पोखरा, २८ भदौ – नेपाल मगर संघ माटेपानी एकाइ समितिको आयोजनामा समाजका चेलीबेटीलाई दर खुवाएका छन ।
वर्षदिनको तीजको अवसरमा एक दिन सम्पूर्ण महिला दिदीबहिनीहरुलाई भेट गराउने र उनीहरुको दुःख सुख एक आपसमा साटासाट गर्ने अवसर प्रदान गर्नको लागि विगत ६ वर्ष देखि समाजले महिला समाजमा आबद्ध भएका महिला दिदीबहिनीहरुलाई तीजको अवसरमा दर खुवाउँदै आएको एकाइ अध्यक्ष चन्द्रप्रकाश थापामगरको भनाइ छ ।
अहिले तीज मनाउने नाममा बढ्दै गएको विकृतितर्फ सचेत हुँदै तीजको महत्वलाई राम्रो सँग बुझेर चाडपर्व मान्नुपर्ने नेपाल मगर महिला संघ माटेपानी इकाइ समितिका अध्यक्ष देऊरुपा श्रीस मगरको भनाइ छ । यसैगरी, महिला उपाध्यक्ष दुर्गा रानामगरले अहिले सञ्चार माध्यमको सुविधाका कारण टाढा टाढाका दिदीबहिनीहरुलाई एकै ठाउँमा जमघट हुन सजिलो भएको बताछन् ।
माटेपानी इकाइ समितिको आफ्नै भवनमा सम्पन्न भएको तीज कार्यक्रममा महिला दिदीबहिनीहरु छमछमी नाँचेर मनोरञ्जन लिएका थिए ।
हाल माटेपानी एकाइ समितिमा पोखरा उपमहानगरपालिकाका १०, ११, १२, १३ नं वडा गरी १३६ घर आबद्ध रहेका छन् ।
