दुवै संस्था पहिचानको आन्दोलनमा संगसंगै अधि वढने,
भैरब आङ्ला
धरान,भाद्र ३० – लिम्वूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ र राईहरुको साझा संस्था किरात राई यायोक्खा विच पहिचानको आन्दोलनमा संगै अघि वढने ऐतिहासिक सहमति भएको छ ।

आज सुनसरीको धरानमा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सो सहमति गरेका हुन । किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष उत्तमसिंह थाङदेनले पहिचानको आन्दोलनमा अव राई र लिम्वू एक भएर लड्ने बताए । उनले भने अव यहाँ सिमाङकनको कुरा भएन यो आन्दोलन पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नबनेसम्म जारी रहने छ । दुबै संस्थाका अध्यक्षद्धयले संविधान जारी भए पनि पहिचान नदिएसम्म आन्दोलन चलिरहने बताए ।
किरात याक्थुङ चुम्लुङको समन्वयमा भएको आठ मोर्चा सम्मिलित लिम्बुवान संर्घष समितिले असोज १ देखि ३ गतेसम्मको लिम्बुवान चक्काजामलाई समेत फिर्ता लिने निर्णय गरेको छ ।
त्यसमा किरात राई यायोक्खाले असोज २ गतेको बृहत आम सभालाई सहयोग गर्ने प्रतिवद्धता जनाउदै चक्काजाम फिर्ता लिएको किरात याक्थुङ चुम्लुङले जनाएको छ ।
उनीहरुले ५ बुदे सहमति गर्दै पहिचानको लागि साँझा आन्दोलन गर्ने निर्णय भएको किरात राई यायोक्खाकी केन्द्रीय अध्यक्ष यशोधा राईले बताए । दुवै संस्थाका अध्यक्षले यो ऐतिहासिक सहमतिले पहिचानको आन्दोलनमा नया आयम थप्ने बताए । पत्रकार सम्मेलनमा अरुण पुर्वको नौ जिल्ला लिम्वूवान भन्दै आन्दोलनको समवन्य गरीरहेको किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष उत्तमसिंह थाङदेनलाई सिमांकनको वारेमा अव के गर्नुहुन्छ भन्ने संचारकर्मीहरुको जिज्ञासामा उनले भने यो घर भित्रको कुरो हो, दाजुभाईको कुरो हो पहिचान प्राप्त भए पछि आफै मिल्ने छ ।
ऐतिहासिक पृष्ठभुमिको आधारमा नेपालमा लिम्वूवान स्वायत्त राज्य र किरात स्वायत्त राज्य निर्माण गर्न दुवै संस्था प्रतिवद्ध रहेकोले राई र लिम्वू विचको समवन्यमा कुनै संका नर्गन किरात राई यायोक्खाकी केन्द्रिय अध्यक्ष यसोधा राईले आग्रह गरे । यसैबीच किरात राई यायोक्खाले असोज २ गते धरानमा गर्ने बृहत सभाको तयारी पुरा भएको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
यो सभा पहिचानको आन्दोलनको एउटा गतिलो उदघोष हुने किरात राई यायोक्खाकी केन्द्रिय अध्यक्ष यसोधा राईले बताए । सभाको वारेमा सम्पुर्ण तयार पुरा भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
