन्दोलनलाई अगाडी बढाउनका लागि जनजातिका केन्द्रिय नेताहरु बुटवल आएका थिए ।
यसक्रममा उनीहरुले संयुक्त रुपमा आन्दोलनलाई अगाडी बढाउन सके उपलब्धिमुलक हुने बताएका थिए । अलग—अलग तरिकाले आन्दोलन गर्दा शासक वर्गले आन्दोलन गर्दा दवाउने गरेको भन्दैं उनीहरुले एउटै मोर्चाबाट आन्दोलन गर्दा शासकलाई घुँडा टेकाउन सजिलो हुने बताएका थिए । नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजाति,मधेशी,थरुहट र मगरांत आन्दोलनलाई साझा आन्दोलनको रुपमा अगाडि बढाउनुको विकल्प नभएको बताएका थिए ।
महासंघका पुर्व महासचिव आङकाजी शेर्पाले नेपाली शासकले भारतीय नाकाबन्दीको बाहाना बनाएर प्रतिगामी संविधान मान्न आदिवासी जनजातिलाई बाध्य पार्न खोजेको बताए । महासंघका उपाध्यक्ष डन्डु शेर्पा र मगरांत संयुक्त संघर्ष समितिका संयोजक बसन्त घर्तिमगरले आदिवासी जनजाति,मधेशी,मगर, थारु राज्यबाट उत्पीडनमा परेका समुदाय भएको भन्दै एउटै मोर्चा बनाएर संघर्षमा जानुपर्ने बताएका थिए ।
संयुक्त मधेशी संघर्ष समिति,रुपन्देहीका सचिव रामअवतार यादव, थारु कल्याणकारीणी सभा,रुपन्देहीका सचिव नरसिंह चौधरीले एकीकृत आन्दोलन नैं सरकारलाई घुँडा टेकाउंने विकल्प भएको बताएका थिए । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले तराई र पहाडको आन्दोलनसंगैं लैजानुपर्ने बताए ।
महासंघका अध्यक्ष शन्तराम चौधरीको अध्यक्षता,दुर्गा थापामगरको संचालनमा भएको छलफल कार्यक्रममा संघीय गणतान्त्रिक जनमुक्ति पार्टी , रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ्ग, महिला नेतृहरु गिता सारु , धनी आले , सरस्वति चौधरी , युवा नेताहरु श्रीधर राना,शंकर गाहा,डि.वि. थापा , संघीय प्रकाशन प्रालिका अध्यक्ष ज्ञानबहादुर थापा लगायतले बोलेका थिए ।
