माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले “राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०”को अवसरमा शुभकामना दिनुभएको सन्देश

‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस अवसरमा नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली साथै‚ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई मार्गदर्शन गनुहुने अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।

नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशेष महत्व रहेको छ । वि.सं. २००७ सालमा जहानिया शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको थियो । हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्नेमा सबैले जोडबल गर्नुपर्छ ।

अन्तमा, नेपालको संविधानप्रति प्रतिवद्ध रहँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा साकार बनाउन हामी सबैमा प्रेरणा मिल्ने विश्वास सहित प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु ।

मितिः २०८० फागुन ७

परशुराम खापुङ
  प्रदेश प्रमुख