एम. एस. थापा र गोरेबहादुर खपाङ्गी नेपाली सामाजिक–राजनीतिक चेतनाका एकै रथका दुई पाङ्ग्रा हुन्

पूर्ण राना
एम. एस. थापा र गोरेबहादुर खपाङ्गी नेपाली सामाजिक–राजनीतिक चेतनाका एकै सिक्काका दुई पाटा तथा एकै रथका दुई पाङ्ग्रा हुन्। दुवैले समान उद्देश्य बोके तापनि अभिव्यक्तिको माध्यम भने फरक थियो। थापा गम्भीर अध्येता, चिन्तक तथा उत्कृष्ट लेखक(the best writer or outstanding writer) थिए भने खपाङ्गी गम्भीर अध्येता, चिन्तक तथा प्रखर वक्ता(the best orator or outstanding orator) थिए।

नेपालको राज्यसत्ताबाट लामो समयसम्म वञ्चित सीमान्तकृत, किनाराकृत तथा समाजको फेंद र पिँधमा पारिएका आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र महिलाको जातीय समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी समतामूलक राज्य निर्माण गर्ने वैचारिक अभियानमा यी दुवै व्यक्तित्वले आ–आफ्नो विशिष्ट भूमिका निर्वाह गरे।

एउटा युगीन आवश्यकताले एम. एस. थापालाई लेख्न बाध्य बनायो भने गोरेबहादुर खपाङ्गीलाई बोल्न बाध्य बनायो। थापाले आफ्नो लेखन कलामार्फत सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको वैचारिक आधार निर्माण गरे भने खपाङ्गीले आफ्नो ओजस्वी वाक शैली र जनवाेलि मार्फत ती विचारलाई जनजनसम्म पुर्‍याई सामाजिक चेतनाको विस्तार गरे।

यस अर्थमा थापाको लेखनी र खपाङ्गीको वाणी एउटै आन्दोलनका परिपूरक शक्ति थिए। एकले विचारको निर्माण गरे, अर्काले त्यस विचारलाई जनआन्दोलनको चेतनामा रूपान्तरण गरे। त्यसैले, नेपालको समावेशी, समानुपातिक लोकतन्त्र र समतामूलक समाज निर्माणको वैचारिक यात्रामा एम. एस. थापा र गोरेबहादुर खपाङ्गीको योगदान परस्पर पूरक, अविस्मरणीय र ऐतिहासिक महत्त्वको मानिन्छ ।

यतिबेला नेपालमा वास्तविक लाेकतन्त्र र समतामूलक समाज चाहाने खसआर्यलाई जातीय समानुपातिक प्रतिनिधित्वको बारेमा साेंच्न थापा र खपांगिले ठूलो याेगदान गरे ।

एम. एस. थापा र गाेरे बहादुर खपांगी मध्ये कुनै एकजनाकाे मात्रै समर्थनमा बाेल्नु, हिंड्नु जातीय मुक्तिकाे सवालमा अधुराे र अपुराे तथा एकांकी हुनेछ ।