मधेसी देशभक्त हुन् कि राष्ट्रवादी ?

बलदीप प्रभाश्वर चामलिङ

राज्यको आधिकारिक निकाय सरकारले नै भारतले नेपाललाई नाकाबन्दी नलगाएको भनेर स्पष्टोरोक्ती दिइरहदा भारतलाई अरू सहज भएको  छ । नाकाबन्दीको प्रत्यक्ष असर भोग्ने मुलुकले नै आफूहरूविरुद्ध कुनै नाकाबन्दी नभएको भनेर भनिदिँदाको लाछीपनाको फाइदा स्वभावैले विपक्षीले लिन सक्छ । यदि भारतले नाकाबन्दी नगरेको भए कस्ले गरेको हो त ?

भारतले नाकाबन्दी नलगाएको हो भने यो अवस्था मधेसी आन्दोलनको कारण भएको हो भनेर मान्नुपर्ने हुन्छ । स्वयम मधेसी नेताहरूले पनि भारतले होइन, आफूहरूले नाकाबन्दी लगाएको भनेर भनिरहेको अवस्था छ । सरकारले भारतले नाकाबन्दी नलगाएको भनेर भन्नु र मधेसी दलहरूले पनि आफूहरूको कारण नाकाबन्दी भएको भनेर दाबी गर्नुले मधेस आन्दोलन यसको कारक तत्व हो भनेर ठान्नुपर्ने हुन्छ । यसरी नेपाली जनताको दैनिकीमा यत्रो प्रभाव पार्नसक्ने आन्दोलनलाई नजरअन्दाज गर्न मिल्दैन । आखिर भारत नभएर मधेस आन्दोलनको कारण नै यो समस्या आएको हो भने मधेस आन्दोलनको मागलाई अविलम्ब किन सम्बोधन नगर्ने ?

देशभक्त र राष्ट्रवादी

मानौ, कुनै शर्मा थर भएका व्यक्तीले नेपाललाई प्रेम गर्छन् भने त्यो उस्को राष्ट्रवाद(नेसनालिज्म) हो । तर कुनै लिम्बुले नेपाललाई प्रेम गर्छ भने त्यो देशभक्ती(पेट्रिअटिज्म) हो । किनभने त्यो शर्मा नेपालको बाहुन हो र  राजनीतिक विकासक्रममा बाहुन ‘राष्ट्र’ हो । तर त्यो लिम्बु ‘जनजाति(सत्ता नभएको जाति)’ हो । सत्ता–प्राधिकरणको पोषले मौलाउने देशप्रतिको आसक्ती हो, राष्ट्रवाद । तर सत्ताविनाको फगत देशप्रतिको सुखा झुकाव देशभक्ती हो । त्यसकारण त्यो शर्मा राष्ट्रवादी हो किनभने राज्यमा उस्को हैसियत राष्ट्र हो र राष्ट्रको सार्वभौमिकता जोगाउन उसको चिन्तन स्वभाविक रूपले राष्ट्रवादी हुन्छ । राष्ट्रजाति र राज्यबीचमा दोहोरो पारस्पारिक लाभ हुन्छ । राज्यले राष्ट्रजातिलाई सत्ता दिन्छ भने बदलामा राष्ट्रजातिले राज्यको सार्वभौमिकताको पहरेदार गर्नु परम कर्तव्य हुनजान्छ । तर त्यो लिम्बु देशभक्तमात्र हो । अर्थात यो देशका आदिवासी, दलित र मधेसी देशभक्तमात्र हुन् । उनीहरूको राज्यप्रतिको एकोहोरो प्रेममात्र छन् । यो देशमा बाहुनहरू राष्ट्रवादी हुन् । तर बाहुन इतरका समुदाय राष्ट्रवादी होइनन्, उनीहरू देशभक्तचाहिँ अवस्य हुन् । कुनै बाहुनमा भएको देशप्रेम राष्ट्रवाद हो भने कुनै जनजातिमा रहने देशप्रेम देशभक्ती  हो ।

देशभक्त हुनुको सीमा

देशभक्ती भनेको निसर्त राज्यप्रतिको प्रेम हो । आफ्नो राज्यले आफूलाई केही नदिए पनि देशको लागि मर्न तयार हुन्छन्, त्यस्ता देशभक्तहरू । उनीहरू राज्यको घरेलु विभेदको मारमा परेता पनि देश बचाउन पछि पर्दैनन् । यद्यपि, देशभक्तहरू कुनै परिस्थितिमा खतरनाक पनि बन्न सक्छन् किनभने देशभक्त भइरहने कुरामा एक निश्चित सीमा हुन्छ । आफूले चाहिँ देशलाई माय गरिरहने तर देशले चाहिँ आफूलाई पराइ ठानिरहने हो भने त्यो देशभक्ती संकटमा पर्दछ । विरोधीले कसैको देशभक्तीलाई भड्काउन सक्छ ।

यो राष्ट्रवाद जस्तो होइन, देशभक्ती । हजारौ देशभक्त नेपालीहरू भारतीय सेनामा छन् । हजारौ नेपाली देशभक्तहरू बेलायती सेनामा छन् । देशभक्तहरू कुनै बेला नुनको सोझो पनि हुनसक्छन् ।

राज्यप्रतिको एकोहोरो प्रेम तोडेर त्यसलाई दोहोरो प्रेममा रूपान्तरण गर्ने अभियानमा लागेका छन्, यो देशका देशभक्तहरू । फगत देशको माया मात्र गर्न चाँहदैनन्, उनीहरू । अब राज्यबाट पनि उनीहरू सम्बोधित हुन चाहन्छन् । राज्यलाई आफूले मात्र होइन, राज्यले पनि आफूलाई माया गरोस् भन्ने अभिलाषा हो, जनताको ।

राष्ट्रवादी हुन चाहेका देशभक्तहरू

जारी संविधानले देशभक्तहरूलाई राष्ट्रवादी बनाउन सकेन । देशभक्तहरूको मन अहिले यो राज्यसंग कुँडिएको छ । देशले जनतालाई राष्ट्रवादी बनाउन पहिले उनीहरूलाई राष्ट्र बनाउनुपर्दछ । राष्ट्रभनेको कुनै भूगोल होइन । यो त राज्यप्रदत्त पहिचान र अधिकार सम्पन्न जाति(जनता) हो । कुनै पनि समुदायलाई अधिकार र पहिचान राज्यले दिदैन भने त्यो समुदाय राष्ट्र बन्न सक्दैन । त्यसकारण जनतालाई राष्ट्रचाहिँ बन्न नदिने तर उनीहरू राष्ट्रवादी हुनुपर्छ भनेर समस्या समाधान हुनसक्छ ?

राष्ट्रपछि मात्र राष्ट्रवाद आउछ

आज एउटा दमाई दमाई भएर बाँच्ने अवस्था छैन भने उसले अरूको बारे कसरी सोच्न सक्छ ? दमाईभन्दा पर अरूको बारे उस्ले सोच्न नै सक्दैन किनभने उ पहिले आफू आफू भएर रहने अवस्था नै छैन । यसरी सामाजिक विभेद र छुवाछूत कुप्रथाले थला पारेको दलित समुदाय पहिले आफू तङ्ग्री नसकी अरूको बारे सोच्न सक्ने अवस्था नै आउदैन । तर बाहुन बाहुन भएर बाँच्ने अवस्था पार गरिसकेका छन् । त्यसकारण उ बाहुन भएर बाहुनकै बारेमा सोच्नु पर्दैन । अब उस्ले अरूको लागि सोच्दछ । देशको लागि सोच्दछ ।

हरेक समुदायहरूमा राष्ट्रवादको भावना जागृत हुनको लागि पहिले उनीहरू राष्ट्र बन्नुपर्दछ । राज्यसत्ताको राजनीतिक भूमिकामा उनीहरूको उपस्थिति र प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्दछ ।

राष्ट्रियताको तहमा जातीयता

राष्ट्रियताको भावना जागृत भैसकेपछि त्यसले जातीयतालाई निषेध गर्नखोज्छ । एउटै जातिको राष्ट्रियता फरक हुनको कारण पनि यही हो । जस्तो, यो पंक्तिकारको वंश हो, सिक्किमका मुख्यमन्त्री पवन चामलिङ । यहाँ जातीय सामिप्यता हुदाहुदै पनि राष्ट्रियताको आधारमा हामी फरक हौ । उनले दिल्लीमा रहेको भारतीय राष्ट्रियताको लागि मरिमेट्छन् किनकि त्यही भारतीय राष्ट्रियतामा उनको अस्तित्वको प्रत्याभूति छ । यो पंक्तिकार नेपाली राष्ट्रियतामा नै जिलोज्यान दिन चाहन्छ किनकि नेपाली राष्ट्रियतामा नै यो पंक्तिकारको प्राण अल्झिएको छ । यहाँ जातीय वंश एउटै भएर के गर्नु ? राष्ट्रियता आ–आफ्नो छन् । तिनै सिक्किमका मुख्यमन्त्री चामलिङले यत सिमावारी नेपालका आफ्ना जातीय वंशजहरू नाकाबन्दीको मारमा पर्यो भनेर उनको राज्यमा पर्ने नाका खोलिदिन्छन् त ?

भारतको यही उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेस यादव छन् । अर्को यादव नेपालको राष्ट्रपति छन् । आफ्नो जातीय वंशज राष्ट्रपति भएको देशमा नाकाबन्दी गर्न हुन्न भनेर सिमा खुलाउन दिल्लीलाई अखिलेसले दबाव दिन चाहन्छ ? चाहदैन । अर्को विहारका नेता लालुप्रसाद यादवले नेपालका तराइमधेसमा रहने आफ्ना दाजुभाइ नाकाबन्दीको मारमा पर्यो भनेर सहानुभूति प्रकट कदापि गर्दैन । किनकि जातीय वंश एउटै भए पनि राष्ट्रियता फरक छन् । जुन राष्ट्रियताले आफूलाई संरक्षण गर्दछ त्यही राष्ट्रियता प्रति जनताको झुकाव रहन्छ । सबैभन्दा पहिले राज्यले आफ्नो जनतालाई राष्ट्र बनाउनु पर्दछ । अर्थात उनीहरूलाई राज्यको मूल धारमा ल्याउनुपर्दछ । नत्र एक राज्यबाट अपहेलित समुदाय अर्को राज्यसंग आश्रय खोज्दछन् । त्यो बोला देशभक्ती खतरामा पर्न जान्छ । यही भएको हो, नेपाली मधेसीहरूमा । नेपाली उपेन्द्र यादवहरू भारतीय अखिलेस यादवहरूसंग सहारा माग्दैछन् । उता भारतीय लालुप्रसाद यादवहरू भने नेपालका रामवरण यादवहरूप्रति कुनै सहानुभूति पनि प्रकट गरिरहेका छैनन् । बरू दिल्ली देशभक्त मधेसी जनताहरूबीचमा खेल्न खोज्दैछन् ।

राष्ट्रवादी हुन चाहेका मधेसीहरू

मधेसी जनता नेपाली हुन चाहिरहेका छन् । भलै उनीहरूले दिल्लीको सहारा खोजेका किन नहोस् । देशभक्त होइन, अब राष्ट्रवादी हुन चाहेका छन्, मधेसी । र, राज्यले पनि उनीहरूलाई बनाउने नै राष्ट्रवादी हो । त्यसको लागि पहिले मधेसी यो देशको राष्ट्र बन्नु पर्दछ । राष्ट्र बन्ने विभिन्न अवयव हुदाहुदै पनि उनीहरूले त्यस्ता कुनै भिमकाय माग पनि राखेका छैनन् । उही संघीयता मागेका हुन् । उही नागरिकताविहीनहरूको लागि आवाज उठाइरहेका छन् । नागरिकताको नाममा कुनै आफ्नो अनुहार मिल्ने भन्दैमा भारतीयलाई नागरिकता दिलाएर देशको प्रधानमन्त्री र राष्ट्रपति बनाउने उनीहरूको बदनीयत पनि होइन । भारतीयहरूसंग जात र संस्कृति मिल्दैमा उनीहरू भारतीय बन्न चाहेका हुदैहोइनन् किनकि जातीयता भनेको राष्ट्रियता भन्दा परको कुरा हो । राष्ट्रियताको आधार भनेको राष्ट्रवाद हो र राष्ट्रवादको आधार भनेको सम्बन्धित समुदायको मूलप्रवाहीकरण हो ।

(चामलिङ संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका केन्द्रिय सदश्य साथै बुद्धिजीबि फाँटका सदश्य र राजनितिक बिश्लेशक हुनुहुन्छ ।)