चिम्खोले काईलालाई लखन थापा मगर बनाइदिदा – सस्मरण

Read Time:11 Minute, 30 Second

दुत पुन (चिम्खोले काईला) मगर

चिमखोले काइँला र लखन थापामगर

मैले लखन थापाको नाम यसरी पहिलो पटक सुनेको थिए । मेरो गाउँ चिमखोला म्याग्दी जिल्लाको अतिनै दुर्गम तर प्राकृतिक शौन्दर्यताले भरिपूर्ण भएको गाउँ भन्न रुचाउछु । चिम्खोलामा म जन्मिए,  हुर्के बढे र सोहि गाउँमा निम्न माध्यामिक बिद्यालय स्तरसम्मको शिक्षा आर्जन गरे । यसरी उक्त गाउँ चिम्खोलामा हुर्किने बढ्ने र शिक्षा आर्जन गर्ने क्रममा यतिखेर म एउटा प्रशंग जोड्न चाहन्छु कि मेरो घरमा मैले कुनै काम अन्जानमा गल्ति गरे भने अथवा स्कुलमा पढाइको क्रममा अलि कमिकमजोरी गरेमा मेरो बाबा आमा तथा स्कुलका शिक्षकहरुले मेरो नाम सोझै लखन थापासंग जोडीदिन्थे ।

हैन हो लखन थापा जस्तो बैमानी, अबुझ, अनपढ, के गरेर खान्छस ? आदि इत्यादि भनेर गालि गलौज गर्थे । कलिलो बालकको दिमागमा लखन थापा भन्ने मान्छे कस्तो सिल्ली व्यक्ति रहेछ ? भन्ने जिज्ञासा लाग्दा लाग्दै माध्यमिक बिद्यालय पढ्न छिमेकी गाउँ राखु भन्ने गाउँमा गए । लखन थापाको नाम सुन्न परेन,  प्रबेशिका परीक्षा उतिर्ण पछि आफ्नै गाउँ चिम्खोलामा शिक्षण पेशा गरे , लखन थापाको नाम सुन्न परेन त्यसपछि  ब्रिटिश आर्मीमा २० बर्ष जागिर गरे त्यहाँ पनि लखन थापाको नाम सुन्न परेन ।  झन्डै २७ बर्षका अबधि सम्म  लखन थापाको नाम सुन्न परेको थिएन ।

जब ब्रिटिश आर्मीबाट अवकाश प्राप्त गरे पछि मगर संघ युकेसंग आबद्ध हुने मौका पाए । सन २००५ सालको सेप्टेम्बरको कुरो हो, मगर संघ युकेको  केन्द्रिय समितिको बैठकमा नेपालको शहिद दिवसको दिनको नजिकको शनिबारको दिनमा लखन थापाको स्मृति दिवस मनाउने भन्ने निर्णय भयो । त्यस पछि मेरो मानसपटलमा बिर्सिसकेको लखन थापा नाम फनफनी घुम्यो । के म बालक हुँदा मैले गल्ति गर्दा तथा स्कुलको पढाइमा कमिकमजोरी हुँदा मेरो अभिभाबक तथा शिक्षकहरुले मेरो नाम सोझै जोडी दिने त्यही लखन थापा त होइनन ? भन्ने खुल्दुली बढ्यो । अनि तत्कालिन समयमा एक बिद्धुवान मित्र रमेशसिङ साराङ्कोटी (हाल मगर संघ युकेका सल्लाहकार) संग लखन थापा को हुन ? भनेर सोधे, उनी भर्खरै नेपालबाट अध्ययनको सिलशिलामा बेलयात आएका थिए ।

उनले भने लखन थापा नेपालका राणा शासनको  बिरुद्ध लड्नको लागि  पहिलो कदम चाल्ने  एक साहशी व्यक्ति  हुन । उनलाई नेपाल सरकारले २०५६ सालमा शहिद भनेर घोषणा त गर्यो तर प्रथम शहिद भनेर घोषणा गर्नु पर्छ भन्ने हामी आम  नेपालीहरुको मांग हो भन्नु भयो । अनि त मैले अन्दाज गर्न सके कि तत्कालिन राणा शासनले लखन थापा मगरलाई देशद्रोही राजद्रोही भनेर दुष्प्रचार गरेको कारणले मेरो अभिबाभक र शिक्षकहरुले पनि मेरा गल्ती र कमि कमजोरीहरुलाई लखन थापा संग जोडेको मैले भुझे । त्यसपछी लखन थापाको बारेमा अध्ययन गर्नको लागी वीकिपिडा, मगर स्टडी सेन्टर र इन्टरनेटमा खोज तथा अनुशन्धान गर्न शुरु गरे अनि मात्र लखन थापाको बारेमा धेरै कुरा जान्ने र बुझ्ने मौका पाए ।

लखन थापा मगर क्षेत्री थापा नभई मगर थापा थिए । उनी नेपाली सेनाको गोरखगणमा सिपाही तथा जवानमा भर्ना भएका थिए । गोरखगण मगरहरुको पल्टन थियो  र हालसम्म पनी मगरहरुको बाहुल्यता भएको नेपाली सेनाको एक गण हो  । लखन थापा मगर एक बहादुरी, बफादारी, इमान्दारी, कर्मठ र तृष्ण बुद्धि भएको जवान थिए । जसको फल्सोरूप उनी ११ बर्षको नोकरीको दौडानमा कप्तान पदमा पदोन्नति भएका थिए । लखन थापा मगर एक बहादुरी, बफादारी, इमान्दारी, कर्मठ र तृष्ण बुद्धि भएको जवान भएता पनी अन्याय र अत्त्याचारको  बिरुद्ध एक कदम पनि पछी नहट्ने हट्ठी स्वभावका जवान थिए ।

तर, बिडम्बना भनौ जंगबहादुर राणाको शासनकालमा नेपाली सेना भित्र पनि राणाहरुको अति दमन, अत्त्यचार, भ्राष्टाचार र भाइबन्धि तथा गुदबन्धीले चरम सीमा नाघेको थियो । उक्त दमन, अत्त्यचार, भ्राष्टाचार र भाइबन्धि तथा गुदबन्धीको पिडा सहन नसकी लखन  थापा मगर, जयसिङ चुम्मी मगर र सुकदेव गुरुङ गोरखगण छोडेर जंग बहादुरको बिरुद्धमा लड्न गोर्खाको काउले भंगार बुङ्कोटमागई किल्ला निर्माण गरि किल्ला भित्र दरबार निर्माण गरे । दरबार भित्र सत्र सय सेना र उनका लागि हतियार निर्माण गरेका थिए । जंगबहादुर राणाका सिआइडीहरुले उक्त सूचनाहरू जंगबहादुरलाई सुचित गराए पछि जंगबहादुरको सेनाले जयसिङ चुम्मी मगर र सुकदेव गुरुङलाई गोलि हानेर मृत्यु दण्ड दिइयो भने लखन थापा मगरलाई खिर्राको रुखमा झुण्डाएर मारियो ।

लखन थापा मगरलाई नेपालको प्रथम शहिद घोषणा गर्न पर्छ भनेर देश विदेशबाट बिभिन्न जातीय तथा राजनीतिक पार्टी र नेपाली संघ संस्थाहरुले आ-आफ्नो ठाउंहरुबाट स्मृति सभा, दबाबमूलक कार्यक्रम र ज्ञापनपत्रहरु दिदै गर्दा मगर संघ युकेले पनि २००६ देखि हरेक बर्ष लखन थापा स्‍मृति  दिवस मनाउदै आइरहेका छौं । बिगत तिन बर्ष देखि आदिबाशी जनजाति महासंघ युके संग संयुक्तरुपमा लखन थापा स्मृति दिवस तथा लखन थापालाई नेपालको प्रथम शहीद घोषणा गर्नु पर्छ भनि दबाबमूलक सभाहरु गर्नुको साथै बेलायतको लागि नेपाली राजदुत मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पनि बुझाएका छौँ ।

युकेबासी नेपालीहरुको माझमा लखन थापालाई चिनाउनको लागि २००६ देखि लखन थापा मेमोरिअल फूटबल प्रतियोगिता लगातार सम्पन्न गर्दै आएका छौं । मगर संघ युकेको महासचिब हुँदै बरिष्ठ उपाध्यक्ष र हाल अध्यक्ष पद समाल्दा सम्म र काम गर्दै जादा लखन थापाको बारेमा ६ वोटा कविता लेख्ने, बाचन गर्ने र मेरो कविता संग्रहहरु  सुन्दन्ते, युकेको जिन्दगी र एभेरेस्ट टाइम्स साप्ताहिक पत्रिकामा  प्रकाशित गर्ने मौका पाए भने लखन थापाको जीवनीसंग नजिक बसेर काम गर्ने मौका पाउनु भनेको शौभाग्य ठानेको छु भने मेरो बाल्यकाल र बर्तमानलाई पनि नजिकबाट नियाल्ने मौका पाएको छु ।  

आजका दिन सम्म आउँदा लखन थापालाई प्रथम शहिद घोषणा गर्नको लागि मगर तथा जनजातिहरुलेनै अग्रणी भूमिका खेलेको बुझियो । राज्यले लखन थापाको शालिक बनाइदिन पर्नेमा मगरहरुले बुटवलको चौराहमा, पोखराको लखन चोकमा र गोर्खाको बुङकोटमा मगरहरुको पसिनाबाट शालिक निर्माण भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को २०७२ साल असोज ३ गते बसेको बैठकले कप्तान लखन थापामगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको छ ।

२०७२ सालको संबिधान जनताबाट लेखिएको भनिएतापनि मगरहरुको ऐतिहासिक भूमि मगरात क्षेत्रलाई तिन भागमा विभाजित गरि मगरहरुको भूगोललाइ कम्जोर बनाइयो । साथै जातीय मुक्ति, भाषा, संस्कृति र पहिचानलाई तितरबितर गरि अखण्ड मगरातलाइ खण्डित बनाइएको अबस्था छ । सायद नेपाल सरकारका मन्त्रीमंडलले यो सोचेको हुन् सक्छन कि, यी मगरहरु लखन थापालाई नेपालको प्रथम शहिद घोषणा गरियो भने चुप लाग्छन भन्ठाने होलान । तर, मगरहरु कत्तिको चुप लागेर बस्छन हेर्न बाकी छ । कप्तान लखन थापालाई जहानियाँ राणा शासनका विरूद्ध संघर्ष गर्दा वि.सं. १९३३ फागुन २ गते गोरखा बुङ्कोट, काउलेभङ्गारको आफ्नै घर अगाडी खिर्राको रूखमा झुण्ड्याइ मारिएको थियो । थापालाई वि.सं. २०५६ फागुन ११ गते नेपाल सरकारले शहीद घोषणा गरे पनि प्रथम शहीद घोषणा गरिएको थिएन ।

जनस्तर, सामान्य ज्ञान र पाठ्यपुस्तकमा उनलाई प्रथम शहीद मानिए पनि सरकारी तवरबाट प्रथम शहीद घोषणा नगरिँदा मगर समुदायले लामो समयदेखि प्रथम शहीद घोषणा गर्न माग गर्दै एका थिए । लखन थापा मगरलाई नेपाल सरकारले नेपालको प्रथम शहिद घोषणा गर्यो तर, यसको कार्यान्यन पक्षलाई कति शसक्त तरिकाले अगाडी बढाउछ ?  हेर्न बाँकी छ । शहिद गेटको त्रिभुवनको सालिकलाई हटाएर उक्त ठाउँमा नेपालको प्रथम शहीद लखन थापाको सालिक राख्छ कि राख्दैन हेर्न बाँकी छ । अन्य नेपालका शहीदहरुलाई जस्तै राज्यबाट राष्ट्रिय सम्मान तथा अनुदान दिनु पर्छ यो नेपाली जनताको माग हो ।

लेखक मगर संघ यूकेका बर्तमान अध्यक्ष हुन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %