देब दुरा
काठमाडौ, असोज ९ गते – दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले ठाडो भाका (दुरा भाका) गायक दीर्घराज अधिकारी ‘भेँडीखर्के साहिँला’ लाई एक समारोहबीच राजधानीमा अभिनन्दन गरेको छ ।

समारोहमा स्वागत मन्तव्य दिँदै ‘दुरा सेवा समाज’ का उपाध्यक्ष सुरेश दुराले दीर्घराज अधिकारी ‘भेँडीखर्के साहिँला’ ले ठाडो भाका (दुरा भाका) मार्फत देउबहादुर दुराले प्रारम्भ गर्नुभएको गीतिधाराको श्रीवृद्धि गर्ने दिशामा महत्वपूर्ण योगदान दिनुभएको चर्चा गर्नुभयो ।
सो अवसरमा ‘दुरा सेवा समाज’ का पूर्वअध्यक्ष तथा सल्लाहकारद्वय किशोर दुरा र लोकबहादुर दुराले उहाँ (‘भेँडीखर्के साहिँला’) ले दुरा भाकाको विस्तार, संरक्षण तथा सम्वद्र्धनमा पर्याउनुभएको योगदान अतुलनीय भएको धारणा अघि सानुभयो ।
अभिनन्दन समारोहमा मन्तव्य व्यक्त गर्दै दुरा सेवा समाजका आजीवन सदस्य तथा सल्लाहकार देवबहादुर दुराले अल्पसंख्यक दुरा समुदायको परिचय विस्तारमा ‘भेँडीखर्के साहिँला’ को योगदानमाथि चर्चा गर्दै उहाँको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्नुभयो ।
उहाँले ‘भेँडीखर्के साहिँला’ को स्वास्थ्योपचारका लागि दुरा सेवा समाज (यूके) ले पठाएको एक लाख रूपैयाँ पनि हस्तान्तरण गर्नुभयो । यसैगरी, उहाँले दुरा सेवा समाज (यूके) ले पठाएको पत्र र सहयोगदाताहरूको नाम पढेर सुनाउनुभयो ।
अभिनन्दन ग्रहण गर्दै दीर्घराज अधिकारी ‘भेँडीखर्के साहिँला’ ले सबैको अपार मायाममताबाट आफु मृत्युको मुखबाट उम्केर आउन सफल भएको बताउनुभयो ।
अभिनन्दन समारोहको अध्यक्ष ग्रहण गर्नुभएका ‘दुरा सेवा समाज’ का अध्यक्ष गोकुल दुराले ‘भेँडीखर्के साहिँला’ लाई सरस्वतीको वदरपुत्रको रूपमा चित्रण गर्दै उहाँलाई संस्थाको तर्फबाट अभिनन्दन गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो ।
दुरा समुदायले ‘भेँडीखर्के साहिँला’ लाई यसभन्दा अघि पनि अभिनन्दन गरिएको थियो । उहाँलाई पच्चीसौं खजे दुरा स्मृति दिवसका अवसरमा २०५७ साल कात्तिक २१ दुराडाँडास्थित च्यानपाटा बजारमा अभिनन्दन गरिएको थियो ।
