निर्वाचन आयोग -प्रेस विज्ञप्ति

मितिः २०८१ साउन २२ गते
नेपाल संवत् ११४४, गुँलाथ्व २ मंगलवार
प्रेस विज्ञप्ति
आज मिति २०८१ साउन २२ गते नेपाल सरकारका माननीय गृह मन्त्री रमेश लेखकसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित विषयहरूमा महत्वपूर्ण छलफल गरेको छ । उक्त कार्यक्रममा माननीय गृह मन्त्रीज्यू समक्ष निर्वाचन आयोग, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा छलफल भयो ।
उक्त कार्यक्रममा आयोगको समसामयिक विषयमा प्रस्तुति कार्यपश्चात् माननीय गृहमन्त्रीज्यूले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको र आयोगले पारदर्शी, स्वच्छ, स्वन्त्रत, निष्पक्ष र विश्वसनीय निर्वाचन संचालन र व्यवस्थापनमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नु भयो । यसका साथै निर्वाचन आयोगको भवन लगायतका पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

आयोगको तर्फबाट प्रस्तुतीकरण गर्दै माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवम् स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्दै निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पार्नु भयो ।
उक्त छलफल कार्यक्रममा निर्वाचन आयोगका माननीय आयुक्तज्यूहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
रघुराम बिष्ट
सहसचिव एवम् प्रवक्ता