हुमबहादुर गुरुङ
पोखरा, १५ असोज –तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले विहिवार तमुवानको राजधानी पोखरास्थित लखनचोकमा तमुवानको झण्डोत्तोलन गरी शुरु गरिएको तमुवान राजमार्ग यात्रा शुक्रवार लेखनाथको बुढीबजार पुगेको छ ।
शुक्रवार पोखराको अमरसिंह चोकबाट शुरु भएको यात्रा लेखनाथको बुढीबजार पुगको हो । यात्रामा सहभागीहरुले तमुवान प्रदेश जिन्दावाद, पहिचान विहिन संविधान मान्दैनौं, अधिकार विनाको संविधान चाहिदैन, पेट्रोलियम, खाना पकाउने ग्याँस लगायत उपभोग्य सा…मग्रीको सहज आपुर्ति व्यवस्था गर, लाचार सरकार राजिनामा दे, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाएका थिए ।
बुढीबजारमा सम्पन्न कोणसभाका वक्ताहरुले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न नसक्ने सरकारले जनताको शान्तिपूर्ण भाषालाई नबुझ्ने भएकाले सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।
तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले समानता, न्यायिक र अधिकारका माग सुनुवाई नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए । उहाँले पहिचान, समानता र अस्तित्वको स्विकार नगर्नेहरुलाई तमुवानका आन्दोलनले ठेगान लगाउने बताए ।
आन्दोलनका अगुवा, ङ्योए तमु धिं लेखनाथका उपाध्यक्ष क्याप्टेन मेकबहादुर गुरुङ विगत लामो समयदेखि तमु लगायत आदिवासी जनजातिमाथि षडयन्त्रमुलक ढंगले विभेद गरिदै आएको र नयाँ नेपालको संविधानले पहिचान र अस्तित्व नै मेटाउन खोजेको भन्दै आपत्ति जनाए । उनले पहिचान स्थापित र अधिकार सुनिश्चित गर्न आन्दोलनको विकल्न नरहेको बताए ।
संघर्ष समितिका क्षेत्रीय अध्यक्ष जगनबहादुर गुरुङले तमुवानको शान्तिपूर्ण आन्दोलनलाई सरकारले सम्मान नगरे विश्व युद्ध लडेका बीरका सन्तानहरु आफ्नो अधिकारका लागि बलिदानी संघर्ष गर्ने चेतावनी दिए ।
कार्यक्रममा जनवादी गायक काजी काउलेले अधिकारमुलक साँगितीक प्रस्तुति गरेका थिए।
संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य उदिम गुरुङले गरेका थिए ।
राजमार्ग यात्रा शनिवार बुढीबजारबाट शुरु भई भण्डारढिकस्थित ङ्योए तमु धिं लेखनाथमा पुगी सभामा परिणत हुने आयोजकले जनाएको छ ।
