गोविन्द घर्ती
रुपन्देही , असोज १३ – नेपाल मगर संघ र विभिन्न राजनैतिक दलका मगर संघको भेला रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।

भेलामा बोल्ने वक्ताहरुले अहिलेको संविधानमा मगरहरुको अधिकार स्थापित हुन नसेको हुदा सम्पूर्ण मगरहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले मगरात क्षेत्र संविधानमा स्थापित गर्न विभिन्न राजनैतिक दलका मगरसंगठनहरु एकतावद्ध भएर अगाडि बढ्नु पर्ने बताएका थिए ।
नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक मगर संघका पदम थापा, भोजविक्रम बुढा, मगर राष्ट्रिय मुक्ति मोर्चा (बैद्य) का भुलबहादुर सुनारी, एमाओवादीका मनोज राना, विप्लपका तेजेन्द्र थापा, मगरहाङ्ग परिषदका छत्र दर्लामी लगायतले आ–आफना भनाई राखेका थिए ।
भेलाले मगरात क्षेत्र स्थापित गराउन नेपाल मगर संघका जिल्ला अध्यक्ष दलबहादुर विरकट्टाको संयोजकत्वमा नेपाल मगर संयुक्त मञ्च रुपन्देही गठन गरेको छ । जसको सदस्यहरुमा राष्ट्रिय मगर संघ, नेपाल लोकतान्त्रिक मगर संघ, मगर राष्ट्रिय मुक्ति मोर्चा, मगरहाङ्ग परिषद, नेपाल मगर स्वशासित संघ, संघीय मगर संघ सदस्य रहेका छन् ।
भेलाले प्रत्येक तिन महिनामा राजनैतिक दलको मर्यादा अनुसार संयोजक गर्ने निर्णय गरेको छ । भेलाले असोज १५ गते पाल्पाको तानसेनमा हुने मगरात भेलामा प्रत्येक संगठनबाट ३/३ जना प्रतिनिधि सहभागि हुने निर्णय गरेको संयोजक विरकट्टाले बताए । मगरहरूले मगराँत क्षेत्रलाई ३ प्रदेशमा विभाजन गरेको भन्दै आन्दोलन गर्दै आईरहेको छ ।
४ वटा अञ्चलको १९ जिल्लालाई मगरात क्षेत्र घोषणा गर्नु पर्ने भन्दै मगर संघले आन्दोलन गर्दै आईरहेको संयोजक विरकट्टाले बताए ।
