राज्यसत्ता
मायाको पहिचान नेपालको समन्वयमा फ्रेण्ड्स फर इभरले गरेको संवादमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायले राजनीतिक विभेददेखि सफलताको कथासम्म आफ्ना अनुभव प्रस्तुत गरेका छन्।

नेपाली कांग्रेसको नीति प्रतिष्ठान विभागको लैङ्गिक तथा यौनिक अल्पसंख्यक उपसमितिकी संयोजक तथा दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँले सुनिल बाबु पन्तको मार्गदर्शन तथा मायाको पहिचान नेपालको पहलबाट आफू कांग्रेस पार्टीको महत्त्वपूर्ण भूमिकामा पुग्न सफल भएको बताइन्। पार्टी सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसलाई थप जुझारु बनाएको उनको भनाइ थियो।
उनले आफू कांग्रेस पार्टीमा सक्रिय रहेको र जिएसएम समुदायलाई स्वागत गर्ने पार्टीका रूपमा कांग्रेस विकसित भएको बताउँदै पुराना तथा नयाँ सांसदहरूबाट मार्गदर्शकको भूमिकामा सहयोगको अपेक्षा राखिन्।
पहिलो मिस्टर गे हेन्डसम तथा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका विश्वराज अधिकारीले विगत १०–१५ वर्षदेखि राजनीतिमा सक्रिय रहे पनि उम्मेदवारको टिकट नपाएको बताए। लामो समय योगदान गरेको पार्टीबाट टिकट नपाएपछि समावेशी समाजवादी पार्टी गठन गरेर चुनाव लड्नुपरेको स्मरण गराउँदै उनले दलहरूले विश्वास गरेर जिम्मेवारी दिनुपर्ने बताए।
अधिकारीले लामो समय नेकपा एमालेको विद्यार्थी सङ्गठनमा काम गरेको सुनाए। उनले भने, “चुनावमा टिकट नपाइँदो रहेछ, उम्मेदवार बन्न हाम्रो छुट्टै पार्टी गठन गर्नुपर्यो।”
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ‘अन्य’ पहिचानबाट उम्मेदवार बनेकी पिंकी राईले स्थानीय तहदेखि केन्द्रसम्म राजनीतिक सहभागिता र अवसरका लागि पहल गरिरहेको बताइन्। राजनीतिमा पहिलो पटक प्रवेश गरेको उल्लेख गर्दै उनले मार्गदर्शन आवश्यक रहेको बताइन्। साथै, राजनीतिमा अघि बढ्न सांसदहरूले सहयोग र प्रोत्साहन गरिदिन आग्रह गरिन्।
पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले आउँदो स्थानीय तह निर्वाचनलाई लक्षित गरी ५० जना राजनीतिक अभियन्ता प्रशिक्षणमा रहेको बताए। उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरूलाई राजनीतिक प्रशिक्षक बनेर सहयोग गर्न सांसदहरूलाई आग्रह गरे।
“यो पार्टी, उ पार्टी भन्ने कुरा छैन। उहाँहरूमध्ये कतिपयले दलहरूको सदस्यता पनि लिइसक्नुभएको छ, कतिपय लिने तयारीमा हुनुहुन्छ,” पन्तले भने, “पार्टीमा बोलाउनुहोस्, सदस्यता दिनुहोस्, आउने स्थानीय तहको चुनावमा उम्मेदवार बनाउनुहोस्। महिनाको एक पटक भए पनि उहाँहरूसँग राजनीतिका हर्डल्स पार गर्ने उपाय सुझाइदिनुहोस्।”
