पूर्ण बहादुर राना

अहिले सांसद आर्यन राई र एकजना विक्रम छेत्री बीच विवाद चर्केकाे छ । टकराव सिर्जेको छ । यो अत्यन्त निन्दनीय छ । भर्त्सना याेग्य छ । नाम सुन्दा भने आफू मंगाेल अनुहारकाे नाम भने आर्यन राई छ । उता विक्रमकाे नाम सुन्दा शाैर्य र साहासलाई जनाउँछ अर्थात सकरात्मक शक्ति दिनु पर्ने नकारात्मक उर्जा दिएकाे छ । र यिनीहरूले समाज भड्काउने ट्रेलर दिंदै छन् ।
यदि आर्यन राईहरूले गाई काट्न मनलाग्यो भने काटेर खाउ कि भुटेर खाउ वा तारेर वा पाेलेर खाउ वा बफाएर खाउ वा काँचै खाउ तर खाउ । हामी यसाे गर्छाैं भनेर शङ्खघाेष गर्नुपर्ने आवश्यक छैन ।
विक्रम छेत्रीहरूले पाल्न मनलाग्छ भने छाडा चाैपाया वा गाईलाई (Stray animals, unattended ) घरमा लगेर पाल । गाेठ बनाएर पाल । ठूलो महल बनाएर पाल । पराल दिएर पाल । घाँसकुँडाे खुवाएर पाल । दाना खुवाएर पाल । जेहाेस जसरी भएपनि पाल । अबका दिनमा छाडा गाईगाेरूहरू घाँस खान नपाएर बाटोबाटाे भाैंतारिएर हिंड्न भएन । गाईगाेरूलाई कुशनमा सुताउने कि, चिल्लो ठाउँमा सुताउने कि, सोफामा सुताउने कि केमा सुताएर पाल्ने हाे विक्रम पाल ।
तर तिमी आर्यन राई र विक्रम क्षेत्रिहरूले एकआपसमा धम्किकाे भाषा नबाेल समाजमा गृहयुद्ध निम्त्याउन नखाेज मूलाहरू । तीमीहरूकाे धम्कीले मिलेर बस्न चाहाने नेपाली जनतकाे खुट्टाको एउटा राैं पनि हल्लिदैन । जसले जे भनेनि नेपाली जनता स्युसाईड बम राखेर गृहयुद्ध गर्न चाँहादैनन् । मिलेरै बस्न चाहान्छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देशकाे सम्पदा हाे । देशकाे गहना हाे । देशकाे अमूल्य निधि हाे । यस्तो अमूल्य गहनालाई सबैले सम्मान गर्नुपर्छ । सबैले आफ्नो अस्तित्वको रक्षा गर्दै अरूकाे अस्तित्वको सम्मान गर्नुपर्छ ।
तर जब एक जातिले अर्काे जातिकाे अस्तित्व स्विकार्दैन, जब एउटा धर्मले अर्काे धर्मकाे अपमान गर्छ तब समाज र देशमा भाँडभैलाे हुन्छ । अराजकता बढ्छ । द्वन्द्व हुन्छ । युद्ध हुन्छ । गृह युद्ध हुन्छ ।
त्यसैले हाम्रो जस्ताे देश जहाँ बहुजातीय, बहुधार्मिक, बहुभाषिक बहुसाँस्कृतिक चरित्र बाेकेकाे छ त्यस्ताे देशमा कुनै जाति, धर्म र भाषाले अर्काे जाति माथि विभेद, दमन, अपमान अत्याचार गर्याे भने मुलुकमा धार्मिक समुदाय नष्ट(Religious genocide) हुन्छ । भाषा नष्ट (Linguicide) हुन्छ । संस्कृति, परम्परा र पहिचान नष्ट(Cultural genocide / Ethnocide) हुन्छ जातिहत्या(Genocide) हुन्छ ।

कुनै एक जाति विशेषको मात्र धर्म संस्कारको गुणगान गाउनु र पक्ष लिनु र अरू धर्मलाई धर्मै नसम्झनु, आफ्नो धर्म ठूलो अरूकाे धर्म सानाे र तुच्छ सम्झनु, अरू जातिलाई जातिनै नसम्झनु, मूल्यहिन सम्झनुनै प्रकरान्तरले नेपाल जस्तो बहुजातीय चरित्र बाेकेकाे मुलुकमा जातीय, धार्मिक र भाषिक द्वन्द्व निम्त्याउनु हाे ।
मानिसले आफुले बुझेकाे सत्यलाई अन्तिम सत्य मान्छ । याे नै मुर्खपन हाे । कसैको लागि ठिक लागेकाे बिचार, धर्म र सँस्कार अर्काेलाई बेठिक लाग्न सक्छ । त्यसैले सचेत हुनुपर्छ । कुनै एक जातिले आफ्नो जातिको भित्री इच्छाहरू मात्रै पुरा गर्न खाेज्नु त्यो पनि एकाङ्की र एकोरोपनले, त्यो पनि नस्लीय र अति नश्लियवादि चिन्तनले गर्दानै देशमा गृहयुद्ध निमत्याउँछ । ,
जातीय युद्ध, जेनोसाइड जस्ता हिंसाहरू निम्त्याउन सक्छ, त्यसैले यसको उत्तम उपाय भनेको सबै नेपाली संयमित बर्नुपर्छ। एउटाले अर्काे बिचारलाई सम्मान गर्नुपर्छ ।
#गृहयुद्ध किन हुन्छ?
जब कुनै समाजमा असमानता, विभेद, अन्याय, अत्याचार, शाेषद दमन, उत्पिडन, राजनीतिक बहिष्करण, कमजोर शासन र संवादको असफलता लामो समयसम्म रहन्छ, र ती समस्याहरू शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट समाधान हुन सक्दैनन् तब देशमा गृहयुद्ध हुन्छ । गृहयुद्ध निम्न विषयमा भएको अन्यायकाे कारणले हुन्छ ।
(१) राजनीतिक विभेद र बहिष्करण – कुनै समुदाय(जाति) वा समूहलाई राज्यसत्ताबाट निरन्तर बाहिर राखिनु, प्रतिनिधित्व नपाउनु।
(२) जातीय वा नस्लीय द्वन्द्व – जाति, वंश वा पहिचानका आधारमा विभेद, दमन, उत्पिडन र असमान व्यवहार गरिनु ।
(३) धार्मिक द्वन्द्व – फरक धर्मका समुदायबीच असहिष्णुता, धार्मिक उत्पीडन र विभेद गरिनु, अरू धर्म भन्दा आफ्नो धर्म महान सम्झिनु वा धार्मिक वर्चस्वको प्रयास गरिनु ।
(४) भाषिक र सांस्कृतिक विभेद – कुनै भाषा वा संस्कृतिलाई दबाउने, मुलुककाे सरकारि कामकाजि भाषा, पठनपाठन र दैनिक व्यावहारिक भाषामा एउटा भाषालाई मान्यता दिनु र अरू भाषालाई उपेक्षा गरिनु, आफ्नो भाषा बाहेक फरक भाषाहरूलाई निषेध गर्ने वा राज्यले एउटा मात्र भाषा/संस्कृतिलाई प्राथमिकता दिने।
(४) आर्थिक असमानता – गरिबी, बेरोजगारी, स्रोत–साधनको असमान वितरण, क्षेत्रीय विकासमा ठूलो अन्तर पारिनु । बजेट विनियोजन आवश्यकताकाे आधारमा नभई नेता पहुँचकाे आधारमा गरिनु ।
(५) भ्रष्टाचार र कमजोर शासन – न्याय नपाइनु, राज्य संस्थाप्रति जनविश्वास घट्नु, कानुनको निष्पक्ष कार्यान्वयन नहुनु र कानुनकाे शासन (Rule of Law) नहुनु ।
(६) मानवअधिकार उल्लङ्घन – राज्य वा अन्य शक्तिबाट निरन्तर दमन, गिरफ्तारी पछि बेपत्ता, यातना, बलात्कार पछि हत्या वा अन्याय हुनु ।
(७) निर्वाचन वा सत्ता विवाद – चुनावमा व्यापक धाँधली हुनु, चुनावी परिणाम अस्वीकार हुनु, सत्ता हस्तान्तरणमा विवाद, लोकतान्त्रिक प्रक्रियाको विफलता।
(८) चरम वैचारिक मतभेद – जस्तै लोकतन्त्र, गणतन्त्र, राजतन्त्र, साम्यवाद, धार्मिक शासन आदि विषयमा गहिरो मतभेद र संघर्ष हुनु ।
(९) बाह्य हस्तक्षेप – विदेशी राष्ट्र वा समूहले कुनै पक्षलाई आर्थिक, सैनिक वा राजनीतिक सहयोग गर्नु। देशकाे सिमा अतिक्रमण गर्नु ।
(१०) प्राकृतिक स्रोतको नियन्त्रण – तेल, खानी, वन, पानी, जडिबुटी, वा अन्य बहुमूल्य स्रोतको स्वामित्व र उपयोगलाई लिएर विवाद हुनु ।
(११) ऐतिहासिक अन्याय र दीर्घकालीन असन्तोष – सताब्दियाैं र दशकौँदेखि समाधान नभएका विभेद, उत्पीडन वा शाेषण अन्याय अत्याचार अन्त्य र अधिकारसम्बन्धी मागहरू।
त्यसैले राज्यसत्तामा समानुपातिक र समावेशी शासन, विधिको शासन, समान अवसर, मानवअधिकारको संरक्षण र कार्यान्वयन गरिनुपर्छ । मेलमिलाप र निरन्तर संवाद गरि गृहयुद्ध हुन नदिने प्रमुख उपाय अपनाउनु पर्छ ।
