गोरखामा राजविद्या शक्तिपीठ बन्दै : नमुना गुरुकुल र अन्तराष्ट्रिय योग केन्द्र पनि बनाईने

Read Time:9 Minute, 30 Second

अश्विन धानी

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा अब पुनः एकपटक राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढ्दैछ। गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षको सुरुवातसँगै एक महत्वाकांक्षी “धर्म नीति आधारित महाअभियान” सुरु गर्ने घोषणा गरेको छ।

केन्द्रका अनुसार, यो अभियान केवल धार्मिक अभ्यासमा सीमित रहने छैन, बरु राष्ट्र निर्माणका लागि आवश्यक नैतिकता, अनुशासन र चेतनालाई पुनर्स्थापित गर्ने रणनीतिक प्रयास हुनेछ। अभियानको मूल लक्ष्य धर्मलाई कर्मकाण्डबाट मुक्त गर्दै जीवन, समाज र राज्य सञ्चालनको आधार बनाउनु हो।

यसका निम्ती केन्द्रले यसअघि नै देशका विभिन्न भूभागमा शक्तिपीठ स्थापना गर्दै आध्यात्मिक ऊर्जा सन्तुलनको आधार निर्माण गरिसकेको छ।  हालसम्म कुशेश्वरमा सौर्यमण्डलीय शक्तिपीठ, पालुङमा वायुमण्डलीय शक्तिपीठ, विजयपुरमा घर्तीमण्डलीय शक्तिपीठ, भकुण्डेबेशीमा ॐकारेश्वर शक्तिपीठ, राम्चेवेशीमा आदिश्वरनाथ शक्तिपीठ स्थापना सम्पन्न भईसकेको केन्द्रका संरक्षक अनन्त प्रसादले जानकारी दिए ।

गोरखामा  पनि राजविद्या शक्तिपीठ स्थापना हुँदैछ ।
सबै उर्जा एकीकृत गर्दै गोरखाको राजशक्ति पीठलाई केन्द्रबिन्दु बनाउने रणनीति केन्द्रको छ, जसले देशभर दैविक ऊर्जा सन्तुलन र आध्यात्मिक जागरण विस्तार गर्ने अपेक्षा गरिएको छ।

गोरखा नगरपालिका-९ स्थित शिखरडाँडामा निर्माणाधीन पीठको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ र अबको केही महिनाभित्र पूर्णता दिने लक्ष्य राखिएको छ। यो पीठलाई केवल धार्मिक संरचना होइन, दैविक ऊर्जा, नैतिकता र राष्ट्रशक्ति बीच सन्तुलन कायम गर्ने केन्द्र का रूपमा विकास गरिने उनले बताए ।

शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरण ले धर्म-नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन “दैविक ऊर्जा” को अनिवार्यता औंल्याउँदै “राजविद्या शक्तिपीठ” स्थापना भईरहेको  बताए । उनका अनुसार जबसम्म आध्यात्मिक ऊर्जा र राज्य शक्ति बीच समन्वय हुँदैन, तबसम्म विश्वभर स्थायी शान्ति र समृद्धि सम्भव हुँदैन ।

`धर्म-नीतिलाई प्रभावकारी र सन्तुलित बनाउन दैविक ऊर्जा अनिवार्य हुन्छ । दैविक उर्जाकै बलको प्रयोगले नेपाल एकिकरण भयो । अंङ्ग्रेजहरुलाई परास्त गर्दै देवभुमी नेपाल कसैको अधिनमा बस्नु परेन´, गोरखाको शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरणले भने, `आज पनि पुनः नेपालले आफ्नो राष्ट्रको सनातन धर्मको मर्म र त्यो गौरवशाली ईतिहास जोगाउने समय नजिक आउँदैछ । यसका निम्ती हाम्रो केन्द्रले निरन्तर काम गरिरहनेछ ।´

अहिले केन्द्रको उदेश्य सुन्दा अनौठो र अप्रत्याशित लागेपनि निकट भविष्यमा यसको प्रभाव पुष्टि हुने पीठाधीश अच्युतकृष्ण शरण बताउँछन् ।

गोरखामा पीठको निर्माण सम्पन्न भएपछि यहाँ सतगुरु गोरक्षनाथ बाबा, माँ गोरखकाली लगायत विभिन्न             देवी-देवताहरूको मूर्ति स्थापना गरिनेछ । जसले यस स्थानलाई शक्तिशाली साधना, श्रद्धा र आध्यात्मिक अनुभूतिको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

नमुना गुरुकुल निर्माण : कर्मकाण्डभन्दा माथि धर्म नीति

राजशक्ति पीठ निर्माण सम्पन्न भए लगत्तै “नमुना गुरुकुल” निर्माणको काम सुरु गर्ने केन्द्रले जनाएको छ । गुरुकुल परम्परागत कर्मकाण्डमा सीमित नरही धर्मलाई जीवन नीति, चेतना र चरित्र निर्माणको आधार का रूपमा स्थापित गर्ने आधुनिक आध्यात्मिक शिक्षाकेन्द्र बनाउने केन्द्रको रणनीति    छ ।

यहाँ विद्यार्थीहरूले वेद, उपनिषद्, योग, ध्यानसँगै नेतृत्व विकास, नैतिक शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व र राष्ट्रचेतनामा आधारित समग्र शिक्षा प्राप्त गर्नेछन् ।
यसको मुख्य लक्ष्य चरित्रवान्, जिम्मेवार र राष्ट्रप्रेमी नागरिक र नेतृत्व उत्पादन गर्नु हो । सुरुमा गोरखाबाट सुरु गर्ने नमुना गुरुकल क्रमश सम्पुर्ण प्रदेश हुँदै नेपालभरका जिल्लामा पुर्याउने केन्द्रको दिर्घकालिन लक्ष्य रहेको उनले बताए ।

गोरखालाई विश्व आध्यात्मिक योग केन्द्र बनाउने योजना

केन्द्रले गोरखालाई पुनः विश्वकै आध्यात्मिक योग केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना पनि बनाएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने गोरखभूमिलाई अन्तर्राष्ट्रिय स्तरको साधना, अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित केन्द्रले काम गरिरहेको छ ।

अभियानअन्तर्गत गोरखामा योग, ध्यान, दर्शन, संस्कृत तथा वेद अध्ययनका लागि अत्याधुनिक तथा परम्परागत ज्ञानलाई समेट्ने गरि गुरुयोजना बनाईएको केन्द्रका संरक्षक अनन्त प्रसादले बताए ।  यसमार्फत विश्वका विभिन्न देशबाट साधक, चिन्तक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

`नेपाल गोरखभूमि भएको र यही भूमिबाट महान योगी गुरु गोरखनाथ ले योग साधनाको मार्ग विश्वसामु प्रस्तुत गर्नुभएको ऐतिहासिक आधारले पनि गोरखालाई विश्व आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ´,  उनले भने ।

यो योजना सफल भएमा धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय वृद्धि हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने तथा हराउँदै गएको संस्कृत भाषा, गुरुकुल शिक्षा प्रणाली र वैदिक परम्पराको पुनर्जीवन हुने अपेक्षा गरिएको छ।

`यो पहल केवल भौतिक संरचना निर्माणमा सीमित नभई चेतना, संस्कार र मूल्यमा आधारित समाज निर्माणतर्फ उन्मुख हुनेछ। गोरखाबाट सुरु हुने यो अभियानले नेपाललाई आफ्नो मौलिक पहिचान र मार्गतर्फ पुनः उन्मुख गराउने तथा विश्वसमक्ष शान्ति, योग र आत्मज्ञानको सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य छ´, उनले   भने ।

अभियानका संरक्षक गुरु अनन्त प्रसाद ले यो पहल कुनै एक संस्था वा समूहको मात्र नभई नेपाल सरकार र सम्पुर्ण राष्ट्रप्रेमी नागरिकहरूको साझा दायित्व भएको स्पष्ट पारेका छन् ।

“यो अभियान नेपाल आमाप्रति प्रेम गर्ने, स्थायी शान्ति, समृद्धि र सन्तुलित विकास चाहने सम्पूर्ण नागरिकहरूको साझा लक्ष्य बन्नुपर्छ´, उनले भने ।

यस महाअभियानमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाहरूले ९८६३३९२०१७ मा सम्पर्क गर्न सक्ने जानकारी पनि केन्द्रले दिएको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *