✍️ त्रिलोक सिंह थापा मगर

प्रारम्भः
देहरादुन नालापानी खलंगाको आङ्ल—गोरखा य्ुद्धको समयमा कणर््ेाल मावीको आदेशमा अङ्ग्रेज सैनिकहरुले अनैतिक एवं अमानवीय ढंगले खानेपानीको मुहान थुनिदिएका थिए । जसले गर्दा नालापानी खलंगाको किल्लाभित्र खानेपानीको आपूर्ति पूर्ण रुपमा बन्द र रोकिएको थियो । यस्तो स्थितिमा अङ्ग्रेज सरकारको समक्ष झुक्न र आत्मसमर्पण गर्नुभन्दा पनि बीर बहादुर कप्तान बलभद्र कुंवर र उनका सैनिकहरुले सो किल्लालाई स्वेच्छाले खाली गरिदिने निर्णय गरे । आफै किल्ला परित्याग गरे पछि उनिहरु हालको हिमाञ्चल प्रदेश स्थित सिरमौर जिल्लाको सदरमुकाम नहान शहरमा आईपुगेका थिए । त्यस समयमा सिरमौर राज्य र त्यसका वरपरका सम्पूर्ण हिमवतखण्ड भूमिमा गोरखालीहरुको एकछत्र शासन व्यवस्था कायम थियो । सिरमौर राज्यको सामरिक एवं प्रसिद्ध किल्ला “नहान” माथी गोरखाली शासन सत्ताको अधिपत्य थियो । सोही किल्ला भित्र कप्तान बलभद्र कुंवर र उनका सहयोगी लडाका सैनिकहरु केही दिन सम्म बसोबास गरेका थिए । त्यसपछि उनिहरु काठमाण्डौं तर्फ लागेका थिए ।
उनिहरु काठमाण्डौंमा केही दिन अलमलिएर त्यसपछि झण्डै २०० जवान गोरखाली युवकहरुलाई लिएर कप्तान बलभद्र कुंवर भारत पञ्जाब राज्यको राजधानी लाहौर शहरमा आईपुगेका थिए । त्यहाँ पञ्जाब राज्यका महाराजा पञ्जाव केशरी रणजित सिंहसंग सम्पर्क, सम्बन्ध, भेटवार्ता र कुराकानी गरे । महाराजाको आग्रह र अनुरोधमा कप्तान बलभद्र कुंवरले पञ्जाव राज्यको प्रसिद्ध एवं शक्तिशाली सिख फौजमा दुईवटा गोरखाली पलटनहरुको गठन र स्थापना गरे ।
वास्तवमा कप्तान बलभद्र कुंवर पञ्जाब राज्यको शक्तिशाली, बहादुर र विशाल फौजसंग मिलेर संयुक्त रुपमा एक पटक फेरी अङ्ग्रेजहरुसंग लडाइँ गरेर आफ्नो अन्तिम ईच्छा, धोको र धित मेटाउन चाहन्थे । तर त्यसै समयमा पञ्जाब राज्यका तर्फबाट अफगान फौजसंग लडाइँ गर्दा केही गोरखाली सैनिकहरुका साथमा उनि पनि सन् १८२३ मा त्यहीं बीरगति प्राप्त गरे । बिदेशी फौजमा भर्ति हुन जाने गोरखाली युवकहरुलाई नेपालको गाउँघर समाजमा “लाहुरे” भनेर बोलाउने चलन त्यसै समय देखि नै शुरु भएको हो । लाहौर शब्दबाट लाहुरे भएको हो । गाउँघर समाजमा “लाहुरे” शब्दको सामाजिक सम्मान र आदर रहेको पाईन्छ ।
नहान किल्लाः
हिमाञ्चल प्रदेशको सिरमौर जिल्लामा अवस्थित नहान शहरभन्दा उत्तरपुर्व तर्फ नहान किल्ला समुद्र सतहदेखि २००० फिटको उचाईमा अवस्थित छ । त्यस समयमा सिरमौर राज्यको सबभन्दा पुरानो ऐतिहासिक, पुरातात्विक तथा सामरिक महत्वको नहान किल्ला थियो । गाउँघरको कथा र किम्बदन्ती अनुसार एकजना गोरखाली सैनिकले खुकुरीले मार हान्दा उनको साथीले “नहान नहान” भनेर ठुलो स्वरमा कराएका थिए । त्यस पछि यस शहरको नाम “नहान” हुन गएको हो भनेर केही बुढापाकाहरुको भनाई रहेकोछ ।
गोरखाली शासनकालमा यस किल्लाको रक्षा, सुरक्षा र रेखदेखको सम्पूर्ण जिम्मेवारी सुदुरपश्चिम भेगका सेनापति बडाकाजी अमरसिंह थापाले काजी रणजोरसिंह थापालाई सुम्पिएका थिए (सन् १८०३—१८१५)। काजी रणजोरसिंह थापा युद्धविद्या तथा सामरिक विज्ञान कलामा ज्यादै निपुण, अनुभवी र दक्ष सेनापति थिए । साथै सिरमौर राज्यमा उनि लोकप्रिय प्रशासक पनि थिए । गढवाल राज्यका प्रख्यात लेखक, चित्रकार एवं दार्शनिक कवि मौलारामले आफ्नो ग्रन्थावली काव्यको पृष्ठ १३६ मा “सिरमौर राज्यको मौरनी अभियानमा काजी रणजोरसिंह थापाको बीरता, शौर्यता तथा पराक्रम” बारेमा रोचक वर्णन गरेका छन् ।
नहान किल्ला माथि हमलाको तयारी (सन् १८१४ डिसेम्बर १९) :
मेजर जनरल जिलेस्पीको नालापानी युद्धमा मृत्यू भएपछि ईष्टईण्डिया कम्पनी सरकारले मेजर जनरल मार्टिण्डेललाई त्यस क्षेत्रको कमाण्डर नियुक्त गरेको थियो । आफ्नो पद सम्हाल्ने बित्तिक्कै उनलाई कम्पनी सरकारको गर्वनर जनरल हेस्टिङले गोरखालीहरुले कब्जा गरेको नहान किल्लामाथि हमला गर्न आदेश दिए । साथै सामरिक महत्वको सो किल्लामाथि आफ्नो नियन्त्रण कायम राख्न पनि निर्देशन जारी गरे ।
सो अनुसार अङ्ग्रेज फौजको प्रसिद्ध ५३ डिभिजनको नेतृत्व गर्दै मेरठ छावनीबाट कोलपारी उपत्यका हुँदै नहान किल्लाको तल दक्षिणतर्फ ७ वा ८ माईल दु्रीमा रहेको मोजानन्द भन्ने ठाउँमा आइपुगेका थिए । उनले त्यहाँ सैनिक शिविर स्थापना गरे । उनलाई सहयोग र सहायता गर्नका लागि देहरादुनबाट कर्णेल मावी पनि आफ्नो फौज लिएर सन् १८१४ डिसेम्वर १९ तारिखमा मोजानन्द सैनिक शिविरमा आईपुगे । यसरी मेजर जनरल मार्टिण्डेलको कमाण्डमा १७००० भन्दा पनि बढि कम्पनी सरकारले सैनिकहरु जम्मा पारिदिएको थियो । सो सैनिकहरुमध्ये विभिन्न भेगका स्थानीय युवकहरु पनि अङ्ग्रेज सरकारको फौजमा भर्ति गराईएका थिए । अङ्ग्रेज सरकारसंग ठुला ठुला खालका तोप, बन्दुक, तरवार, भाला, आदिहरु थिए । प्रशस्त मात्रामा गोला बारुदहरु थिए । नहान किल्लामाथि भयानक र भयङ्कर हमलाको तयारी मेजर मार्टिण्डेलको नेतृत्वमा गरिएको थियो ।
नहान किल्लामा गोरखाली फौजः
नहान किल्लामाथि मेजर जनरल मार्टिण्डेलको नेतृत्वमा अङ्ग्रेजहरुको आधुनिक तथा विशाल फौजले भीषण हमला गर्ने तयारी गर्दैछ भन्ने गुप्त सुचना काजी रणजोरसिंह थापाले आफ्नो गुप्तचरहरुबाट थाहा पाए । त्यस समयमा काजी रणजोरसिंह थापासंग जम्मा १००० देखि १५०० सम्म मात्र सैनिकहरु थिए । सोमध्ये केही गढवाली, कुमाउनी र सिरमौर राज्यका स्थानीय युवाहरु पनि गोरखाली फौजमा भर्ति भएका थिए ।
त्यस समयमा गोरखाली फौजसंग सिमित मात्रामा आधुनिक हातहतियार तथा साधन श्रोतहरु थिए । अडकल गरेर गोरखाली सैनिकहरुलाई सो हातहतियारहरु चलाउनु पर्दथियो । जम्मा दुईवटा सानो खालको तोप, केही नाल भरुवा बन्दुक, थोरै संख्यामा गोली, गोला बारुदहरु गोरखाली फौजले जम्मा पारेका थिए । उनिहरु प्रायः आफ्नो पारम्पारिक घरेलु हातहतियारहरु जस्तो, विश्व प्रसिद्ध खुकुरी, खुंडा, धनुवाण, गुलेली र ढुङ्गामुढा आदी चलाएर दुश्मनलाई कायल पार्दथिए । गोरखाली सैनिकका परिवार र बालबालिका पनि रणस्थलमा संगसंगै हुन्थ्ये । काँधमा काँध मिलाएर दुश्मनमाथि जाईलाग्द थिए ।
त्यस समयमा गोरखाली फौजको तुलनामा अङ्ग्रेज सरकारको फौज ठुलो, शक्तिशाली र साधन सम्पन्न थियो । त्यसका लागि काजी रणजोरसिंह थापाले आफ्नो पिताश्री बडाकाजी अमरसिंह थापासंग सरसल्लाह गरे । जसरी कप्तान बलभद्र कुंवरले नालापानीको बिकट, बिकराल, कठिन र दुर्गम पहाडी रणभूमिमा दुश्मनको फौजलाई निम्ताएर पटक पटक हराएको थियो । त्यस्तै युद्धनीतिको अनुशरण जैथकको युद्धमा गर्ने दुबै सेनानायकहरुको बीचमा समझदारी भयो ।
त्यस समयमा मैदानी, समतल र समथर भूमिमा लडाई गर्नका लागि अङ्ग्रेज फौज ज्यादै दक्ष र अनुभवी थिए । तर पहाडको बिकट र अफ्ठ्यारो युद्धस्थलमा गोरखाली फौजसंग युद्ध गर्न अङ्ग्रेज फौजलाई हम्मे हम्मे पर्दथियो । अलि गाह्रो हुन्थ्यो । कारण पर्वतीय, जंगल तथा आमने सामनेको युद्धकलामा गोरखाली फौज तुलनात्मक रुपमा ज्यादै शिपालु र निपुण थिए । दुर्गम पहाडी युद्धस्थलमा गोरखाली फौजलाई पराजित गर्न अङ्ग्रेज फौजलाई मुश्किल हुन्थ्यो भनेर केही लेखकहरुको भनाई रहेको छ । साथै ग¥हुगो भारीभरकम हातहतियारहरु जस्तो तोप, बन्दुक र अन्य आवश्यक मालसामानहरु पहाडको अप्ठेरो युद्ध भूमिमा ढुवानी गर्न पनि अङ्ग्रेज फौजलाई प्रायः मुश्किल हुन्थ्यो । त्यसै कारणले गर्दा समतल भूमिमा अवस्थित नहानको किल्लालाई खाली गरेर जैथक पहाडको टुप्पोमा गोरखागढी निर्माण गर्ने काजी रणेजोरसिंह थापाले निर्णय गरे । सोही ठाउँबाट जनरल मार्टिण्डेलको फौजको आक्रमणको प्रतिकार गर्नका लागि आवश्यक तयारी काजी रणजोरसिंह थापाले गर्न थाले ।
नहान किल्लामाथि हमला (सन् १८१४ डिसेम्वर २४ :
जनरल मार्टिण्डेलको कमाण्डमा ब्रिटिस सरकारको ५३ औं डिभिजन फौजले सन् १८१४ डिसेम्वर २६ मा सामरिक महत्वको नहान किल्लामाथि भयावह एवं भयंकर हमला गरे । सो किल्लालाई कुनै प्रतिरोध बिनै सजिलैसंग जित्न सफल भए । यस विजय अभियानबाट जनरल मार्टिण्डेल र उनका सेनानायकहरु ज्यादै खुशी, हर्षित र उत्साहित थिए । त्यस्तै अब जैथकको गोरखाली किल्लालाई पनि सजिलैसंग जितेर सोमाथि बेलायत सरकारको युनियन जैकको झण्डा फहराउन सकिन्छ भन्ने सोचाई जनरल मार्टिण्डेलको थियो । वास्तवमा नहान किल्ला माथि अङ्ग्रेज फौजले आक्रमण गर्नुभन्दा पहिल्यै काजी रणजोरसिंह थापाको आदेशमा सो किल्लाबाट गोरखाली फौज जैथकको गोरखाली किल्लामा सारिसकेका थिए । नहान किल्लामा केही कुरुवा गोरखा सैनिकहरु मात्र थिए । जसले किल्लाको रेखदेख गर्दै थिए ।
जैथक किल्ला :
नहान शहरबाट २२ किलोमिटरको दुरीमा उत्तरपुर्वतर्फ रहेको जैथक पहाडको टुप्पोमा अवस्थित छ । समुन्द्री सतह देखि अनुमानित ६६९३ फिटभन्दा पनि बढि उचाईमा रहेको यस किल्लाको निर्माण सन् १८१० मा गरिएको थियो । काजी रणजोरसिंह थापाको रेखदेख र निर्देशनमा हतार हतारमा किल्लाको निर्माण गोरखाली फौजको निर्माण शाखाले गरेको थियो । जैथकको गोरखाली किल्ला आजभोली भग्नावशेषको रुपमा रहेको बुझिन्छ । सो किल्ला स्थानीय काँचो माटो, ढुंगा, बाँस, काठको मुढा तथा नहान किल्लाको केही भागहरु भत्काएर ल्याईएको सामाग्रीहरुबाट बनाईएको थियो । यस्को लम्बाई ७० फिट र चौडाई ५० फिटको थियो । किल्लाको पर्खालमा ठाउँ ठाँंमा सानो झ्याल, प्वाल र बुर्जाहरु बनाईएको थियो । जसबाट नहान किल्लामा रहेका परिवारहरुमा हुने दुश्मनको सम्पूर्ण सैनिक गतिबिधि माथि नजर राख्न सकिन्थ्यो । किल्लाको चारैतर्फ अत्यन्त घना बनजंगल, अग्ला अग्ला रुख, बिषालु झारपातहरु थिए । हिंस्रक जंगली जनावरहरु घुमि रहन्थे । यस्तो विकट, विकराल र दुर्गम स्थलमा सितिमिती कसैले आवत जावत गर्ने हिम्मत र आँट गर्दैन थिए । भनिन्छ यस्तो स्थलमा कहिले काँहीं चरा चीलहरु उडिरहेको देख्न सकिन्थ्यो । कहिले काँहीं फुर्तिला, बलिया गोरखाली सैनिकहरु मादलको तालमा परेड र कवाज खेलिरहेको भेट्न सकिन्थ्यो । यस्तो अफ्ठ्यारो पहाडको टुप्पामा काजी रणजोरसिंह थापाले जनरल मार्टिण्डेलको फौजको आक्रमणको प्रतिकार गर्नका लागि मोर्चाबन्दी गरेका थिए ।

जैथक किल्लामाथि पहिलो हमला (सन् १८१४ डिसेम्वर २७)
जैथकको गोरखा किल्ला दुई वटा डाँडा र पहाडहरुको बीचमा रहेको जैथक पहाडको टुप्पामा निर्माण गरिएको थियो । अतः जनरल मार्टिण्डेलले जैथक किल्लाको दायाँ र बायाँ रहेको पहाड र डाँडाहरुमाथि कब्जा गर्ने । त्यस पछि उक्त दुवै डाँडा र पहाडहरुबाट किल्ला माथि तोपको गोला फ्याकेर त्यो किल्लालाई भत्काउने र त्यहाँ सम्म पुग्नका लागि बाटो पनि बनाउने । बाटो बने पछि दुवै पहाड र डाँडाहरुबाट पैदल सेनाले एकै पटक, एकै समय, एकै साथ र एकै शैलीमा सो किल्ला माथि भीषण हमला गर्ने र किल्ला जिते पछि त्यस माथि बेलायत सरकारको राष्ट्रिय झण्डा युनियन जैक फहराउने मेजर जनरल मार्टिण्डेलको युद्ध स्ट्रेटजी र युद्धनिति थियो ।
सोही युद्ध योजना अनुरुप सन् १८१४ डिसेम्वर २५ को मध्यरात्रिमा मेजर लुड्लो २०० जवानभन्दा पनि बढि सैनिकहरु लिएर जैथकको गोरखा किल्लाको बायाँ तर्फको पहाड र डाँडाहरु कब्जा गर्नका लागि नहानको सैनिक शिविरबाट प्रस्थान गरे । त्यस्तै मेजर विलियम रिचार्डस पनि ५०० भन्दा बढि सैनिकहरुका साथमा किल्लाको दायाँतर्फमा रहेको पहाड र डाँडाहरु कब्जा गर्नका लागि सैनिक शिविरबाट अधि बढ्न थाले । दुवै टोलीहरुलाई ६ पौण्डभन्दा बढिको २÷२ वटा ठुला ठुला तोप, २÷२ वटा हवितजरतोप, आधुनिक हातहतियार तथा प्रशस्त मात्रामा गोली, गोला बारुद आदि हात्ती, बैल र गोरुहरु माथि लादेर पठाइएको थियो ।
केही लेखकहरुका अनुसार मेजर लुड्लोको बाटो अलि छोटो थियो । उनी र उन्का टोली तोकिएको ठाउँमा छिट्टै पुग्न सफल भए । तर मेजर विलियम रिचार्डसको टोलीको बाटो अलि लामो थियो । रातीको घनघोर अंध्यारोमा स्थानीय पथप्रदर्शकले बाटो भुलेकाले केही समयसम्म मेजर विलियम रिचार्डस र उन्को टोली बाटोमा अल्लमल्ल परे र रोकिन गए । त्यसैसमयमा गोरखाली फौजको एउटा टोलीले अङ्ग्रेज फौजसंग रहेका ६० हजार गोली बारुद र अन्य हातहतियार हात पारे । जसोतसो उनी र उनको फौज किल्लाको दाँया तर्फको डाँडाको टुप्पोमा पुग्न सफल भए ।
वास्तवमा मेजर लुड्लो आफ्नो टोलीका साथ सजिलैसंग बायाँ पहाडको टुप्पोमा पुग्न सफल भएकोमा उनी ज्यादै खुशी र हर्षित थिए । जसरी मेजर लुड्लोले नहान किल्लालाई सजिलैसंग जित्न सफल भएका थिए त्यस्तै जैथकको गोरखा किल्ला पनि जित्न सकिन्छ भन्ने उनको सोचाई थियो । अतः मेजर विलियम रिचार्डस र उनका फौजलाई पर्खिएर बस्नु भनेको समय खेर फाल्नु हो । बरु किल्लामाथि हमला गरेर सोमाथि युनियन जैकको झण्डा फहराएर विजयको श्रेय एक्लै र आफै लिनु पर्ने उनको सोचार्ई थियो ।
गोरखाली फौजको प्रतिकारः
काजी रणजोरसिंह थापा र उनका बहादुर लडाका सैनिकहरु दुश्मनको फौजलाई पर्खिएर र कुरेर बसेका थिए । किल्लाको छेऊ र नजिक आउने बित्तिकै “जय महाकाली आयो गोरखाली” को उद्घोष गर्दै गोरखाली फौजले नाङ्गो खुकुरी नचाउदै तिनतर्फबाट मेजर लुड्लोको फौज माथि एक्कासी जाई लागे । गोरखाली सैनिकहरुको पर्वतीय युद्धकला तथा छापामार शैलीको खुकुरी प्रहार र मारबाट मेजर लुड्लोको फौजमा खलबली र आतंक मच्चिन थाल्यो ।
मेजर लुड्लोको फौज अनियन्त्रित हुन थाल्यो । युद्ध स्थलमा गोरखाली सैनिकहरुको प्रहारबाट दुश्मनका कतिपय सैनिकहरु मारिए, घाईते भए तथा कतिपय भाग्न थाले । कतिपय सैनिकहरु पहाडको ओरालोबाट झर्दा खोलानालामा बेपत्ता भए । उनिहरु जता पायो उता भाग्न थाल्यो । दुश्मनको फौजमा भागदौड मच्चिन थाल्यो ।
त्यसै समयमा मेजर लुड्लोले आफ्नो सैनिकहरुको मनोबल, साहस र हिम्मत बढाउनका लागि एक ठाउँमा जम्मा र एकत्र हुन आह्वान गर्न थाले । साथै गोरखाली फौजसंग मुकाबिला र लड्नका लागि आफ्नो सैनिकहरुलाई पटक पटक उर्दि र आदेश जारी गर्न थाले । गोरखाली फौजलाई हराउनका लागि आफ्नो सैनिकहरुलाई प्रोत्साहित पनि गर्न थाले । तर त्यस समयमा गोरखाली फौजको डर, त्रास र भय दुश्मन सैनिकहरुको मन मष्तिकमा परिसकेको थियो । उनिहरु ज्यादै भयभीत थिए । अतः आ—आफ्नो ज्यान जोगाउनका निम्ति भाग्न थाले । आफ्नो कमाण्डर मेजर लुड्लोको उर्दि र आदेशको पालना कुनै पनि सैनिकहरुले गरेनन् । यस्तो अन्योलको अवस्थामा मेजर लुड्लो पनि आफ्ना केही अंगरक्षकहरुका साथमा झण्डै २२ किलोमिटरसम्म एकनास दगुर्दै भाग्दै नहानको सैनिक छाउनीमा आईपुगेका थिए । अनि लामो लामो सास फेर्न थाले भनेर केही लेखकहरुले आफ्नो लेखहरुमा उल्लेख गरेको पाईन्छ ।
त्यसै समयमा मेजर विलियम रिचार्डस पनि आफ्नो टोली लिएर बल्ल तल्ल जैथकको गोरखाली किल्लाको दायाँपट्टिको पहाडको टुप्पामा आईपुगे । तर त्यहाँ किल्लाको बायाँतर्फको पहाड र डाँडामाथि मेजर लुड्लो र उन्को टोली नदेखेर आश्चर्यमा परे । उनि अक्कमक्क भए । तैपनि उनले थप हातहतियार, गोलाबारुद छिट्टै पठाईदिनका लागि जनरल मार्टिण्डेललाई सन्देस पठाए । फेरि गोरखाली फौजले हातहतियार बाटोमा हात पार्न सक्छन् भनेर उनले मेजर विलियम रिचाड्सलाई आफ्नो टोली लिएर नहानको सैनिक शिविरतर्फ फर्किने आदेश जारी गरे । बिना युद्धको सैनिक शिविरतर्फ फर्किनु प¥यो भनेर मेजर विलियम रिचार्डस ज्यादै निराश थिए ।
यसरी जैथकको गोरखा किल्लामाथि जनरल मार्टिण्डेलको फौजको पहिलो हमला पूर्ण रुपमा असफल र बिफल भयो । अङ्ग्रेज फौजको नराम्रोसंग पराजय भयो र झण्डै २१ जना अङ्ग्रेज सैनिकहरु रणस्थलमा मारिएका थिए । २०० सय भन्दा बढि युरोपियन र गैरयुरोपियन सैनिकहरु घाईते भएका थिए । तीन जना अङ्ग्रेज फौजका अफिसरहरु युद्धस्थलमा बीरगति प्राप्त गरे । सो युद्धमा गोरखाली फौजले अङ्ग्रेज फौजका हातहतियार र अन्य सामानहरु हात पारेका थिए ।
जैथक किल्लामाथि दोश्रो हमला (सन् १८१५ फेब्रुअरी २२) :

जैथकको शक्तिशाली अमेद्य गोरखाली दुर्ग माथि सिधा र सोझै हमला गरेर सो किल्लालाई जित्न वा विजय प्राप्त गर्न मुश्किल हुनेछ भन्ने सोचाई मेजर जनरल मार्टिण्डेलको थियो । साथै पहाडको विकट, दुर्गम र अप्ठ्यारो युद्धस्थलमा गोरखाली सैनिक संग आमनेसामनेको लडाईमा उनिहरुलाई हराउन र पराजित गर्न पनि अङ्ग्रेजी फौजलाई गाह्रो हुन सक्छ भन्ने उनको निष्कर्श थियो । त्यसै समयमा उनलाई गुप्तचरहरुले सो किल्लाको बस्तुस्थितिको बारेमा गुप्त सुचनाहरु अवगत गराए । सो अनुसार किल्लाभित्र खानेपानीको कुनै स्थायी श्रोतहरु छैन । टाढा टाढा रहेका जलाशयहरुबाट गोरखा महिलाहरुले डोकोमा गाग्री राखेर खानेपानी ओसार्दै किल्लाभित्र जम्मा पार्दथिए । थप हातहतियार, लत्ताकपडा र अन्य आवश्यक मालसामानहरुका लागि पनि बाहिरबाट ल्याउनु पर्ने हुन्छ । साथै अङ्ग्रेज सैनिकहरुको तुलनामा गोरखाली सैनिकहरुको संख्या ज्यादै कम छ । पर्याप्त हातहतियारहरु पनि देखिन्न । सो गुप्त सूचनाको आधारमा जनरल मार्टिण्डेलले आफ्नो युद्धनीतिमा परिवर्तन गरे ।
किल्लाको घेराबन्दी ( सन् १८१५ अप्रिल १) :
जैथकको गोरखा किल्लालाई केही समय सम्म नाकाबन्दी र घेराबन्दीमा राख्न सकियो भने त्यस किल्लाका रक्षक काजी रणजोरसिंह थापा र उनका सैनिकहरु आफैं किल्ला परित्याग गर्न वाध्य हुनेछन् र आफै आत्मसमर्पण गर्न आउनेछन् । यसरी बिना कुनै युद्ध र हत्या हिंसा जैथकको गोरखा किल्लामाथि विजय पाउन सकिन्छ भन्ने उनको युद्धनीति थियो । जनरल मार्टिण्डेलको युद्धनीति अनुसार जैथकको गोरखा किल्लालाई चारै तर्फबाट नाकाबन्दी र घेराबन्दी गर्नका लागि सो किल्लाको वरपरका डाँडा र पहाडलाई कब्जा गर्ने निर्णय गरे । केही डाँडाहरुसम्म पुग्नका लागि पहिले बाटोहरुको निर्माण कार्य शुरु गरियो । हात्ती र बैलमा लादेर हातहतियार र आवश्यक सामानहरु ठाउँठाउँमा पठाईयो ।
मेजर विलियम रिचार्ड्स आफ्नो सैनिक टोली लिएर फेरी पिकहिल डाँडा, मेजर लुड्लो आफ्नो टोलीका साथमा नौनी डाँडा तथा कर्णेल केली आफ्नो टोलीको नेतृत्व गर्दै काला पहाड र डाँडाहरुलाई कब्जा गर्नका लागि पूरा तयारीका साथ नहान सैनिक शिविरबाट प्रस्थान गरे । केहि अन्य टोलीहरु पनि जैथकको गोरखा किल्लालाई नाकाबन्दी र घेर्नका लागि अघि बढ्न थाले ।
बाटोमा अङ्ग्रेज र गोरखाली फौजको टोलीहरुको बीचमा सानातिना झडप र हानाहान पनि भयो । जस्मा अङ्ग्रेज अफिसर केली, केही सैनिकहरु घाईते भए र मारिए । तैपनि जनरल मार्टिण्डेलको फौजले जैथकको गोरखा किल्लालाई चारै तर्फबाट कडा घेराबन्दी, नाकाबन्दी र नियन्त्रणमा तीन चार महिनासम्म राखेका थिए । तर किल्लाको प्रमुख रक्षक काजी रणजोरसिंह थापा उनका सहयोगी गोरखाली सैनिकहरुले आत्मसमर्पण र झुक्नका लागि कुनै संकेत दिएनन् । केही स्थानीय युवक सैनिकहरु मौका पाउने बित्तिकै किल्लाबाट बाहिर निस्केर अङ्ग्रेज फौजसंग मिल्न गएका थिए भनेर भनिन्छ । यस्तो प्रतिकूल अवस्थामा पनि काजी रणजोरसिंह थापाले सैनिकहरुको मनोबल र ईच्छाशक्ति उच्चराख्न सफल भएका थिए ।
जनरल मार्टिण्डेलको नाकाबन्दी, घेराबन्दी तथा नियन्त्रणको कुनै प्रभाव र असर गोरखाली फौजमाथि नपरे पछि उनका सहायकहरुले पटक पटक किल्लामाथि सिधा हमला गर्न सुझाव र सल्लाह दिए । गोरखाली फौजसंगको आमने सामनेको लडाई गर्न पनि उनलाई उक्साए । तर जनरल मार्टिण्डेलले स्वीकार गरेनन् । बरु अझ किल्लालाई घेराबन्दी र नियन्त्रण कडा पार्दै गए । फलस्वरुप उनका सहयोगी र सहायक सैन्य अधिकारीहरुले उनलाई एउटा कमजोर सेनापति र जनरल भनेर भन्न थाले ।
जैथक किल्लाको हस्तान्तरण :
त्यसै समयमा काठमाण्डौंको राजदरबारले केही आन्तरिक एवं वाह्यकारणहरुले गर्दा सुदुरपश्चिम भेगका सेनापति र प्रशासक जनरल अमरसिंह थापालाई अङ्ग्रेजहरुसंग सन्धि सम्झौता गर्न आदेश जारी गरे । सन् १८१५ मई १५ मा जनरल अमरसिंह थापा र जनरल ओक्टरलोनीको बीचमा हिमाञ्चल प्रदेशको मलाउन शहरमा सन्धि सम्झौता सम्पन्न भयो ।
सो अनुसार काजी रणजोरसिंह थापाले जैथकको गोरखा किल्ला खाली गरेर जनरल मार्टिण्डेललाई सुम्पिनु प¥यो । उनी र उनका अंगरक्षक तथा केही गोरखाली सैनिकहरु ससम्मान काठमाण्डौं तर्फ फर्किए । सो सन्धिको दफा ५ मा कुनै पनि गोरखाली सैनिकहरु आफ्नो ईच्छा अनुसार अङ्ग्रेज सरकारको सेनामा भर्ति हुन सक्छ भन्ने शर्त पनि उल्लेख गरिएको थियो । सो युद्धमा गोरखालीको बीरता, शौर्यता तथा आँट र साहसबाट अङ्ग्रैज सेनानायकहरु ज्यादै प्रभावित थिए । अतः पटक पटक प्रलोभन र फकाएर अङ्ग्रेजहरुको फौजमा गोरखाली भूतपूर्व सैनिकहरुलाई भर्ति गर्न लगाए । साथै अङ्ग्रेज सेनानायकहरुको सम्मान र सम्झनामा नहान शहरको पोखरी नजिकै एउटा स्मारक खडा गरिएको छ जसमा यसरी लेखिएको छ “Lieutenant Thakery, 57 man killed and wounded by a strong and overpowering soloum of Gurkhas led by caze Ronjor Singh Thapa”.
यसै सन्दर्भमा दिल्लीका तत्कालिन रेजिडेण्ट मेटकाफले १५ जनवरीमा एउटा पत्र लेखेका थिए । सो पत्र अनुसार “हाम्रो सेनामा संख्या धेरै छ तर युद्ध कौशलतामा हाम्रो शत्रु हाम्रोभन्दा धेरै अगाडी छ । जिलेस्पी र मार्टिण्डेलको लागि जुन सेना मेरठ छावनीबाट पठाईएको थियो त्यसको एक तिहाई नालापानी खंलगा तथा जैथकको अभियानमा खतम भैसकेको छ ।” (१)
सिरमौर वटालिएन (The Sirmoor Batallion) सन् १८१५ देखि ईष्टईन्डिया कम्पनी सरकारले भारतमा गोरखालीहरुको पलटनहरु खडा गर्न थाले । सोमध्ये नहान शहरमा “सिरमौर बटालियन” खडा गरिएको थियो । नहान बटालियनको पनि गठन गरिएको थियो । सिरमौर बटालिएनमा गोरखाली फौजका भूतपूर्व सैनिक र केही सिरमौर राज्यका स्थानीय युवाहरु भर्ति गरिएका थिए । पछि गोरखाली युवाहरुको संख्या बढ्दै गयो । अनि सो पलटन गोरखाली पलटनमा परिवर्तन गरियो । जस्को नाम 2nd King Edward VII’s own Gurkha Rifles राखिएको थियो । पछि गएर “दोश्रो गोरखा राईफल्स” (2nd Gurkha Rifles) राखिएको थियो । पछि गएर “दोश्रो गोरखा राईफल्स” (2nd Gurkha Rifles) नामाकरण गरियो । यस पलटनको संस्थापक फ्रेडिक यांग थिए । ३२ वर्षसम्म यस पलटनलाई उनले कमाण्ड गरेका थिए ।
गोरखाली परिवारको बसोबासः
सिरमौर राज्यमा गोरखालीहरु आफै प्रवेश गरेको होईन । आफ्ना बिरोधीहरुलाई नियन्त्रण गर्नका लागि राजा कर्मप्रकाशले गोरखालीशक्तिलाई आफ्नो राज्यमा बोलाएका थिए । यसरी गोरखालीहरु सन् १८०३ मा त्यहाँ पसेर सन १८१५ सम्म सिरमौर राज्यका शासनसत्ता सम्हालेका थिए । गोरखालीहरुको शासनसत्ता समाप्त भयो तर सिरमौर राज्य र गोरखालीहरुको बिचमा सामाजिक, साँस्कृतिक र ब्पारिवारिक सम्बन्ध र सम्पर्क यथावत नै कायम रहिरहेको पाईन्छ ।
सिरमौर राज्यमा एउटा पुरानो गाँऊंको नाम “गोरखुवाला” रहेको छ । गोरखाली शब्दसंग मिल्दोजुल्दो भएकोले यो सिरमौर राज्यको पहिलो गोरखाली बस्ती हो भनेर भनिन्छ । जस्को स्थापना सन् १८०३ मा गरिएको थियो । गोरखाली फौजलाई अन्नबाली अनाज खाद्यान्न दिनका लागि केही गोरखाली परिवारले यसै गाँऊंमा खेतीपाती (कृषि उत्पादन) शुरु गरेका थिए ।
आजभोली यस प्राचिन गाँऊंको नाम “गोरखुवाला पंचायत” रहेको छ । सो नाम जिल्ला प्रशासन अन्तरगत रहेको ग्रामपंचायत नामावलीमा पनि दर्ता गरिएको छ । त्यस समयमा गोरखा फौजमा भर्ति भएका भूतपूर्व सैनिकहरुलाई पेन्सन नगद रकम दिनु भन्दा पनि ब्रिटिश सरुकारले जग्ग्गाजमिन दिने गरेको थियो । यसरी धेरै गोरखा परिवारहरु त्यहिं बसोबास गर्न थाले ।
“सिरमौर बटालिएन” मा कार्यरत रहेका गोरखाली सैनिकहरु अबकाश र पेन्सन पाए पछि आफ्नो परिवारसंगै आ—आफ्नो गाँऊंघर नेपाल तर्फ फर्किन थालेका थिए । त्यसै समयमा अङ्ग्रेज सैन्य
(१) शमशेर बहादुर थापा “हिमालयको फेदीमा काली नदीदेखि सतलज सम्म” सरस्वती अफसेट युनिट, देहरादुन, सन् १९९४, पृष्ठ ६३ ।
अधिकारीहरुले उनिहरुलाई प्रलोभन देखाए । त्यहि बसोबास गर्न पटक पटक अनुरोध र आह्वान गरेका थिए । यसै क्रममा केही भूतपूर्व गोरखा सैनिकहरु सिरमौर राज्यको मनमोहक पहाडी स्थल र सोही वरपरका गाउँघरमा घरजम गरेर बसोबास गर्न थाले । पछि उनिहरुको सन्तानलाई गोरखाली फौजको प्राविधिक शाखामा जागीर र सैनिक छावनीसंगै जग्गा जमिन पनि अङ्ग्रेज सरकारले मिलाई दिएका थिए । यसरी सन् १८०३ भन्दा पनि पहिलेदेखि त्यस भेगमा गोरखाली परिवारहरुको विधिवत बसोबास शुरु भएको भनेर भनिन्छ ।
केही समय पछि सिरमौर राज्यमा राजवंश र नेपालका राजघराना परिवारका सदस्यहरुको बीचमा वैवाहिक एवं पारिवारिक सम्बन्ध पनि कायम हुन थाल्यो । सिरमौर राज्य र सो को वरपरका बस्तीहरुमा स्थायी बसोबास गरेका भारतीय गोरखालीहरुले भारतको स्वतन्त्रता आन्दोलनमा सक्रिय रुपमा भाग लिएको पाईन्छ । कतिपयले सो आन्दोलनमा आफ्नो प्राणको आहुति पनि दिएका थिए । भारतीय सुरक्षा, रक्षा, राष्ट्र निर्माणका विविध क्षेत्र तथा स्थानीय निकायहरुमा उनिहरुको महत्वपूर्ण योगदान रहेको पाईन्छ ।
सिरमौर गोरखा एसोसिएसन नहान (सन् १९७०) :
त्यस भेगमा सदियौंदेखि बसोबास गर्दै आएका भारतीय गोरखालीहरुले आ—आपसमा मिलेर नहान शहरमा “सिरमौर गोरखा एसोसिएसन” को सन् १९७० मा स्थापना गरिएको पाईन्छ । सो संस्थाको आफ्नै गोरखा भवन पनि छ । सो संस्थाको लक्ष्य स्थानीय भारतीय गोरखाली समुदायको सामाजिक र सांस्कृतिक पहिचानलाई कायम राख्नु हो । स्थानीय गोरखालीहरुको सामाजिक परम्परा, रितिथिति, चाँडवाड, भाषा, नाचगान, पहिरन आदिको यथासक्य सरंक्षण एवं सम्बर्धन गर्नु हो । साथै स्थानीय भारतीय गोरखाली समुदायको शैक्षिक, आर्थिक, धार्मिक एवं समाज सेवाका कार्यक्रमहरु सञ्चालन गर्नु गराउनु हो ।
शिक्षामा प्रोत्साहन गर्नका लागि बालबालिकालाई छात्रबृत्ति पुरस्कार र युवाहरुमा गोरखाली भाषाको प्रचार गरेर जातीय पहिचानलाई अगाडी बढाउने प्रयास पनि यसले गरेको पाईन्छ । यस संस्थाले निर्माण गरेका योजनाबाट गोरखाली र अन्य समुदाय पनि लाभान्वित भएका छन् । यस संस्थाको पहिलो संस्थापक अध्यक्ष मानसिंह थापा (सन् १९७१) र स्वर्ण जयन्ती समारोहको समयमा राजेन्द्र थापा (सन् २०२१) अध्यक्ष हुनुहुन्थ्यो ।
सारांशः नालापानी खलंगाको युद्धमा जनरल जेलस्पीको उत्ताउलोपन, जैथकको युद्धमा मेजर लुड्लोको आफै श्रेय लिने चाहना तथा जनरल मार्टिण्डेलको हिम्मत र आँट गर्न नसक्ने कारणहरुले गर्दा अङ्ग्रेज फौजलाई ठाउँठाउँमा सानो र सिमित हातहतियार युक्त गोरखाली फौजबाट पराजित हुनु प¥यो । सो कुरा केही बुढापाकाहरुको भनाई पाईन्छ ।
Open Pdf file 👇
( लेखक: नेपाल सरकारकाे पूर्व अधिकृत , सामाजिक अभियंता र ईतिहासिक लेखनमा रुचि राख्नु हुन्छन )
