पहिचान विहिन संविधान जारी गर्न खोज्नेहरुका विरुद्ध तमुवानमा सिस्नोपानी जुलुस

Read Time:6 Minute, 9 Second

शनिवार मृत संविधानको शवयात्रासहित अन्त्येष्टि गर्ने

देब पचभैया

पोखरा, १ असोज – नयाँ संविधानमा तमु लगायत आदिवासी जनजातिको अधिकार सुनिश्चित, पहिचानसहित तमुवान प्रदेश घोषणा, धर्म निरपेक्षता कायम, पुर्ण समानुपातिक प्रतिनिधीत्वको सुनिश्चितता, बहुभाषिक निति, पहिचान र अस्तित्वको सुनिश्चितता हुनुपर्ने लगायतका माग गर्दै र अधिकार, पहिचान विहिन संविधानको विरोध गर्दै तमुवानको राजधानी पोखरामा शुक्रवार सिस्नो पानी जुलुस निकालिएको छ ।

तमुवान संयुक्त संघर्ष समितिको दोश्रो चरणको आन्दोलन अन्र्तगत तमु लगायत आदिवासी जनजातिलाई अधिकार विहिन संविधान जारी गर्न खोज्नेहरुलाई सिस्नो पानी लगाउने उद्घोष गर्दै संघर्ष समितिले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सिस्नो पानी जुलुस गरी भिमसेनचोकमा कोणसभा गरी समापन गरिएको हो ।

सभामा बोल्ने वक्ताहरुले पहिचान, अधिकार, अस्तित्व विहिन संविधान स्विकार नगर्ने, जारी गर्ने वित्तिकै जलाउने चेतावनी दिएका थिए ।

कार्यक्रम बोल्दै तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले पहिचान, अधिकार विहिन संविधान स्विकार नगर्ने बताउदै केही मुठ्ठीभर मान्छेको स्वार्थका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुतको आशिर्वादबाट जारी गरिने संविधानको साक्षी नवस्न तमुवानका सभासदलाई आग्रह गरे । उनले चेतावनी दिदै भने , हामीले आग्रह गरिरहेकाछौं हाम्रो पहिचान, अधिकार र अस्तित्व स्विकार नगर्ने संविधानको साक्षी नबस्नुस् यदी त्यसकै कारणले भोलि कुनै घटना भए हामी जिम्मेवार हुनेछैनौं ।उनले थपे हामीलाई अपमान गर्ने संविधानलाई स्वागत गर्दै दीपावली गर्नेहरु पनि सचेत रहोस् । यसरी नै पोखरा ३ नदिपुरस्थित नारायणस्थानमा विहीवार राती त्यहाँस्थित बौद्ध धर्मावलम्वीको आस्थाको केन्द्र चैत्य तोडफोड अतिहिन्दुवादी कायरहरुले गरेको ठोकुवा गर्दै घटनाका दोषीलाई तत्काल कारवाही नगरे तमुवान संयुक्त संघर्ष समितिले कारवाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष जितबहादुर गुरुङ मामाले सबैको पहिचान स्विकार नगर्ने संविधान आफुहरुले कुनै पनि हालतमा स्विकार नगर्ने बताए । उनले अधिकारका प्राप्तिका लागि आन्दोलन नै सशक्त बनाउनुपर्नेमा जोड दिए ।

कोणसभामा दलित वा शिल्पी समुदायको तर्फबाट राम सिकेले आन्दोलनमा ऐक्यवद्धता मन्तव्य व्यक्त गरेका थिए भने ङ्योए तमु धिं लेखनाथका अध्यक्ष जंगबहादुर गुरुङ, तमु सहयोग समिति पार्दीका अध्यक्ष क्या.चेतबहादुर गुरुङ, तमु विद्यार्थी समिति नेपालका संयोजक आसबहादुर गुरुङ, मगर विद्यार्थी समितिका सुसान्त गाहा मगर, सातकन्या तमु समाजका अध्यक्ष सुवेदार नौबहादुर गुरुङ, संघर्ष समितिका सदस्य उदिम गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै अधिकार विहिन संविधान जलाउने चेतावनी दिदै फेरि पनि आफुहरुलाई दोश्रो दर्जा नागरिककै रुपमा परिभाषित गरिेएकाले अधिकारका लागि बलिदान दिन र बन्दुक उठाउन पनि तयार रहेको उद्घोष गरेका थिए ।

सिस्नो पानी जुलुसमा सहभागीहरुले तमुवान प्रदेश घोषणा गर, तमुवान विनाको संविधान मान्दैनौ, अधिकार विहिन संविधान जलाउछौं लगायतका नारा लगाएका थिए ।

यसरी नै आन्दोलनको कार्यक्रम अन्र्तगत असोज २ गते शनिवार तमुवान विहिन, पहिचान विहिन संविधान ल्याउन खोज्नेहरु र पहिचान विहिन संविधान जारी गर्ने अघि नै मृत घोषित गर्दै शवयात्रासहित अत्येष्टिका गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए।

यसै गरी संविधान जारी गरिने भनिएको असोज ३ गते विभिन्न पार्टीहरुले आयोजना गरेको बन्दमा तमुवान संयुक्त संघर्ष समितिले ऐक्यवद्धता जारी गर्दै बेलुका कालो झण्डासहित बृहत मसाल जुलुस वगर पिएन क्याम्पस गेट, सितलादेवी र लखनचोकबाट शुरु गर्ने र असोज ४ गते पश्चगामी संविधान विरुद्ध तमुवान प्रदेश बन्द गर्ने संयोजक गुरुङले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %